सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा घट्दै क्षयरोगका बिरामी

मङ्गलबार, १३ चैत २०८०, १४ : ४९
मङ्गलबार, १३ चैत २०८०

जुम्ला । यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले  जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीन जनाको मृत्यु भएको जानकारी दिए ।  

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एक जनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन् । 

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०/८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन् । 

नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ । आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताए ।

दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोग हुन सक्छ । खोग्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचआइभी र मधुमेह भएका बिरामीलाई क्षयरोगले छिटो सङ्क्रमण हुने गरेको छ । 

श्वास–प्रश्वास, खोक्दा, हाच्छिउँ गर्दा, जहाँ पायो त्यहीँ थुक्दा, बोलचाल गर्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वास्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्न सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर सञ्चालन गर्न आवश्यक रहेको बताए । जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरेर क्षयरोग पूरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको प्रमुख आचार्यको भनाइ छ ।

क्षयरोग रोकथाम गर्नका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । आवश्यक सचेतनाका कार्यक्रम सञ्चारकामाध्यमबाट सहज रूपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप