बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष

बिहीबार, १८ असार २०८३, १७ : ०२
बिहीबार, १८ असार २०८३

बेइजिङ । चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवन सिटिक टावर (चाइना जुन)मा गत साता सानो विमान ठोक्काउने पाइलटले व्यक्तिगत कारणले उक्त घटना गराएको सरकारी अनुसन्धानले निष्कर्ष निकालेको छ । 

बेइजिङको चाओयाङ जिल्ला प्रशासनले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ६६ वर्षीय पाइलट लिउ दीर्घकालीन अनिद्रा (इन्सोम्निया) र चिन्ताको समस्याबाट पीडित थिए।  उनी सम्बन्धविच्छेद भएका, एक्लै बस्ने स्वतन्त्र पेशामा आबद्ध व्यक्ति थिए । अनुसन्धानका क्रममा फेला परेको उनको डायरीमा आत्महत्या गर्ने चाहना व्यक्त गरिएका धेरै टिपोट भेटिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार घटनामा पाइलट लिउको मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए । घाइतेमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सरकारी बयानमा व्यक्तिगत कारणले सार्वजनिक सुरक्षामा खतरा पुर्‍याएको घटना भएको निष्कर्ष निकालिएको छ । घटनापछि विमान भवनमा ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर सुरक्षा निकायले अनुसन्धान सुरु गरेसँगै ती भिडियो तथा तस्बिरहरू चिनियाँ सामाजिक सञ्जालबाट हटाइएको बताइएको छ ।

१०९ तले सिटिक टावर चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय झोङनानहाइबाट केही किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीयवासीले यस भवनलाई शुभ प्रतीकका रूपमा समेत हेर्ने गरेका छन् । घटनापछि चीनका कम्तीमा तीनवटा उड्डयन कम्पनीलाई हल्का विमानको उडान अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ ।

अनुसन्धानअनुसार दुर्घटनाको दिन लिउले बेइजिङको पिङगु जिल्लास्थित विमानस्थलबाट उडान भरेका थि ए। निर्धारित क्षेत्रमा प्रशिक्षण उडान गरेपछि एकल उडानका क्रममा उनले तोकिएको मार्ग छाडेका थिए । त्यसपछि विमानस्थलसँग सम्पर्क विच्छेद भएको र केही समयपछि विमान सिधै सिटिक टावरमा ठोक्किएको थियो ।

अधिकारीहरूका अनुसार लिउले सन् २०२१ मा स्पोर्ट पाइलट लाइसेन्स र सन् २०२४ मा निजी पाइलट लाइसेन्स प्राप्त गरेका थिए । उनले उडाएको विमान चिनियाँ कम्पनी सनवार्ड एयरक्राफ्टले बनाएको दुई सिटे, एक इन्जिन भएको अरोरा एसए६०एल मोडेलको थियो । यस विमानलाई खास गरेर भ्रमण, हवाई फोटोग्राफी र मनोरञ्जनात्मक उडानका लागि प्रयोग गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप