मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ११ र १२ सञ्चालन गर्न उठाइएको रकम हिनामिना, वडाध्यक्षविरुद्ध अख्तियारमा उजुरी

बुधबार, ०७ चैत २०८०, १२ : २१
बुधबार, ०७ चैत २०८०

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका वडा नम्बर १ स्थित दाङसिङ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि उठाइएको रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 २०७५ फागुन २६ मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा ११ र १२ सञ्चालन गर्न चक्रबहादुर तामाङको अध्यक्षतामा आर्थिक सङ्कलन उपसमिति बनाउने निर्णय गरेको थियो । तामाङ हाल सोही वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रहेका छन् । 

उपसमितिमार्फत लाखौँ रकम सङ्कलन भए पनि हिनामिना गरिएको उजुरीमा उल्लेख छ । सङ्कलन अभियान अन्तरगत नै स्थानीय भूपेन तामाङको फेसबुकमार्फत सार्वजनिक गरिएको विवरणमा समेत २ लाख ९० हजार १९६ रुपैयाँ रकम सङ्कलन भएको उल्लेख गरिएको छ, तर उक्त रकम विद्यालयको हिसाब दाखिला खातामा उजुरी दर्ता गर्ने मितिसम्म  जम्मा भएको नदेखिएको उल्लेख छ । 

‘...उपसमितिमा आबद्ध सदस्यहरूलाई सोधखोज गर्दा सङ्कलित सम्पूर्ण रकम सहयोग सङ्कलन उपसमितिका अध्यक्ष चक्रबहादुर तामाङले नै बुझी लिई गएको तर हालसम्म उक्त रकम विद्यालय खातामा दाखिला नगरेको सुन्दा अचम्मित भएको जवाफ आएपछि विद्यालयमा बुझ्दा हालसम्म रसिदको अर्धकट्टी पनि विद्यालयमा नबुझाएको र उक्त रकम विद्यालयको खातामा दाखिला नगरी निज चक्रबहादुर चन्दले नै हिनामिना गरेको बुझिएकाले सो सम्बन्धमा आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गरिदिनुहुन अनुरोध गर्दछु’, उजुरीकर्ताले अख्तियारमा दिएको निवेदनमा भनिएको छ । 

Fullscreen capture 3202024 122150 PM

यसबारे उजुरी परेपछि अख्तियारले चासो दिँदै तारकेश्वर गाउँपालिकालाई पत्र काटेर यस सम्बन्धमा रायसहितको प्रतिवेदन माग गरेको छ । आयोगकी अनुसन्धान अधिकृत विनीता दाहालको हस्ताक्षरमा प्रेषित पत्रमा उजुरीको सम्बन्धमा छानबिन गरी स्पष्ट रायसहितको प्रतिवेदन उपलब्ध गराउन भनिएको छ । 

सोहीअनुसार गाउँपालिकाले दाङसिङ माध्यमिक विद्याललाई पनि फागुन १४ मा पत्राचार गर्दै माग भएअनुसारको सम्पूर्ण रायसहितको कागजातहरूको प्रमाणित प्रतिलिपी आयोगलाई उपलब्ध गराइदिन भनिएको छ । गत माघ ३ गते नै सी–०४२९२१ उजुरी दर्ता भएकामा आयोगले पालिकालाई माघ १७ मा पत्र काटेको थियो । 

Fullscreen capture 3202024 122252 PM

वडाध्यक्ष तामाङले विद्यालयमा कक्षा ११ र १२ चलाउनका लागि उपसमिति बनाएर रकम सङ्कलन गरिएको साँचो भए पनि कक्षा ११ र १२ सञ्चालन नै नभएपछि त्यसतिबेला सबैको सल्लाहअनुसार रकम हस्तान्तरण नगरिएको दाबी गरे ।   ‘कक्षा ११ र १२ चलाउने निश्चित भएपछि रकम दिने कुरा त्यतिबेला भएको हो’, उनले भने, ‘तर, विद्यालयले स्वीकृति नै पाएनछ र सबै पैसा पनि उठेन ।’ उनले रकम कुनै हिनामिना नभएको दाबी गर्दै स्कुलको पैसा छुट्टै जम्मा गरेर राखिएको र विद्यालयले पनि चासो नदिँदा भुक्तानीमा ढिलाइ भएको बताए । 

उनले अहिले उठेको सबै रकम विद्यालयको खातामा जम्मा गरिसकिएको दाबी गर्दै सोहीअनुसार अख्तियारलाई रायसहितको प्रतिवेदन पठाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप