बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कोर टीम

बागमतीका मुख्यमन्त्रीको ‘कोर टीम’मा राजनीतिक सल्लाहकार हाबी

आइतबार, २७ फागुन २०८०, १३ : ४१
आइतबार, २७ फागुन २०८०

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेलले  मुख्यमन्त्रीले पाउने सुविधा अन्तर्गत सचिवालयमा कर्मचारी र एक जना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।
२०७९ पुस १५ गते मुख्यमन्त्री बने यता एक जना राजनीतिक सल्लाहकार, ४ जना स्वकीय सचिव र एक प्रेस संयोजक नियुक्त गरेका छन् । उनको ‘कोर टीम’ यही हो । यसका अतिरिक्त विषयगत मन्त्रालयका सचिवहरु, कर्मचारी र विषयगत विज्ञहरुलाई बोलाएर सल्लाह लिन्छन ।

प्रमुख राजनीतिक सल्लाहकार देवी प्रसाद ढकाल (डिपी), प्रमुख स्वकीय सचिव दल बहादुर बुर्लाकोटी (विजय), स्वकीय सचिव उर्मिला तामाङ गुरुङ,  उपेन्द्र जम्मकट्टेल (कम्प्युटर अपरेटर) र राजन रेग्मी तथा प्रेस संयोजक (अवैतनिक विज्ञ) राजन अधिकारीले मुख्यमन्त्रीलाई सहयोग गरिरहेका छन । स्वकीय र अवैतनिक विज्ञहरु सबै मुख्यमन्त्रीको गृह जिल्ला धादिङका हुन् भने प्रमुख राजनीतिक सल्लाहकार ढकाल भक्तपुरका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको टिमको प्रमुख पात्र ढकाल हुन । हरेक निर्णयमा भुमिका खेल्छन् । माओवादी जनयुद्धबाट राजनीतिमा होमिका उनी राजनीति, अर्थतन्त्र र विकासबारे जानकार छन । माओवादी केन्द्र बागमती प्रदेश कमिटिको सिफारिसमा नियुक्त ढकाल वर्षमान पुन नेपाल सरकारको यसअघि अर्थमन्त्री हुँदा १८ महिना प्रमुख स्वकीय सचिवको भूमिकामा थिए । उनी ७ वटा पुस्तकका लेखक हुन ।  

मुख्यमन्त्रीको कोर टीमको अर्को महत्वपूर्ण पात्र हुन् प्रमुख स्वकीय सचिव बुर्लाकोटी । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सहसचिव उनी मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रममा सहजीकरण गर्छन् ।

अर्का स्वकीय सचिवहरु नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्यद्वय तामाङ गुरुङ र रेग्मीले पनि सघाउँछन । गुरुङ काठमाडौंमै रहेर सघाउँछिन् भने रेग्मी हेटौंडामै छन । रेग्मी मुख्यमन्त्री जम्कट्टेलको औपचारिक कार्यक्रमहरुको टिपोट गर्छन र जानकारी गराउँछन ।

उपेन्द्र जम्कट्टेलले कम्प्युटर अधिकृतका रुपमा मुख्यमन्त्रीको प्रविधि, योजना, चिठ्ठी पत्रलगायतका काममा सघाइरहेका छन ।

अवैतनिक प्रेस संयोजक अधिकारी धादिङमै रहेर संचार समन्वयको काम गर्छन । आमसंचारमा स्नातकोत्तर उनी मुख्यमन्त्री जम्कट्टेलको भाषा विज्ञका रुपमा पनि काम गर्छन् ।

उनीहरुलाई राज्य कोषबाट सेवा–सुविधा उपलब्ध हुने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव बुर्लाकोटीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप