शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बारामा यस वर्ष २२ लाख क्विन्टल उखु क्रसिङ

बुधबार, २३ फागुन २०८०, १४ : ४१
बुधबार, २३ फागुन २०८०

बारा । बाराको कलैया १६ स्थित रिलायन्स सुगर मिलले यस वर्ष २२ लाख क्विन्टल उखु क्रसिङ गरेको छ ।  मंसिर अन्तिम साताबाट सञ्चालनमा आएको मिलले हालसम्म बारा र पर्साका ८ हजार किसानहरूको हालसम्म २२ लाख क्विन्टल उखु क्रसिङ गरेको हो  । 

मिलका प्रबन्धक शैलेन्द्र गुप्ताले यस वर्ष बारा र पर्साका किसानले रौतहट र सर्लाहीका सुगर मिलमा समेत उखु बिक्री गरेकोले अपेक्षा गरे अनुसारको उखु मिलमा नआएको बताए । यस वर्ष उखुमा रोग कम भएकाले ३० देखि ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिएको मिलले जनाएको छ ।  

‘यति हजार उखु मिल्छ भनेर अनुमान भयो भने मात्रै मिल समयमै चलाउन, प्लान्ट विस्तार गर्न र लगानी बढाउन पनि हामीलाई सजिलो हुन्छ,’ प्रबन्धक गुप्ताले भने । 

उखु किसानहरूलाई मिलले हालसम्म ९८ करोड ७९ लाख ६२ हजार रुपैयाँ  भुक्तानी गरिसकेको मिलले जनाएको छ ।  रौतहट र सर्लाहीका मिलमा बारा र पर्साबाट ४ देखि ५ लाख क्विन्टल उखु लिएमा यस वर्ष रिलायन्स सुगर मिलले अधिकतम २८ लाख क्विन्टल उखु क्रसिङ गर्ने मिलले जनाएको छ  । 

गत वर्ष पुस १० गतेदेखि फागुन मसान्तसम्म मिल सञ्चालन हुँदा १९ लाख ३५ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।  गत वर्षको तुलनामा यस वर्ष उखुको उत्पादन राम्रो भएकाले चैत पहिलो सातासम्म मिल चल्ने प्रबन्धक शैलेन्द्र कुमार गुप्ताले बताए ।

यस वर्ष उखुको मूल्य प्रति क्विन्टल मिलले ५ सय ६५ रुपैयाँ र नेपाल सरकारले दिने ७० रुपैयाँ अनुदान गरेर ६३५ रुपैयाँ निर्धारण गरिएको छ । 

गत वर्ष सरकारले प्रतिक्विन्टल उखुको मूल्य अनुदान सहित ६१० रुपैयाँ तोकेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप