सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

हलमा फिल्म गएपछि सुरु हुन्छ निर्देशकको असली परीक्षा

राम्रो काम गरे दर्शकले पक्कै साथ दिन्छन् : निर्देशक देउजा
शनिबार, २६ फागुन २०८०, १३ : ३१
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा निकै पुराना निर्देशकका रूपमा चिनिन्छन् ज्ञानेन्द्र देउजा । उनका प्रायः समकक्षी निर्देशकहरू फिल्म क्षेत्रबाट बाहिरिइसकेका छन् । उनी भने अहिले नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्दै निर्देशनमा क्रियाशील छन् ।

आफूलाई प्रविधिका साथै समयसापेक्ष ‘अपडेट’ गराउन सफल भएका कारण नै आफू निर्देशनमा सक्रिय हुन सफल रहेको देउजा बताउँछन् ।

गत वर्ष हिट फिल्म ‘झिङ्गेदाउँ’ दिएका निर्देशक देउजा अहिले ‘उपहार’ लिएर आएका छन् । ‘उपहार’ आगामी शुक्रबार अर्थात् फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शन भएको छ । फिल्मले दर्शकको मन जित्नेमा उनी आशावादी छन् ।

निर्देशनको हिसाबले ‘उपहार’ ज्ञानेन्द्रको १७ औँ फिल्म हो । यहाँसम्म आइपुग्दा पनि उनी निर्देशनको हिसाबले शत प्रतिशत सन्तुष्ट हुन सकेका छैनन् । फिल्मको काम आजीवन सिकिरहनुपर्ने विषय भएकाले कहिल्यै र कसैले पनि शत प्रतिशत सन्तुष्टि दिन नसक्ने उनी बताउँछन् ।

‘कसैले मैले कुनै प्रोजेक्टमा शत प्रतिशत काम गरेको छु भन्यो भने त्यो गलत हो’, उनले भने ‘किनभने पछिल्लो समय डिजिटल प्रविधि हरेक क्षणमा परिवर्तन भइरहेको छ । त्यसैले कसैले शत प्रतिशत काम गर्नै सक्दैन ।’

फिल्म क्षेत्रको सबै परिवर्तनमा आफूलाई ‘अपडेट’ राखेको बताउने उनी हलमा फिल्म गएपछि बल्ल निर्देशकको परीक्षा सुरु हुने प्रस्ट पार्छन् । उनले भने, ‘मैले बनाएको फिल्म अहिलेका दर्शकले रुचाउनु भयो, साथ दिनुभयो भने म अपडेट रहेछु । नत्र रहेनछु भन्ने बुझ्नुपर्छ ।’

फिल्म ‘उपहार’ आफूले अहिलेको हरेक कुरा अध्ययन गरेर बनाएको दाबी उनको छ । ‘अहिले भित्रिएका नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नु भनेको मेरो लागि एउटा चुनौती हो’, उपहार चलचित्रका बारेमा उनले थपे, ‘अध्ययन, मेकिङ शैली, प्राविधिक हरेक कुरामा ध्यान दिएको छु ।’

  • माटोको सुगन्ध

यसअघि ‘गोर्खाली’, ‘दागबत्ती’देखि ‘झिङ्गेदाउ’ जस्ता एकसे एक सफल फिल्म दिएका देउजाले रिलिजका लागि सबैभन्दा बढी दौडधुप ‘उपहार’का लागि गर्नु परेको छ ।

8573e634-c601-4c45-85e8-81874bed3d63

फिल्मको निर्माता तथा निर्देशक दुवै जिम्मेवारीमा आफैँ भएकाले पनि उनले यो धपेडी गर्नु परेको हो । ‘निर्माता भएपछि लगानी सुरक्षितको टेन्सन बढी हुँदो रहेछ,’ उनले भने । त्यो हिसाबले पनि अन्य फिल्मको भन्दा ‘उपहार’मा आफ्नो भागदौड धेरै भएको उनी बताउँछन् ।

देउजाले अभिनेत्री रेखा थापासँग मिलेर ‘उपहार’ निर्माण गरेका हुन् । पहिलो सन्तानलाई जन्मदिन अमेरिका गएकी रेखा अहिले पनि उतै छिन् । ‘रेखा नेपालमा भएको भए मेरो दौडधुप अलि कम हुन्थ्यो,’ उनले भने, ‘रेखा नभएका कारण पनि मलाई भार थपिएको हो ।’

‘उपहार’ चलचित्र रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी लगायत जम्बो स्टार कलाकार टोली लिएर बनाइएको फिल्म हो । टिम राम्रो भएपछि खर्च पनि धेरै हुने नै भयो । पहिले राम्रो फिल्म दिइसकेकाले निर्माणमा सम्झौता गर्ने कुरो पनि भएन । सबैथोक राम्रो हुँदाहुँदै पनि पछिल्लो समय कतिपय फिल्मले व्यवसाय नगरेको अवस्था छ । आफ्नो फिल्मले त्यो अवस्था भोग्नु नपरोस् भनेर पनि निर्देशक देउजाले दौधधुप गरिरहेका हुन् ।

‘यो मेरो र रेखा थापाको प्रोजेक्ट हो । विगतमा दर्शकले रेखा र मलाई जसरी साथ दिनु भएको छ, यो फिल्ममा पनि त्यस्तै साथको अपेक्षा हाम्रो छ’, देउजाले भने ‘दर्शकको साथ मिल्ने हिसाबले फिल्म बनेको छ ।’

‘म धेरैपछि फिल्म निर्देशनमा फर्किएको थिएँ । त्यसैले दर्शकले ममाथि विश्वास नगरेको पनि हुनसक्छ’, देउजाले थपे ‘फिल्म हेरेपछि दर्शकले राम्रो पाए । माउथ पब्लिसिटी गर्दिए ।’

देउजाले विगतमा कृति, प्रेमकथा, समसामयिक विषय, एक्सनदेखि फेन्टासीसम्मका फिल्म बनाएका छन् । ‘उपहार’ विगतका भन्दा फरक हुनका साथै भेराइटीले भरिएको, समय सापेक्ष फिल्म भएको उनी बताउँछन् ।

‘जनरा जुन भए पनि मेरो फिल्ममा माटोको सुगन्ध र दर्शकको टेस्टले भरिएको हुन्छ’, उनी थप्छन् ‘फिल्मले दर्शकलाई यो मेरो कथा हो भनेर नजिकको आभास दिन्छ ।’

हलमा गएर फिल्म हेर्दा दर्शकले आफ्नो कथा महसुस गर्न सके फिल्म चल्ने देउजाको बुझाइ छ । ‘दर्शकले फिल्म हेर्दा यो मेरो हाँसो, मेरो पीडा, मेरो रोदन हो भन्न सके भने फिल्म चल्छ, नत्र चल्दैन’ उनले भने ।

‘उपहार’को विषयवस्तु आधुनिक र ‘ट्रिटमेन्ट’ नौलो भएकाले फिल्मले दर्शकको मनछुने उनले बताए । ‘उपहार’ मनोरञ्जनको एउटा राम्रो प्याकेज रहेको उनको दाबी छ ।

‘यो फिल्म मानिसको जीवनको यात्रा, भोगाइ, संघर्षभन्दा बाहिर छैन’, उनी भन्छन्, ‘जीवनको यात्रामा जति पीडा भए पनि खुलेर हाँसेर बाच्नुपर्ने सन्देश फिल्मले दिन्छ ।’

अभिनय क्षेत्रमा एउटा राम्रो क्रेज बनाएकी अभिनेत्री रेखालाई ‘उपहार’ फिल्ममा आफूले भिन्न तरिकाले प्रस्तुत गरेको निर्देशक देउजाको दाबी छ ।

‘रक्षक’, ‘गोर्खाली’, ‘दागबत्ती’, ‘मुनामदन’, ‘कुरुक्षेत्र’, ‘बरमाल’, ‘लवकुश’, ‘हामी ट्याक्सी ड्राइभर’, ‘देवर बाबु’, ‘रणसंग्राम’, ‘हिफाजत’, ‘खुसी’, ‘छविलाल कन्जुस छैन’ लगायत देउजाले जति फिल्म दिएका छन्, ती सबैको राम्रो व्यवसाय भएको छ । ‘उपहार’को पनि व्यवसाय राम्रो हुने उनको विश्वास छ ।

उनको गत वर्ष आएको फिल्म ‘झिङ्गेदाउ’ले भने सोचजस्तो व्यवसाय गर्न सकेन । ‘झिङ्गेदाउ’ मार्फत उनले ७ वर्षपछि निर्देशनमा ‘कमब्याक’ गरेका थिए । निर्देशनमा आफ्नो लामो ग्याप भएका कारण पनि त्यो फिल्मले राम्रो व्यवसाय गर्न नसकेको उनी बताउँछन् ।

‘म धेरैपछि फिल्म निर्देशनमा फर्किएको थिएँ । त्यसैले दर्शकले ममाथि विश्वास नगरेको पनि हुनसक्छ’, देउजाले थपे ‘फिल्म हेरेपछि दर्शकले राम्रो पाए । माउथ पब्लिसिटी गर्दिए ।’

अभिनय क्षेत्रमा एउटा राम्रो क्रेज बनाएकी अभिनेत्री रेखालाई ‘उपहार’ फिल्ममा आफूले भिन्न तरिकाले प्रस्तुत गरेको निर्देशक देउजाको दाबी छ । ‘फिल्म उद्योगमा रेखाको जुन वर्चश्व र शैली छ, त्यो शैली यो फिल्मबाट परिवर्तन हुन्छ,’ उनले थपे ।

‘उपहार’ दुई पुस्ताका स्टार र नयाँ कलाकारको समिश्रण पनि हो । यसलाई उनी हिजोको जेनरेसन र अहिलेको जेनरेसनलाई जोड्ने काम मान्छन् ।

‘एउटा फिल्म हेर्न एक व्यक्तिले सबै गरेर एक हजार रुपैयाँ खर्च गर्नुपर्छ’, देउजाले भने, ‘त्यत्रो खर्च गर्ने दर्शकले राम्रो फिल्म हेर्न पाउनुपर्छ ।’

‘उपहार’मा धेरै स्टार कलाकार राखेर राम्रो फिल्म दिने प्रयास गरेको देउजाले बताए । उनले भने, ‘कलाकार व्यावसायिक दृष्टि र कथाको डिमान्डले पनि राखिएको हो ।’

17353623_10211049469465163_4478594357188903024_n

फिल्ममा मुख्य पात्रको रूपमा महिला कलाकार छन् । सबै मेकर पुरुष स्टार कलाकारको पछि दौडिएको समय महिला कलाकारको जमघटमा फिल्म बनाउनु जोखिम हो । उनी फिल्मको व्यवसाय जहिले पनि जोखिम भएकाले आफूलाई कलाकारले केही फरक नपार्ने बताउँछन् ।

‘विश्वमै ९० प्रतिशत फिल्मले घाटाको व्यवसाय गरेको हुन्छ,’ उनले भने, ‘कलाकार जो भए पनि काम राम्रो भए दर्शकले पक्कै साथ दिन्छन् । दर्शकको ममाथि विश्वास छ भने मलाई कन्टेन्टमा ।’

  • रेखासँग ट्युनिङ

देउजाले अहिलेसम्म निर्देशन गरेका १७ फिल्ममध्ये ८ फिल्ममा अभिनेत्री रेखा थापासँग उनको सहकार्य भएको छ । तीमध्ये कुनै फिल्ममा रेखा अभिनेत्री मात्र छिन् भने कुनैमा निर्माताको भूमिकामा पनि छिन् । ‘उपहार’मा उनको रेखासँग निर्माता र अभिनेत्रीको रूपमा सहकार्य भएको छ ।

हुन त केही निर्माता निर्देशक रेखासँग काम गर्न गाह्रो मान्छन् । देउजाको पनि अलिअलि त्यस्तै अनुभव छ । तर उनी यसलाई नर्मल रूपमा लिन्छन् । उनले भने, ‘रेखा स्टार हो । प्रायः स्टारसँग काम गर्न गाह्रो हुन्छ ।’ स्टारलाई समयको प्रेसर पनि हुने उनले बुझेका छन् ।

‘रेखा मेरो पारिवारिक सदस्यजस्तै हो । छविसँग हुँदा छवि मेरो साथी भएको र घरायसी सम्बन्ध भएको कारण काम सहज रुममा गर्दै आएको छु’, उनले थपे, ‘काम गर्ने सिलसिलामा कहिले रेखालाई मैलै साथ दिएँ होला, कहिले रेखाले मलाई साथ दिएकी छन् ।’

दुवैको साथ र सहकार्य फिल्मका लागि सधैँ राम्रो हुँदै आएको उनी सुनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप