सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कूटनीतिक

चीनले नेपाललाई किन बोलाएन बोआओ सम्मेलनमा ?

बुधबार, १४ चैत २०८०, १८ : २४
बुधबार, १४ चैत २०८०

काठमाडौँ । चीनको हाइनान प्रान्तमा बोआओ सम्मेलन जारी छ । तर नेपाल सरकारको तर्फबाट सम्मेलनमा कसैले पनि सहभागिता जनाएको छैन । सम्मेलन १६ गतेसम्म चल्नेछ ।

चीनले यसपटक नेपाललाई निम्ता नै नदिएका कारण सरकारका तर्फबाट सहभागिता नभएको हो । विगतमा बोआओ सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता भए पनि यसपटक चीनले नेपाललाई निम्ता नै गरेन ।

विगतमा सो सम्मेलनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई सहभागी गराउन निम्ता आउँथ्यो तर यसपटक सरकारीस्तरमा कसैलाई पनि निम्ता नआएको स्रोतले दाबी गरेको छ ।

उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ अहिले चीन भ्रमणमै छन् । तैपनि उनी सो सम्मेलनमा सहभागी छैनन् । चीनस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘परराष्ट्रमन्त्रीलाई निम्तो नै छैन, त्यही भएर त्यसमा सहभागी हुने कुरा आउँदैन ।’

विगतमा बोआओ सम्मेलनका लागि नेपाली दूतावासमार्फत निमन्त्रणा जान्थ्यो तर यस पटक त्यस्तो कुनै निमन्त्रणा नआएको चीनका लागि नेपाली राजदूत विष्णपुकार श्रेष्ठले बताए । चीनले सिधै निमन्त्रणा नेपाल पठाएको भए आफूलाई त्यसबारे जानकारी नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बोआओ सम्मेलनका लागि कुनै लिखित वा मौखिक निमन्त्रणा आएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले पनि बोआओ सम्मेलनका लागि निमन्त्रणा नआएको बताए । उनले भने, ‘चीनबाट बोआओ सम्मेलनका लागि निमन्त्रणा आएकोजस्तो मलाई लाग्दैन ।’

गत वर्ष नेपाललाई निमन्त्रणा दिए पनि प्रधानमन्त्री प्रचण्डले अन्तिम समयमा त्यसलाई रद्द गरेका थिए । अघिल्लो वर्ष प्रधानमन्त्रीले भ्रमण रद्द गरेका कारण यसपटक चीनले निम्ता नदिएको हुन सक्ने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनायो ।

यद्यपि चीनले पार्टीगत तथा व्यक्तिगत रुपमा कसै–कसैलाई निमन्त्रणा दिएको छ । सो सम्मेलनमा सहभागी हुनका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन पुगिसकेका छन् भने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटा पनि गएका छन् । नेपालबाट केही संस्थागत प्रतिनिधि पनि सो सम्मेलनमा सहभागी भएका छन् तर सरकारको तर्फबाट कोही सहभागी छैन ।

प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकारलाई सरकारी निमन्त्रणा थिएन । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार सल्लाहकार सापकोटा व्यक्तिगत निमन्त्रणामा चीनको बोआओ सम्मेलनमा सहभागी भएका छन् । उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा चीनका लागि नेपाली राजदूत श्रेष्ठ पनि सहभागी हुने चर्चा चले पनि सोही बेला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा रहेकाले उनी सम्मेलनमा सहभागी हुन पाएनन् ।

परराष्ट्रका पूर्व सचिव मधुरमण आचार्यले चीनले नेपाललाई निम्तो किन दिएन वा दिए पनि किन गएन भन्नेबारे आफूलाई केही जानकारी नभएको बताए । तर चीनमा भइरहेको सो सम्मेलनमा नेपालको तर्फबाट सहभागी जनाउँदा राम्रो हुने उनको भनाइ छ ।

विगतमा उच्चस्तरीय सहभागिता हुन्थ्यो तर यसपटक किन कोही सहभागी भएन भन्ने आफूलाई थाहा नभएको पनि आचार्यले बताए । तर नेपालको लागि त्यो महत्त्वपूर्ण फोरम रहेको भन्दै उनले त्यसमा सहभागी हुँदा फाइदा नै हुने जिकिर गरे । रातोपाटीसँग उनले भने, ‘परराष्ट्रमन्त्री त्यहीँ हुनुहुन्छ, सम्मेलनमा सहभागी हुँदा राम्रै हुन्थ्यो तर किन भएन भन्ने मलाई थाहा भएन ।’

परराष्ट्र विज्ञ टंक कार्कीले बोआओ जस्तो सम्मेलनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यो गठबन्धन सरकारले फराकिलो विदेश नीति अपनाउने भनेको तर व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए । एसियास्तरको यो सम्मेलनमा सहभागी नहुँदा छिमेकी देशसँग कस्तो सम्बन्ध छ भन्ने कुरा पुष्टि भएको उनले जनाए ।

‘उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण आकस्मिक थिएन होला, पहिलादेखि तयारी थियो होला,’ उनले भने, ‘त्यही भ्रमणलाई पनि सम्मेलनसँग मिलाउँदा हुन्थ्यो तर राज्यले त्यस्तो नगरेर छिमेकीसँग सम्बन्ध बिगारेको छ । राज्य कूटनीतिक सम्बन्धप्रति गम्भीर देखिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप