आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ५ जनाको मृत्यु

शनिबार, २६ फागुन २०८०, १७ : ११
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ रिलायन्सस्थित सडकमा प्रदेश-१-०२-००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश -१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको  हो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-८ बस्ने ३० वर्षीय बिपन दाहाल र मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-६ बस्ने अनोज दाहालको छोरा ६ वर्षीय अवि दाहालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरस्थित सडकमा मे.१ ख २५४७ नम्बरको बसले मे.१० प ७७५८ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने २५ वर्षीय राहुल थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सिरहाको गोलबजार नगरपालिका-४ धर्मकाँटास्थित सडकमा बा.९ च ६५६६ नम्बरको कारले प्रदेश ०१-००४ प ४९९४ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-८ बस्ने १७ वर्षीय विवेक उराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई लाइफ लङ्ग हेल्थकेयर गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

उता धनुषाको बिदेह नगरपालिका-५ हनुमान मन्दिर नजिक सडकमा माचीबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००२ प १००२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हंसपुर नगरपालिका-५ सुगानिकास बस्ने ३५ वर्षीया रेनु कुमारी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप