सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
इलाम २ उपनिर्वाचन

पहिचानवादीले थेगिमलाई उम्मेदवार बनाउने !

पहिचानवादी सबै घटकले मलाई समर्थन गर्ने सहमति भएको छ, औपचारिक घोषण हुन बाँकी छ : थेगिम
बिहीबार, २४ फागुन २०८०, १९ : ५४
बिहीबार, २४ फागुन २०८०

विराटनगर । आगामी वैशाख १५ गतेका लागि तोकिएको इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।

थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थेगिमलाई उम्मेदवार बनाउने जानकारी दिएका हुन् ।

‘इलाम–२ उपनिर्वाचनका लागि प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति (पहिचानवादी) को साझा उम्मेदवारका रुपमा श्री डकेन्द्रसिं थेगिमको नाम निश्चित भएको छ,’ किराँतीले लेखेका छन् ।

थेगिमले पनि आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएजस्तै रहेको बताए । ‘औपचारिक घोषणा गर्न बाँकी छ । तर, फाइनल जत्तिकै हो,’ थेगिमले भने, ‘अब नेताहरुले पनि सार्वजनिक हिसाबले भनिसकेपछि त्यस्तै देखिन्छ ।’

गत फागुन २१ गते काठमाडौँस्थित आदिवासी जनजाति महासंघको कार्यालयमा बसेको बैठकले यस्तो सहमति गरेको उनले बताए ।

आन्दोलनरत पक्षका प्रमुख घटकहरुले आफूलाई समर्थन गरेको थेगिमको भनाइ छ । यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, जनमुक्ति पार्टीका अध्यक्ष केबी पालुङ्वा र संघर्ष समितिका संयोजक समेत रहेका थेगिम उम्मेदवारीको होडमा रहेको चर्चा थियो ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानवादी संघसंस्थाहरु किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा र नेपाल शेर्पा सङ्घसमेतको सहभागितामा थेगिमको नेतृत्वमा प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन भएको थियो । आफू उम्मेदवार भएसँगै पहिचान पक्षधर पार्टीहरुसँग पनि सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

‘पहिचान पक्षधरका पार्टी जसपा, माओवादी पार्टीका साथीहरुले पनि सघाउने भन्नुभएको छ । त्यसो हुँदा राम्ररी सल्लाह गरौँ भनेका छौँ,’ थेगिमले भने, ‘तर, अब पार्टीहरुको कस्तो खालको गठबन्धन बन्छ । त्यहाँ गठबन्धन बनेर ह्वीप जारी भयो भने त अप्ठ्यारो अवस्था होला । नत्र हामी सहकार्य गरेर अगाडि बढ्छौँ ।’

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते निर्वाचनको मिति तोकिएको छ । उक्त निर्वाचनमा एमालेले उनै नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उठाउने चर्चा छ । उता, कांग्रेसले भने यसअघि नेम्वाङसँगै पराजित बनेका डम्बर बहादुर खड्कालाई नै उम्मेदवार बनाउने सम्भावना बढी रहेको बताइएको छ ।

नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ६ जनाको नाम सर्ट लिस्टमा राखेको छ । यद्यपि उनीहरुको नाम गोप्य राखेको छ । माओवादी केन्द्रले पनि यसपटक एक्लै चुनावी मैदानमा उत्रने जनाएको छ ।

२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । सो निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबिच गठबन्धन थियो ।

यसपटक केन्द्रमा गठबन्धन फेरबदल भएसँगै इलामको निर्वाचनमा कुन कुन पार्टीबिच सहकार्य हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप