मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
कृषि

३७०० मिटरमाथिको साग खेतीले दिएको सन्देश

अन्नपूर्ण पदमार्ग क्षेत्रमा कृषि
मङ्गलबार, २२ फागुन २०८०, १० : ०२
मङ्गलबार, २२ फागुन २०८०

नेपालका हिमाली पदमार्गमध्येकै सबैभन्दा लोकप्रिय पदमार्गमा पर्छ, हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो अन्नपूर्ण प्रथम (८०९१ मिटर) को पश्चिमी आधार शिविर पदमार्ग । पर्यटक नगरी पोखराबाट विभिन्न बाटो भएर अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । पुग्न सहज र आधार शिविरबाट देखिने मनोरम हिमालका दृश्यले गर्दा आन्तरिक र बाह्य पर्यटकका लागि प्रसिद्ध छ यो पदमार्ग । यही पदमार्गमा पर्छन्, सुन्दर छोम्रोङ, सिनुवा लगायत गाउँहरू । यी गाउँमा गरिएको खेतीपाती पनि गाउँबाट देखिने हिमालका दृश्यजस्तै लोभलाग्दा छन् । 

झिनु डाँडाबाट करिब दुई घन्टा उकालो हिँडेपछि आइपुग्छ, रमणीय गाउँ छोम्रोङ । बाक्लो बस्ती भएको छोम्रोङ गाउँमा कात्तिकको मसान्तमा पुग्दा पर्यटकको चहलपहल राम्रै देखिन्थो । पर्यटकसँगै होटल पनि व्यस्त देखिन्थे । घरका केही सदस्य होटलमा पाहुनाको स्वागत गर्दै थिए भने केहीचाहिँ खेतबारीमा खटिँदै । घरघरमा कोदो सुकाएको र कुटेको दृश्य पनि कम रमणीय थिएन । कोही घरछेउको बारीमा आलु गोड्न व्यस्त देखिन्थे, कोही भर्खरै बिटा लगाएको धान थन्काउन । हर घरमा गाईवस्तु, बाख्रा बाँधिएका थिए, कोही गाईवस्तु चराउन व्यस्त देखिन्थे । हिमालको दृश्य र गाउँले परिवेशलाई यहाँको खेतीपातीले थप जीवन्त बनाएको थियो । 

छोम्रोङबाट केही समयको ओरालोपछि पुगिन्छ, सिन्वा गाउँको तल्लो भाग । गाउँ सुरु हुनसाथ बारीमा पिँडालुले नुहेर स्वागत गरिहाले । आमाहरू गफिँदै बारीमा कोदो टिप्न व्यस्त थिए । घरका छानामा इस्कुस झुन्डिरहेका देखिन्थे । बारीभरि लटरम्म सिमी, करेसाबारीमा चौडा पात भएका साग, घरअगाडि चुच्चे करेलाको भ्याल — जसले गाउँमा प्राण भरेको थियो । बाटोमा कतै गाईवस्तु चरिरहेका थिए, कतै भेडाका बथान चराएको भेटिन्थ्यो भने कतै स्थानीय किसानहरू घाँसका भारी बोकेर हिँडिरहेका भेटिन्थे । बाटोमा पर्ने ब्याम्बो, दोभान, देउरालीदेखि समुद्री सतहबाट ३७०० मिटरमाथि अवस्थित माछापुच्छ«े आधार शिविरसम्मै साग र तरकारीको उत्पादन भइरहेको दृश्य साँच्चै मनमोहक र प्रेरणादायक थियो । सहजै खेतीपाती गर्न सकिने फाँट बाँझा हुँदै गइरहेको प्रतिकूल अवस्थामा पनि अन्नपूर्ण पदमार्ग क्षेत्रमा भइरहेको खेतीबाट हामीले सिक्ने कुरा धेरै हुन सक्छन् । 

बाटोमा आलु खनिरहेका, कोदो टिपिरहेका र सिमी केलाइरहेका किसानले पनि धैरै उत्पादन भएर कृषि गरिरहेका थिएनन्; उत्पादनको उचित मूल्य, धेरथोर पर्यटकको प्रोत्साहन र खेती किसानीले बढाएको पर्यटनले गर्दा कृषि गरिरहेका थिए ।

उसो त नेपालको धेरै जमिन खेती गर्न योग्य छैन । नेपालको कुल २८ प्रतिशत जमिनमा मात्र खेती गर्न सकिन्छ, जसमा सात प्रतिशत जमिनमा आजसम्म खेती गरिएको छैन । यसरी हेर्दा नेपालमा ३० लाख हेक्टर जमिनमा खेती गरिएको थियो, तर पछिल्लो समय खेती गरिएको जमिन बाँझिने क्रम तीव्र छ । पछिल्लो कृषि गणना अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन् । पछिल्लो एक दशकमा मात्र करिब तीन लाख ९२ हजार हेक्टर जमिन थप बाँझो रहेको तथ्यांक सार्वजनिक भएको छ । किसान किसानीबाट विमुख हुने क्रम तीव्र छ । यसको प्रमुख कारण खेती किसानीबाट जीवनयापन नहुनु नै हो । योसँगै जंगली जनावरको आतङ्क, खेती–किसानीलाई हेर्ने सामाजिक दृष्टिकोण, उत्पादनको स्थायी बजारको अभावजस्ता सहायक समस्या पनि जिम्मेवार देखिन्छन् । कतिपय स्थानमा प्रतिकूल मौसम र भौगोलिक अवस्थामा पनि खेतीपाती भइरहनुले हामीले लिएको कृषि नीति तथा विकासको बाटोमाथि पनि ठुलो प्रश्न उठाएको छ । 

22

आवधिक योजना बन्न सुरु (२०१३ साल) भए देखि नै नेपालको आर्थिक छलाङको मुख्य क्षेत्र कृषिलाई मानिएको छ । २०२२ सालमा निर्माण गरिएको तेस्रो आवधिक योजनादेखि उत्पादनको लक्ष्य तोकेर उत्पादनकेन्द्रित योजना निर्माण गरिएको छ । २०१६ सालबाट विकसित हरित क्रान्तिले बढाएको उत्पादकत्वको प्रभावसँगै नेपालमा निर्माण हुने प्रायः आवधिक योजना तथा नीतिहरू उत्पादकत्व केन्द्रित बन्दै आइरहेका छन् । पछिल्लो समय निर्माण गरिएको कृषि विकास रणनीतिमा त मुख्य बालीहरूको उत्पादकत्वको लक्ष्य तोकिएको छ । कुल संशाधन उत्पादकत्वको अवधारणामा तयार गरिएको यस रणनीति नेपालको समकालीन कृषि विकासको मुख्य रणनीति भएकाले त्यसपछि बनेका आवधिक योजना उत्पादकत्व केन्द्रित हुनु स्वाभाविकै भयो । यसरी नीति, रणनीतिदेखि कार्यक्रमसम्म उत्पादकत्व केन्द्रित हुँदा पनि नेपालमा खेती गरिएको जमिनको क्षेत्रफल घट्दै जानु, उत्पादकत्वमा सतही मात्र वृद्धि हुनु, आयात बढ्नुले कुल संशाधन उत्पादकत्वको अवधारणा र उत्पादकत्वमा केन्द्रित नीति–नियममाथि निर्मम समीक्षा र कृषि विकासका नयाँ बाटोहरूको खोजी अत्यावश्यक भएको छ । 

नेपालमा उत्पादन हुने कृषि उपजमध्ये धेरै अध्ययन, अनुसन्धान र लगानी भएको उपज हो, धान । नेपालमा धेरै उत्पादन क्षेत्र भएको धानको उत्पादकत्व बढाउन नेपाल सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको छ । विडम्बना ! उत्पादकत्व केन्द्रित रणनीति, नीति तथा कार्यक्रम दशकौँदेखि निर्माण भइरहेको देशको धेरै प्राथमिकतामा परेको उपजकै उत्पादन क्षेत्र र उत्पादकत्वको तथ्यांक त्यति उत्साहजनक छैन । पछिल्लो तीन दशकको तथ्यांक हेर्ने हो भने दुई लाख ६५ हजार हेक्टर जमिनमा धानको खेती गर्न छोडिएको छ । योसँगै धानको उत्पादकत्व ३.४७ मेट्रिक टनप्रति हेक्टरमा सीमित भएको छ । जुन कृषि विकास रणनीतिमा उल्लेख गरिएको सम्भावित उत्पादन क्षमता (१०–१२ टन प्रतिहेक्टर) भन्दा चार गुणा कम हो भने १५औँ आवधिक योजनामा उल्लेख गरिएको उत्पादकत्व (३.७६ टन प्रति हेक्टर)भन्दा पनि कम हो । उत्पादकत्व बढाउन भनेरै अर्बौं लगानी गरिएको उपज धानको अवस्था यति निराशाजनक छ भने अन्य उपजको अवस्था कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । 

33

उत्पादकत्व केन्द्रित कृषि विकासको दृष्टिकोण र कार्यक्रममा दशकौँदेखि हाम्रो अर्बौं लगानी मात्र खेर गहिरहेको छैन, उत्पादकत्व वृद्धिको नाममा प्रयोग गरिएको रसायन र विषादीले हाम्रो माटो निर्जीव बनाउँदै लगिरहेको छ । बिउ प्रतिस्थापनको नाममा रैथाने बिउ–बिजन हराउँदै गइरहेका छन्, धेरैजसो कृषिको बजेट रासायनिक मल र कृषिलाई आधुनिक बनाउने नाममा आयातीत प्रविधि किन्न र अनुदान दिनमा खर्च भइरहेको छ । माछा उत्पादन १० टन प्रतिहेक्टर प्रतिवर्ष, धान उत्पादन १२ टन प्रतिहेक्टर प्रतिवर्ष, तरकारी उत्पादन १७ टन प्रतिहेक्टर प्रतिवर्षको महत्त्वाकाङ्क्षा बोकेर बनाइएको कृषि विकास रणनीति र त्यसैलाई कृषि विकासको सन्दर्भ मानेर उत्ति नै महत्त्वाकाङ्क्षाका साथ बनाइएका कृषि कार्यक्रमको एक दशकको प्रगतिको लेखाजोखा गर्न ढिलो भइसकेको छ ।

बाटोमा आलु खनिरहेका, कोदो टिपिरहेका र सिमी केलाइरहेका किसानले पनि धैरै उत्पादन भएर कृषि गरिरहेका थिएनन्; उत्पादनको उचित मूल्य, धेरथोर पर्यटकको प्रोत्साहन र खेती किसानीले बढाएको पर्यटनले गर्दा गरिरहेका थिए । जसलाई नेतृत्वले बुझ्न सके नेपालको कृषिले सकारात्मक धार समाउन सक्थ्यो । 

नेपालमा अहिले पनि अक्सर आधुनिक खेती गर्नुपर्छ भनेर भाषण र चिया गफ सुन्न पाइन्छ । जसको मानक ट्र्याक्टरको प्रयोग, रसायन र विषादीको प्रयोग, टनेलभित्रको खेती, एकल नगदेबालीको खेती हो भन्दा फरक नपर्ला । हामीले आधुनिक भनेर चर्चा गरेको, गराइएको खेतीको नतिजा भने सकारात्मक छैन । बढ्दो उत्पादनको लागत, उत्पादन सामग्रीमा बढ्दो परनिर्भता र अपेक्षाकृत वृद्धि नभएको उत्पादकत्वले कृषि विकास रणनीतिले अपनाएको कुल संशाधन उत्पादकत्वको अवधारणा नेपालजस्तो देशमा पूर्ण असान्दर्भिक देखिएको छ । बरु उत्पादन बढाउने नाममा अन्धाधुन्ध छरिएका रसायन र विषादीले गर्दा किसान र उपभोक्ता नसर्ने दीर्घ रोगको सिकार भएका छन् । अन्नपूर्ण आधार शिविर पदमार्गका किसानले नछाडेको खेती–किसानी बढ्दो निराशाका बिच नेपालको कृषिको आगामी बाटो तय गर्ने एक सिकाइ हुन सक्छ । 

छोम्रोङमा होटलअगाडि कोदो सुकाइरहेका एक किसानलाई मैले प्रश्न गरेँ, ‘दाइ, यो ठाउँमा पर्यटक पनि टन्नै आउने रैछन्, होटलबाट आम्दानी राम्रै हुन्छ जस्तो छ, मान्छे सुख पाउन खेती छाडिरहेका छन्, तपाईं किन खेती गरिरहनुभएको ?’ उनले भने, ‘भाइ ! यत्रा मान्छे मेरो होटलमा किन छन् थाहा छ तिमीलाई ? यहाँ वरपरको वातावरण र खानाले गर्दा । मैले यहाँ आफैँकहाँ उत्पादन गरेको साग खुवाउँछु, आफ्नै कोदोको ढिँडो बनाउँछु, कहिलेकाहीँ विदेशी पर्यटक यहाँ बसेर बारी खन्न जान्छन्, अस्ति तीन–चारजना विदेशीले हामीसँगै कोदो कुटे । पर्यटक नहुने बेला कहिले पोखरा झर्ने, कहिले खेतमा काम गर्ने त्यसको मजै छुट्टै छ । गाईवस्तुको दुध खान पाइएको छ, अफ सिजनमा यसै कसरी बस्नु हौ ।’ दाइको उत्तरले म अवाक् भएँ । दाइको उत्तर, कृषिमा स्नातकोत्तर पढिरहेको मलाई विश्वविद्यालयको किताबका ठेलीभन्दा बढी ज्ञानबद्र्धक लाग्यो । 

11

बाटोमा आलु खनिरहेका, कोदो टिपिरहेका र सिमी केलाइरहेका किसानले पनि धैरै उत्पादन भएर कृषि गरिरहेका थिएनन्; उत्पादनको उचित मूल्य, धेरथोर पर्यटकको प्रोत्साहन र खेती किसानीले बढाएको पर्यटनले गर्दा गरिरहेका थिए । जसलाई नेतृत्वले बुझ्न सके नेपालको कृषिले सकारात्मक धार समाउन सक्थ्यो । 

नेपालजस्तो भौगोलिक विविधता भएको देशमा तुलनात्मक लाभमा आधारित कृषि प्रणालीलाई अपनाउन सके कृषिप्रति बढिरहेको जनताको निराशालाई चिर्न सकिन्छ । स्थानीयतामा आधारित उत्पादन, स्थानीय उत्पादक सहकारीहरूको विकास र स्थानीयताको तुलनात्मक लाभ लिन सक्ने बजारका लागि सहजीकरण आदि तत्काल गर्न सकिने केही क्रियाकलाप हुन् । योसँगै प्राङ्गारिक उत्पादन र बजार विस्तार, कृषि र पर्यटनको विकास, भौगोलिक विविधताको सदुपयोग गरी बिउ उत्पादन, जैविक विविधताको संरक्षण र विस्तारलाई नीति तथा कार्यक्रममा पार्न ढिलो गर्नुहुन्न । उत्पादकत्वको रटान छाडेर तुलनात्मक लाभको प्रकृतिमैत्री खेती प्रणालीलाई नेपालको कृषि विकासको दिशाका रूपमा लिने हो र सबै तह–तप्का लागिपर्ने हो भने कृषि क्षेत्रमा सकारात्मक नतिजा देखिन सुरु गरिहाल्छ । त्यसपछि अन्नपूर्ण आधार शिविरमा जस्तै धेरै गाउँमा खेत बाँझा रहने छैनन् । 

(लेखक खाद्यका लागि कृषि अभियानमा आबद्ध छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश नेपाल
दिपेश नेपाल
लेखकबाट थप