शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा

माओवादीले भन्यो– एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्छ (भिडियोसहित)

शुक्रबार, ०९ चैत २०८०, १५ : ५४
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेकपा एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिएको छ । सो पार्टीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआएपनि मोर्चा कायम रहने बताएकी हुन् । 

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल एमाले सहभागी नभएपनि मोर्चा कायम रहने बताइन्  । उनले वामपन्थी दल र समाजवादी हुनुको नाताले समाजवादी मोर्चामा एमाले पनि आउनु राम्रो हुने बताइन् । उनले समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै अहिले सत्ता समीकरण फेरिँदा एमाले पनि सरकारमा रहेका कारण समाजवादी मोर्चाप्रति एमाले भ्रमित हुन नहुने बताइन् । 

उपाध्यक्ष भुसालले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताइन् । उनले एमालेसँग सत्ता सहकार्य भइरहेकाले एमाले मोर्चामा नआएपनि आपसी असमझदारी हुन नहुने बताइन् ।

उनले भनिन्, ‘हाम्रो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले एकचोटी नेकपा(एमाले)का अध्यक्षसँग पनि छलफल गर्नुहुन्छ । त्यसपछि हामी संयुक्त मोर्चामा रहन पनि सक्छौँ । अथवा सरकारमा सहकार्य त हाम्रो छदै छ । त्यसले मोर्चाको कामलाई अगाडि बढाउँदा कुनै कन्फ्युजन नहोस् भन्नका लागि वातावरण बनाउनका लागि छलफल भएको हो । मोर्चा छ । यसको औचित्यता छ । आवश्यकता छ । यसमा अहिले सरकारमा भएका र नभएकाहरूको सहभागिता छ । तर एउटा वाम, समाजवादी हुनुको नाताले आउनुभयो भनेपनि(एमाले) ठिकै छ । तर नआएपनि हामी यो मोर्चालाई अगाडि बढाउँछौँ ।’

उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूका बीचमा नीति, कार्यक्रमहरूमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्ने बताइन् । हाल मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको  नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरूप काम गरिरहेको उनले जानकारी दिइन् । मोर्चाले सरकारको नीति, कार्यक्रम र बजेटलाई समाजवादी बनाउनका लागि सल्लाह सुझाव पनि दिने उनको भनाई छ । 

उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित साझा मोर्चाको रूपमा समाजवादी मोर्चा रहेको पनि बताइन् । उनले आगामी दिनमा वाम ध्रुवीकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्ने बताइन् ।

यसअघि शुक्रबारनै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी समाजवादी मोर्चामा सहभागी नहुने प्रतिक्रिया दिएका थिए । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि प्रतिक्रिया दिँदै ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप