सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

कुखुराको ५ हजार चल्ला किन जलायो प्रहरीले ?

प्रहरी भन्छ– त्रुटि भयो
शुक्रबार, ०९ चैत २०८०, २० : ३६
शुक्रबार, ०९ चैत २०८०

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कुखुराको ५ हजार चल्लालाई जिउँदै जलाएको घटना यतिबेला विवादित बनेको छ । चैत ६ गते अवैध रुपमा भारतबाट भित्र्याइएको ५ हजार चल्ला प्रहरीले अमरपट्टीबाट बरामद गरेको थियो । तिनै चल्लालाई बिहीबार प्रहरीले जिउँदै जलाएर नष्ट गरेको हो ।

चल्ला ल्याउने व्यक्तिलाई पक्राउ गर्न भने प्रहरी असफल भएको छ । चल्ला बरामद भएको २ दिन पछाडि प्रहरीले यसलाई क्वारेन्टाइनमा पठाउनुको साटो आफैँले जलाएर नष्ट गरेको हो ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ ले यसरी पशुजन्य पदार्थ वा पशु नष्ट गर्दा क्वारेन्टाइनको प्रतिनिधिको समन्वयमा काम गर्नु पर्ने उल्लेख छ । पर्सा प्रहरीले क्वारेन्टाइनको प्रतिनिधिको रोहबरविनै कुखुराको चल्लालाई जलाएर नष्ट गरेको हो ।

पशु क्वारेटाइन पर्साका प्रमुख हरेराम यादवले आफूहरूको रोहबरबिनै कुखुराको चल्ला जलाएर नष्ट गरिएको बताए ।

रातोपाटीसँग उनले भने, ‘म काम विशेषले बाहिर छु, तर पनि हामीसँग समन्वय भएन । हाम्रो प्रतिनिधिको रोहबर बिना कुखुराको चल्ला जलाइयो । यसरी चल्ला जलाउनु अमानवीय हो ।’

चल्ला जलाउने अधिकार प्रहरीलाई छैन

भारतबाट ल्याइएका प्रतिबन्धित चल्ला नेपाल प्रवेश गरेमा त्यसको छुट्टै कानुनी कारबाहीको प्रावधान छ ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ११ मा भनिएको छ, ‘देहायका अवस्थामा क्वारेन्टाइन अधिकृतले पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको प्रवेशमा रोक लगाउन सक्नेछ:

(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन ठाउँबाट ल्याएको

हो, सो ठाउँमा सङ्क्रामक रोगको प्रकोप भएको सूचना प्राप्त भएमा,

(ख) पैठारीकर्ताले पैठारी गर्ने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा तोकिए बमोजिम सङ्क्रामक रोग नभएको प्रमाणपत्र र स्वस्थता सम्बन्धी प्रमाणपत्र उपलब्ध नगराएमा,

(ग) खण्ड (ख) बमोजिमको प्रमाणपत्र उपलब्ध गराएको भए तापनि केही पशुहरू सङ्क्रामक रोग लागि मरेको पाइएमा,

(घ) पैठारी गरिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री ल्याउनको निमित्त प्रयोग गरिएको सवारी साधनमा सङ्क्रामक रोगको लसपस भएको पाइएमा ।

चोरी पैठारी गरेर प्रवेश गर्दा पक्राउ परेको खण्डमा यसैको दफा १२ मा पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन मुलुकबाट ल्याइएको हो, सो मुलुकमा फिर्ता लैजान आदेश दिन सक्ने अधिकारको व्यवस्था छ ।

तर यहाँ प्रहरीले कुखुराको चल्ला ल्याउने मान्छे नै फरार भएपछि आफैँले नष्ट गरिदिएको हो ।

बरामद भएको चल्ला दफा ११ बमोजिम नभएमा उसैको जिम्मा लगाएर फिर्ता गर्ने अधिकार पशु क्वारेन्टाइनलाई दिइएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकाल बताउँछन् ।

उनी भन्छन्, ‘अझ बरामद कुखुराको चल्ला पैठारीकर्ताले हटाउने वा नष्ट गर्ने कानुनी व्यवस्था नै छ, पैठारीकर्ताले नहटाए वा नष्ट नगरेमा, त्यो नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च पैर्ठासँग लिने कानुनी प्रावधान छ ।’

तर पछिल्लो समय यो ऐन, नियमावलीको विपरीत व्यवहार भइरहेको उनको भनाइ छ ।

पर्सा प्रहरीले कुखुराको चल्ला जलाउने सवालमा त्रुटि भएको स्वीकारेको छ । पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले बरामद भारतीय कुखुराको चल्ला जलाउने विषयमा त्रुटि भएको स्वीकारे ।

उनले भने, ‘यो घटनामा प्रहरीबाट गम्भीर त्रुटि भएको छ, यो कमजोरी पनि हो । तर यहाँ प्रहरीको नियत भने गलतचाहिँ होइन, त्यसरी बुझिदिनुपर्‍यो हामीले ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप