शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न– तपाईँबाट धोका पाएकाहरु एक ठाउँमा मिले भने तपाईँको हालत के होला ?

बिहीबार, २४ फागुन २०८०, १४ : ४२
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने प्रधानमन्त्रीको हालत के होला भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रचण्डले धोका दिएको विषय अहिलेको सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको पढेर सुनाए । 

प्रमुख सचेतक लेखकले भने,‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको । गठबन्धन भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरुले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त ।’

उनले प्रधानमन्त्रीले धोका दिन बाँकी दल नै  नरहेको बताए । 

लेखकले भने,‘अब म के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरु तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, ख्याल गर्नुहोला ।’

उनले कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप