शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राज्य सत्तामा बाराको प्रभाव : उपराष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीदेखि मधेसको मुख्यमन्त्रीसम्म बाराबाटै प्रतिनिधित्व

सोमबार, २८ फागुन २०८०, १९ : ५७
सोमबार, २८ फागुन २०८०

बीरगन्ज । राज्य सत्तामा पहुँच र प्रभावको हिसाबले बारा जिल्ला यतिबेला निकै सशक्त देएिको छ ।  बारा जिल्लाले देशको उपराष्ट्रपति, उपप्रधानमन्त्री, संघीय मन्त्री र मुख्यमन्त्री पाएको हो ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारा जिल्लाबाटै प्रतिनिधित्व गर्दछन् । उपराष्ट्रपति हुनु अघि उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको बारा–२ बाटै उपनिर्वाचन मार्फत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य बने । हालै उनी संघीय सरकारको उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री बन्न सफल भए । जसपा अध्यक्ष यादवको गृहजिल्ला भने बारा होइन । २०७९ को आम निर्वाचनमा सप्तरीबाट पराजित भएका उनी उपनिर्वाचनमा बाराबाट उम्मेदवार बनेका थिए ।

यतिमात्र होइन, संघीय सरकारमा बाराबाटै प्रतिनिधित्व गर्ने ज्वाला साह पनि मन्त्री छिन् । बारा–३ बाट प्रतिनिधित्व गर्ने उनी कृषि मन्त्री छिन् ।

यतिमात्र होइन, मधेस प्रदेशका मुख्यमन्त्री पनि बारा जिल्लाबाटै निर्वाचित प्रतिनिधि हुन् । मुख्यमन्त्री सरोजकुमार यादव बारा जिल्लाको क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित प्रदेश सभाका सदस्य हुन् ।

राज्य सत्ताका विभिन्न ओहोदामा बाराबाटै निर्वाचित जनप्रतिनिधि रहेका कारण पनि जिल्लावासी यतिबेला दङ्ग छन् । तर विकास निर्माण, रोजगारी, समयमै मलखाद लगायतका आकांक्षा राखेका जिल्लावासीलाई उनीहरुकै मतबाट राजनीतिक उपलब्धि हासिल गरेका जनप्रतिनिधिले कति सन्तुष्ट तुल्याउन सक्छन् भन्ने जान्न केही समय पर्खिनैपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप