शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ का आकांक्षीलाई देउवाले भने— मिलेर आउनुस्, यसपालि जित्नुपर्छ

बुधबार, १४ चैत २०८०, १८ : ३७
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इलाम—२ को उपनिर्वाचनका आकांक्षीहरुलाई मिलेर आउन आग्रह गरेका छन् । सभापति देउवाले बुधबार अपराह्न आफ्नो निवास बुढानीलकण्ठमा इलाम—२ का उम्मेदवारका आकांक्षीहरुसँग सामूहिक छलफल गरेका थिए ।

कांग्रेसको इलाम— २ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् । देउवासँगको छलफलमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, रमेश लिङ्देन र नगेन्द्र कुमाल सहभागी थिए । कांग्रेस इलामका सभापति समेत रहेका खड्काले सभापति देउवाबाट मिलेर आउन आग्रह भएको बताए । ‘तपाईँहरू मिलेर आउनुहोस् । इलाममा महामन्त्री (विश्वप्रकाश शर्मा)जी जाँदै हुनुहुन्छ,’ देउवाको भनाइ उद्धत गर्दै खड्काले भने, ‘टिकटका बारेमा त्यहाँ महामन्त्रीजीसँग कुरा गर्नुहोस् । उहाँको रिपोर्ट अनुसार टिकट दिने काम हुन्छ ।’ 

सभापति देउवाले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलाम—२ को रिपोर्ट बनाउन जिम्मेवारी दिएका थिए । शर्मा र आङ्देम्बेलाई इलाम २ का विभिन्न ठाउँमा नेता—कार्यकर्ताहरूले रिपोर्ट दिने काम गरिरहेका छन् । उनीहरूले उम्मेदवार र पार्टीको अवस्था, आमनागरिकको गुनासो र अपेक्षा पार्टीलाई जानकारी गराउनेछन् । 

सभापति देउवाले पनि इलामको वस्तुस्थितिबारे आफू जानकार रहेको भन्दै भरसक मिलेर आउन जोड दिएका छन् । ‘तपाईँहरू मिलेर आउनुहोस् । गफगाफ गर्नुहोस् । मिलेर आउँदा राम्रो हुन्छ,’ देउवाले भने, ‘यसपालि इलाम—२ का कांग्रेस जिताउनुपर्छ । तपाईँहरू मिल्दा चुनाव जित्न गाह्रो छैन भन्ने मलाई थाहा छ ।’

२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ । 

कांग्रेसले चैत २० गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक राखेर उपनिर्वाचनका उम्मेदवार चयन गर्नेछ । इलाम— २ को उपनिर्वाचनमा एमालेसँग मुख्य प्रतिस्पर्धा हुने कांग्रेसको बुझाइ छ ।

२०१५ सालमा तत्कालीन इलाम पश्चिमबाट कांग्रेसका गणेशप्रसाद रिजाल र इलाम पूर्वबाट कृष्णबहादुर शाखे निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन इलाम एमालेमय भयो । इलाम १ बाट एमालेका झलनाथ खनाल र इलाम २ बाट मणिकुमार लिम्बु निर्वाचित भए । 

२०५१ मा इलाम १ मा खनाल दोहोरिँदा २ मा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित भए । २०५६ मा इलाममा ३ वटा निर्वाचन क्षेत्र तोकिँदा १ मा कांग्रेसका बेनुप प्रसाईं र ३ मा केशव थापाले जित्दा २ मा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए ।

२०६४ मा इलाम १ मा एमालेका खनाल र २ मा नेम्वाङ निर्वाचित भए भने इलाम–३ मा कांग्रेसका गुरुङले बाजी मारे । २०७० मा गुरुङको ठाउँमा कांग्रेसका थापा निर्वाचित भए भने अन्य दुई क्षेत्रमा उस्तै परिणाम आयो ।

दुई वटा निर्वाचन क्षेत्र कायम हुँदा २०७४ र ०७९ को निर्वाचनमा कांग्रेस इलाममा निल भयो । उपचुनावमा एमालेको ध्येय आफ्नो वर्चस्व कायम राख्ने हुने छ भने कांग्रेस ‘कमब्याक’को खोजीमा । गत वर्ष मंसिर ४ मा सम्पन्न आम निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतले पनि कांग्रेस र एमालेबिच भिडन्त हुने देखिन्छ । 

इलाम–२ मा इलाम नगरपालिका– १० बाहेकका सबै वडा, माई नगरपालिका– ६, ७ र ८ नम्बर वडा, देउमाई, चुलाचली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका पर्छन् ।

इलाम–२ मा २०७९ को निर्वाचनमा नेम्वाङ ३० हजार २० मतका साथ विजयी हुँदा गठबन्धनबाट कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएका थिए । रास्वपाका प्रकाश सापकोटाले १३ सय ८० मत पाउँदा मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले १३ सय ६३ प्राप्त गरेका थिए । यस्तै जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङवाले १२ सय ७२, जसपाका यामप्रसाद लिम्बुले ७२४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द लिम्बुले ६८४ र राप्रपाका गणेश दुलालले ५१० मत पाएका थिए ।

इलाम– २ मा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आयो भने कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, सङ्घीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१, जसपा ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप