शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छक्का प्रहार गर्दै कारको सिसा फुटाउने पेरीले महिला प्रिमियर लिगमा बनाइन् कीर्तिमान

बुधबार, ३० फागुन २०८०, ११ : ४६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । अस्ट्रेलियाकी एलिस पेरी भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटको एकै पालीमा ६ विकेट लिने पहिलो खेलाडी बनेकी छन् । ३३ वर्षीया पेरी महिला प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्छिन् ।

पेरीले मंगलबार राति सम्पन्न मुम्बई इन्डियन्सविरुद्धको खेलमा चार ओभरमा केवल १५ रन खर्चिएर ६ विकेट लिएकी हुन् । यसअघि महिला प्रिमियर लिगको एकै पालीमा कुनै पनि खेलाडीले ६ विकेट लिन सकेका थिएनन् ।

उक्त खेलमा पेरीको क्लब रोयल च्यालेन्जर्स बैंगलोर सात विकेटले विजयी भएको थियो । अलराउन्डर खेलाडी पेरीले ब्याटिङतर्फ पनि अविजित ४० रन बनाएकी थिइन् । उनले केवल ३८ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएकी थिइन् ।

पेरीले ६ विकेट लिनुअघि महिला प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट बलिङ दक्षिण अफ्रिकी खेलाडी मारिजन काप्पको नाममा थियो । उनले सन् २०२३ मा खेलिएको महिला प्रिमियर लिगको एकै पालीमा १५ रन खर्चिएर पाँच विकेट लिएकी थिइन् । त्यतिबेला उनले दिल्ली क्यापिटल्सबाट खेल्दै गुजरात टाइटन्सविरुद्ध पाँच विकेट लिएकी थिइन् ।

यसअघि अघिल्लो साता खेलिएको खेलमा पेरीले छक्का प्रहार गरेको बलले लागेर एउटा कारको सिसा फुटेको थियो । त्यो घटनापछि पेरीले ‘सिसा फुटबलको कारको क्षतिपूर्ति बिमा कम्पनीले पनि सायदै गर्ला’ भनेर ठट्यौली टिप्पणी गरेकी छन् ।

यूपी वारियर्जविरुद्धको खेलका क्रममा पेरीले छक्का प्रहार गरेको बलले लागेर कारको सिसा फुटेको थियो । त्यो कार रंगशालाभित्रै प्रदर्शनका लागि राखिएको थियो । उक्त खेलमा पनि रोयल च्यालेन्जर्स बैंगलोर २३ रनले विजयी भएको थियो ।

उनले १९औँ ओभरमा दिप्ती शर्माको बलमा छक्का प्रहार गरेकी थिइन् । खेल सकिएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा पेरीले ठट्यौली पारामा भनेकी छन्, ‘खै, कारको विमा थियो कि थिएन । विमा गरेकै भए पनि सायदै विमा कम्पनीले क्षतिपूर्ति देला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप