बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यक : जनार्दन शर्मा

शनिबार, १० चैत २०८०, २२ : २८
शनिबार, १० चैत २०८०

खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् ।

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीन वटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थिरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्यक छ”, उनले भने, “राजनीतिक दलहरूले एजेन्डामा सहमति गर्नुपर्‍यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।”

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उनले विकासको मोडिलिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्‍यो”, उनले भने, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताए । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दश वर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उनले भने, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरूक हुन आवश्यक छ । जनतामा छिटो परिणाम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धि गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रूपान्तरण अभियानका रूपमा जनतालाई सुसूचित गर्न आवश्यक छ ।”

नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिए । दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताए ।

उनले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गरे । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख, आव २०७६/७७ मा रु एक करोड २० लाख, आव २०७८/७९ मा रु १० लाख गरी रु एक करोड ५० लाखमा बजेट विनियोजन गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष सुरेश राईले भवनका लागि आव २०८९/८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाबाट आव २०७९/८० मा रु १० लाख प्राप्त भएको बताए ।

प्रदेशबाट प्राप्त रु ७५ लाखबाट वृत्तचित्र निर्माण, दुई वटा ल्यापटप, एउटा क्यामेरा र एक प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । सोही रकमबाट भवनको माथिल्लो तलामा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, रु तीन लाखको पुस्तक, रु दुई ५० हजार पुस्तक छपाइमा खर्च भएको थियो र साथै द्वन्द्वपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षण तथा प्रतिष्ठानको वेबसाइट निर्माण पनि सोही रकमबाट गरिएको थियो । 

नगरपालिकाबाट प्राप्त रु १० लाख रकमबाट नगरपालिकाभित्र रहेका २५ जना द्वन्द्वपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । विसं २०७५ पुस २७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, सहिद माता जयन्तादेवी कार्की र सहिद पत्नी शान्ति श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप