मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोभन्दा पहिले उनका छोराले उपाधि चुमाए अल नासरलाई

सोमबार, २१ फागुन २०८०, १६ : १३
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेर महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब युभेन्ट्सलाई घरेलु लिगको उपाधि समेत चुमाइसकेका छन् ।

यसका अतिरिक्त उनले युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि पनि पाँचपटक चुमिसकेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि पनि चुमाइसकेका छन् ।

GettyImages-1245964100

हाल उनी साउदी अरेबियाको ब्यवसायिक लिग खेल्छन् । उनी सन् २०२३ मा साउदी क्लब अल नासरमा आबद्ध भएका हुन् । तर, रोनाल्डोले हालसम्म अल नासरलाई घरेलु लिगको उपाधि भने चुमाउन सकेका छैनन् । तर, उनका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले भने आफ्ना पिताभन्दा पहिले नै साउदी अरेबियाको ब्यवसायिक लिगमा उमेर समूहको उपाधि जितिसकेका छन् । रोनाल्डोका छोराले अल नासरको जुनियर टोलीलाई यू–१३ लिगको उपाधि जिताएका हुन् ।

रोनाल्डो जुनियर सम्मिलित अल नासरको टोलीले आइतबार राति यू–१३ लिगको उपाधि जितेको हो । रोनाल्डो जुनियर अल नासरको यू–१३ टोलीका कप्तान पनि हुन् । उपाधि जितपछि रोनाल्डो जुनियरले टोलीका अन्य खेलाडीसँग ट्रफीसहित तस्बिर खिचाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप