आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन गृहमन्त्री लामिछानेको कांग्रेसलाई चुनौती

शनिबार, १० चैत २०८०, २० : २४
शनिबार, १० चैत २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् ।

उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् : ‘तपाईंहरुले भनेको दिन, स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं  आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’

लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले  मलाई  सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि  न्याय गर्नैपर्छ। जवाफ दिनैपर्छ। मेरो यो प्रस्तावको  जवाफमा तपाईंहरुले कहिँ,कतै, केही लेख्न बोल्न पर्दैन। दायाँ बायाँ केही कुरा नगर्नुहोला। वस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरुको जवाफ दिन आउँ ?’

गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको बताउँदै आफूले त्यसको जवाफ सदनमा उभिएर दिन चाहेको तर प्रधानमन्त्रीसँग जवाफ मागिएको बताएका छन् । उनले प्रधानमन्त्रीको जवाफ पाएपछि कांग्रेसलाई संसदीय समिति चाहिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  

उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सुर्यदर्शन सहकारीको मुद्दामा आफू प्रतिवादी भएको जानकारी समेत नभएको बताएका छन् । उनले भनेका छन् - ‘सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न  भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ??’

लामिछानेले प्रमाण भेटिँदा बालकृष्ण खाँणलाई घरबाट टिपेर लैजाने कांग्रेसले प्रमाण पाएको भए आफूलाई पनि नछाड्ने बताएका छन् । कांग्रेसले पछिल्ला दिन सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको भन्दै संसद्‌मा उनको राजीनामा माग्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप