आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सीके राउतले भनेको ‘नौलो गणतन्त्र’ के हो ?

आइतबार, ०४ चैत २०८०, १८ : १०
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी ‘नौलो गणतन्त्र’ लागि आन्दोलन गर्ने तयारीमा छ । आइतबार जनमता पार्टीका अध्यक्ष डा. राउतले नौलो गणतन्त्रका लागि गर्ने आन्दोलनबारे जानकारी गराउन पर्साको वीरगञ्जमा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा ‘नौलो गणतन्त्र’ आन्दोलनको औचित्य प्रस्ट्याउँदै बनाइएको पर्चा पम्पलेट वितरण गरिएको छ ।

जनमत पार्टीले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि नौलो गणतन्त्रका लागि आन्दोलनको सुरुवात गर्ने गरी काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसदिन भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने तयारी छ । आमसभामा देशैभरबाट जनता तथा कार्यकर्ता ओराल्ने योजना जनमत पार्टीको छ । त्यसका लागि देशैभर प्रचार प्रसारलाई तीव्रता दिइएको छ ।

हरेक गाउँमा पार्टीका नेता तथा कार्यकर्ताहरू ‘नौलो गणतन्त्र’को प्रचारमा जुटेका छन् । उनीहरूले २०८१ जेठ १५ गते काठमाडौँमा हुने आमसभामा सहभागी हुन आग्रह समेत गरिरहेका छन् ।

त्यसैको तयारी स्वरूप शनिबारदेखि पर्साको वीरगञ्जमा केन्द्रीय समितिको बैठक राखेको छ । आइतबार उक्त बैठक समापन हुँदैछ ।

भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र ल्याऔँ जस्ता नाराका साथ जनमत पार्टी आन्दोलनको तयारीमा जुटेको छ ।

mala

  • नौलो गणतन्त्र के हो ?

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत जनताको जनसम्प्रभुता फर्काउन र पार्टी र नेताहरूको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्त गराउन नौलो गणतन्त्रका लागि आन्दोलन आवश्यक रहेको बताउँछन् । नेपालका लागि नौलो भए पनि विश्वका थुप्रै देशमा यो अभ्यास भइसकेको बताउँदै उनले यही गणतन्त्रलाई सुधार र परिस्कृत गर्दै नौलो गणतन्त्र स्थापना गर्ने आफूहरूको लक्ष्य रहेको प्रस्ट पारे ।

nauloo

उनले भने, ‘कसै–कसैलाई अनौठो लाग्ला तर फ्रान्समा अहिले पाँचौँ गणतन्त्र चलिरहेको छ । क्रान्तिको जननी मानिने फ्रान्सेली क्रान्तिपछि त्यहाँ पहिलो गणतन्त्र स्थापना भएको थियो भने सन् १९५८ पछि गणतन्त्रमा विभिन्न सुधार गर्दै पाँचौँ गणतन्त्र स्थापना भएको हो ।’

नौलो गणतन्त्रमा जनताले आफ्नो शासनको प्रत्यक्ष अनुभूति गर्ने बुझाइ जनमत पार्टीको छ । नौलो गणतन्त्रमा हरेक कुरा जनताको निर्णयबाट मात्र हुने, कुनै पनि कुरामा अङ्कुश नलगाउने सुनिश्चितता हुने जनमत पार्टीले जनाएको छ । संसद्मा सांसदहरू स्वतन्त्र छैनन्, अदालतमा न्यायाधीश स्वतन्त्र छैनन्, मन्त्रिपरिषद्मा मन्त्रीहरू स्वतन्त्र छैनन् । यी सबै कुरालाई दुईचार जना नेता तथा दुई तीन वटा पार्टीले बन्धक बनाएर राखेको भन्दै जनमत पार्टीले त्यसबाट मुक्ति पाउनका लागि नौलो गणतन्त्र नै अपरिहार्य रहेको प्रस्ट पारेको छ ।

‘नेपाल जस्तो देशमा दुई वटा सदनको आवश्यकता नै छैन,’ अध्यक्ष राउतले भने, ‘जनताले समेत मत जाहेर गरेर ऐन तयार हुने गरी एक सदनात्मक संसद् हुनुपर्छ ।’

nauloooo

जनमत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमात्र होइन, नौलो गणतन्त्रमा निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुने जनाएको छ । सो पार्टीले सबै विभागीय मन्त्रालय खारेज गरेर प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञ नियुक्त गरेर विभागीय काम कारबाही गराउने व्यवस्था नौलो गणतन्त्रमा हुने बताएको छ ।

जनमत पार्टीले प्रदेशमा मुख्यमन्त्री र उपमुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने तर मन्त्रीहरू नहुने व्यवस्था नौलो गणतन्त्रमा हुने बताएको छ । नौलो गणतन्त्र अनुसार प्रदेशमा मुख्यमन्त्रीले कर्मचारीहरूबाट विभागीय काम गराउने सो पार्टीको जिकिर छ ।

नौलो गणतन्त्रमा कुनै न्यायाधीश राजनीतिक पार्टीसँग आबद्ध भएको पाइएमा त्यसलाई अयोग्य घोषणा गरिने जनमतले जनाएको छ । ‘सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सहित ७ जना न्यायाधीश मात्र हुनुपर्छ, कर्मचारीतन्त्रमा दलीयकरण हुँदैन, देशको सम्पूर्ण उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने र राज्यले त्यसको नियमन गर्ने काम नौलो गणतन्त्रमा हुन्छ,’ जनमत पार्टीले भनेको छ ।

उपभोक्तावादी तथा वित्तीय पुँजीवाद खारेज गर्दै उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय पुँजी निर्माणमा जोड दिने उल्लेख गर्दै जनमत पार्टीले देशको उत्पादनलाई प्राथमिकता दिन नौलो गणतन्त्र पुँजीवादी र समाजवादी अर्थतन्त्रको बिचको बाटो ‘थर्ड वे’ हुने बताएको छ । यस्तो व्यवस्था विश्वकै सबैभन्दा सुखी देशहरू नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्ड लगायतका देशमा रहेको जनमतले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।

naullo

  • आन्दोलनको तयारी

जनमत पार्टीका अध्यक्ष राउतले व्यवस्था बदल्न र शीर्ष नेताहरूको सिन्डिकेट तोड्न २–४ दिनको सडक प्रदर्शन पर्याप्त नहुने पनि प्रस्ट पारेका छन् । ‘यसमा वर्र्षौं लाग्न सक्छ । आन्दोलनका अनेकौँ चरण पार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘राज्यबाट अनेकौँ धरपकड, जेल चलान र यातनासमेत भोग्नुपर्ने हुनसक्छ । २–४ दिनको ¥यालीले पुराना दलहरूले राज्यसत्ता छोडिदेलान् भनेर परिकल्पना पनि गर्न सकिँदैन ।’

त्यसका लागि आन्दोलनको विकल्प नभएको भन्दै उनले आन्दोलनबाटै नौलो गणतन्त्र स्थापना गर्ने आफूहरूको तयारी रहेको बताए । देश विकासका लागि जनता नउठे यो देशको अस्तित्व नै समाप्त हुने उनको बुझाइ छ । अबको आन्दोलन देशको आर्थिक निकास, सुशासन र रोजगारीका लागि तथा आफ्नो र आफ्ना सन्ततिको भविष्यका लागि हुने उनले बताए ।

naulo prchar

नेपालको राजनीतिक परिवर्तनका लागि सडक संघर्ष नै अन्तिम विकल्प रहेको जनमत पार्टीको बुझाइ छ । नेपालमा जे जति राजनीतिक परिवर्तन भएका छन्, सडकबाटै भएको भन्दै जनमत पार्टीले शान्तिपूर्ण आन्दोलनका लागि तयारी गरिरहेको उपाध्यक्ष इ.दीपक साहले बताए ।

उपाध्यक्ष साहले भने, ‘देशको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति प्रतिबद्ध रहँदै, जनतामा निहित रहेको सार्वभौमसत्ताको प्रयोग गर्दै नेपालको संविधानको धारा १७ ले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताअनुरूप नै आन्दोलनलाई अगाडि बढाउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप