बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एनभीए भलिबल : महिलाको उपाधिका लागि एभरेस्ट र पुलिस भिड्ने

बिहीबार, ०८ चैत २०८०, १८ : ५१
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा एभरेष्टले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई २५–२०, २५–१२, २५–१८  र पुलिसले अर्को विभागीय टोली एपीएफलाई २७–२५, २५–२२, २८–३०, २५–१७ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । 

यता त्रिभुवन आर्मी क्लबले अन्तिम चारको यात्रा तय गरेसँगै पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी च्याम्पियनसिपमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो । अब सेमिफाइनलमा साबिकको विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकी प्रदेश र आर्मीले नेपाल पुलिस क्लबको सामना गर्नेछन् । 

बिहीबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिमले चुनौती दिए पनि आर्मीले सेमिफाइनल यात्रा तय गर्‍यो । आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्ष पार्दै अग्रता बनायो । तर दोस्रो सेट भने सुदूरपश्चिमले २५–२२ ले आफ्नो बनाउँदै पुनरागमनको सङ्केत गर्‍यो । यद्यपि आर्मी त्यस पछिका दुई सेटमा क्रमशः २५–२३ र २५–१७ ले विजयी भयो र सुदूरपश्चिमको लक्ष्य पूरा भएन । त्यसअघि बिहीबार नै पुलिसले कोशी प्रदेशलाई २५–१३, २५–१६, २५–१३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप