मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी

आइतबार, १८ जेठ २०८२, १७ : ०३
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्ने बताए।
  • उनले हिमाल, पहाड र तराई-मधेससम्म जलवायु संकट प्रत्यक्ष देखिएको र भविष्यमा यो अझै भयावह हुने बताए।
  • मन्त्रीले हिमताल विस्फोट, बाढीपहिरो जस्ता घटनाहरू जलवायु संकटका चेतावनी भएको र समाधानको लागि पहल गर्नुपर्ने बताए।

काठमाडौँ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताएका छन् ।  नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताए । 

उनले हिमाल, पहाड र तराई मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गरे । उनले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिए । मन्त्री ठकुरीले गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौँ उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु सङ्कटका चेतावनी रहेको बताए । 

उनले भने, ‘मुलुक भरका हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदैछ र भविष्यमा अझै यो भयावह हुने अवस्थामा छ । हिमालहरू खतरामा छन् । ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा छन् । सगरमाथाको क्षेत्रमा थामेमा गत वर्ष हिमताल विस्फोटले पारेको क्षतिको एक महिना अघि म आफैँ गएर हेर्ने मौका पाएको थिए ।’ 

उनले भने, ‘दोधार चाँदनीमा भएको वर्षात्, काठमाडौँ उपत्यकामा आएको वर्षात्ले निम्त्याएको बाढी,पहिरो र डुबान र जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा गएको विस्फोटजन्य तालको कारणले भएको बाढी पहिरो यी सबै जलवायु सङ्कटका चेतावनी हुन् । यी घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराउँछन् कि अब प्रतीक्षा गर्ने समय छैन । जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ ।’  

जलवायु सङ्कटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको बताए । – न्युज एजेन्सी नेपाल  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप