सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी सङ्कट

झापामा जनसङ्ख्याभन्दा सहकारीका सदस्य ५३ हजार बढी !

मङ्गलबार, २२ फागुन २०८०, ०९ : ११
मङ्गलबार, २२ फागुन २०८०

विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय र झापा जिल्लाको सहकारीकर्मीहरू बिच फागुन १७ गते एउटा छलफल कार्यक्रम आयोजना भयो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको पहलमा जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित कार्यक्रमकै क्रममा नाराबाजी भयो ।

सहकारीकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनुको साटो प्रमुख जिल्ला अधिकारी बाँस्तोला कार्यक्रम छोडेर हिँडे । त्यसपछि झनै कार्यक्रम बिथोलियो । २ घण्टापछि पुनः कार्यक्रम सुरु भयो र केही निष्कर्ष निकालिए । तर, यो नै सहकारीको समस्या समाधानका लागि पर्याप्त थिएन ।

झापाका सहकारीहरूमा देखिएको समस्या तत्काल समाधान नगरिए ठुलै समस्या सिर्जना हुनसक्ने देखिन्छ । किनकि झापा जिल्लामा सहकारीका सदस्यहरूको सङ्ख्या त्यहाँको जनसङ्ख्याभन्दा बढी छ ।

यस्तै प्रदेशका सबै सहकारीको सम्पत्ति र दायित्वमध्ये झापाले मात्रै एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ ।

5

जनगणना २०७८ को तथ्याङ्क अनुसार झापाको जनसङ्ख्या जम्मा ९ लाख ९४ हजार ९० छ भने जिल्लामा सहकारीको सदस्य सङ्ख्या उक्त जनसङ्ख्याभन्दा ५३ हजार ५८० बढी अर्थात् १० लाख ४७ हजार ६७० छ । यस्तो हुनुमा सेवा केन्द्र बाहिरी जिल्लामा हुनु प्रमुख कारण रहेको कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले जनाएको छ ।

यस्तै सहकारीमा दोहोरो–तेहरो सदस्यताको होड चलेको छ । एक अर्कोबिच सदस्यता बढाउने अस्वस्थ प्रतिस्पर्धाको अभ्यास झापामा विकराल देखिँदै गएको र बिना सुझबुझ सेवा केन्द्रहरू खोलिएको विज्ञहरू बताउँछन् ।

झापाका कतिपय सहकारीको सेवा केन्द्र मोरङ र इलाममा पनि छन् । झापामा मात्रै प्रदेश मातहतका बचत तथा ऋण सहकारी संस्था १५१, बहुउद्देश्यीय ९१, दुग्ध १०, संघ ५, विशिष्टीकृत २, अन्य १६ गरी ३३३ वटा सहकारी र २८० वटा सेवा केन्द्र छन् ।

यस्तै पालिका अन्तर्गतका ३ हजार ८३६ सहकारीमध्ये झापामा मात्रै ७५६ वटा छन् । प्रदेशमा १ अर्बमाथि सम्पत्ति र दायित्व भएका सहकारीको सङ्ख्या १२ छ । तीमध्ये ११ वटा सहकारी झापामा मात्रै छन् ।

Sahakari-Sankat-4-bare-data-no-2

यस्तै प्रदेशमा ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्ने १३ वटा, २५ करोडदेखि ५० करोडसम्म कारोबार गर्ने ३१ वटा र ५ करोडदेखि २५ करोडसम्म कारोबार गर्ने सहकारीको सङ्ख्या ९७ वटा छन् ।

झापाका ती ११ वटा संस्थामा मात्रै ५३ अर्ब ४४ करोड ६ लाख ६७ हजार ५०५ रुपैयाँको सम्पत्ति र दायित्व देखिएको छ । १२ औँ नम्बरमा रहेको मोरङको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थामा १ अर्ब २३ करोड २ लाख २० हजार ९८० रुपैयाँको सम्पत्ति र दायित्व छ । प्रदेशका यी १२ वटा सहकारीको जम्मा सम्पत्ति र दायित्व ५४ अर्ब ६७ करोड ८ लाख ८८ हजार ४८५ रुपैयाँ  छ ।

झापामा रहेका ११ वटा ठुला सहकारीमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. मेचीनगर, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, मेची बहुउद्देश्यीय सहकारी संस्था दमक, सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. तोपगाछी, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमक, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक, नवोदय बहुउद्देश्यीय सहकारी संस्था तोपगाछी र किसान कल्याण बचत एकम्बा छन् ।

Sahakari-Sankat-4-bare

कोशी प्रदेश अन्तर्गत नियमन हुने सहकारी एक हजार ७८ वटा रहँदा स्थानीय सरकार अन्तर्गत ३ हजार ६५१ वटा सहकारी छन् । प्रदेश सरकार अन्तर्गत रहेका एक हजार ७८ सहकारीमा मात्रै १२ लाख १५ हजार ३४४ सदस्यको १३ अर्ब २४ करोड २७ लाख ८ हजार सेयरपुँजी र बचतकर्ताको ६५ अर्ब ५८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बचत छ ।

ती सहकारीहरूको ऋण लगानी भने ८१ अर्ब १३ करोड ९ लाख ५४ हजार रुपैयाँ छ । सहकारीको जम्मा कोष ९ अर्ब ३३ करोड ८२ लाख १८ हजार र कुल सम्पत्ति दायित्व १ खर्ब ३ अर्ब ९ करोड २१ लाख ५४ हजार रुपैयाँ छ । रोजगारी गर्नेको सङ्ख्या ७ हजार ९६ छ ।

कोशी प्रदेशमा भएका सबै सहकारीमा २१ लाख ७८ हजार ५०३ सेयर सदस्यको कुल सेयर पुँजी २१ अर्ब ५२ करोड ९२ लाख ८२ हजार ८२२, कुल बचत ९२ अर्ब २५ करोड ५९ लाख ७९ हजार ३२८, कुल कोष ११ अर्ब ५९ करोड ६७ लाख ७५ हजार ८१३, कर्जा प्रवाह १ अर्ब १३ अर्ब ११ करोड १८ लाख ९८ हजार ७१३ गरी जम्मा सम्पत्ति र दायित्व १ अर्ब ४५ अर्ब १७ करोड ३७ लाख ४१ हजार ४८ रुपैयाँ छ । सहकारीमा १४ हजार २५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

झापाका सहकारीमा केही समस्या देखिन सुरु गरेको छ । अन्य जिल्लामा देखिएको जस्तै समस्या भए पनि उक्त जिल्लामा ठुलो सङ्ख्यामा मानिस सहकारीमा आबद्ध रहेको कारण केही समस्या आए थेग्न नसकिने तथ्याङ्कले देखाएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका अनुसार सहकारीमा शुद्धीकरणको अभाव छ, वित्तीय क्षेत्रमा देखिएका अफवाह र भ्रमलाई चिर्न सकिएको छैन । झापामै दुर्गा प्रसाईंले बैंक, वित्तीय संस्थाहरूप्रति फैलाइरहेको भ्रमले देशभरका सहकारी प्रभावित छन् । झापा झनै प्रभावित छ ।

‘प्रदेशमा सहकारीहरूमध्ये ठुलो पैसा राखेर बसेका झापाका सहकारीहरूमा समस्या देखियो भने थेग्न मुस्किल पर्ने देखिन्छ,’ प्रदेश रजिस्ट्रार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले भने, ‘त्यसकारण सहकारीका सञ्चालक, कर्मचारी तथा सेयर सदस्यहरू उत्तिकै चनाखो हुनुपर्ने अवस्था छ ।’

केही सहकारीका सञ्चालक र कर्मचारीहरूमा वित्तीय अनुशासनको अभाव देखिएको छ । सहकारीका उत्पादनहरू बजारीकरणमा समस्या देखिएको छ । सहकारी सञ्चालकमै वित्तीय विश्लेषणको ज्ञान नहुनु र सहकारीमा सुदखोरहरूको प्रवेश हुनुले जुनसुकै बेला ठुलो समस्या आउन सक्ने उनी बताउँछन् ।

यस्तै ठुला सहकारीहरूमा पनि दक्ष जनशक्तिको अभाव छ । पालिकाहरूले सहकारीलाई प्राथमिकता दिएका छैनन् । समग्र अर्थतन्त्रका सूचकहरू ओरालो लागेको छ । जोखिममा आधारित भई अनुगमन गर्ने अभ्यास पनि छैन । यस्तो अवस्थामा सहकारीहरूमा जुनसुकै बेला जे पनि समस्या आउन सक्ने खत्रीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप