आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

शनिबार, ०३ चैत २०८०, १६ : ४६
शनिबार, ०३ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा.३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । 

उता सप्तरीको सुरुङगा नगरपालिका-५ कुशहास्थित सडकमा स.९ प ७३७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ पोखरीया टोल बस्ने ४५ वर्षीया सिमवती देवी पासवानको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिनिश अस्पताल कुशहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सप्तरीकै खड्क नगरपालिका-६ चकवास्थित सडकमा गम्हरिया पोखरीबाट चक्वातर्फ जाँदै गरेको स.५ प १४२० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-७ बस्ने १४ वर्षीय प्रियान्सु साहको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । 

यसैगरी संखुवासभाको पाँचखपन नगरपालिका-९ याङ्सिजुङस्थित सडकमा बा.४० प १७९ नम्बरको मोटरसाइकल र को.३७ प १८४२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा को.३७ प१८४२ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-९ ढाडे बस्ने ६५ वर्षीय पदम बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको घोराही उपमहानगरपालिका-१७ सिस्ने खोला नजिक सडकमा हाल नम्बर नखुलेको टिपरको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका-१७ भैसाही बस्ने ४५ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै रौतहटको वृन्दावन नगरपालिका-६ हर्षाहास्थित सडकमा गरूडाबाट चपुरतर्फ जाँदै गरेको ना.३८ प ६१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक चन्द्रपुर नगरपालिका-६ मोथियाहि बस्ने ४५ वर्षीय रामपुकार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप