सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साको ग्रामीण भेगबाट नियन्त्रणमा लिइयो बाघ

बिहीबार, ०१ चैत २०८०, २० : ३६
बिहीबार, ०१ चैत २०८०

बीरगन्ज । पर्साको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । एक महिनादेखि जिल्लाको ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिनदेखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो ।

सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।

बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बे होस पारिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।

फागुन १९ गते पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पोथी पाटेबाघ मृतभेटिएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित खाली खेतमा एउटा पोथी बाघ मृत अवस्थामा भेटिएको प्रमुख साहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप