अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !

समाचार सारांश
- २०७२ सालको भूकम्पले क्षति पुर्याएको धरहरा सञ्चालनमा आएको ७ महिना पूरा भए पनि निर्माण कार्य अझै सम्पन्न भएको छैन।
- धरहरा प्रवेशबाट मासिक ६०/७० लाख रुपैयाँ आम्दानी भइरहेको छ भने २ लाखभन्दा बढीले शुल्क तिरेर धरहराको अवलोकन गरेका छन्।
- पार्किङ, संग्रहालय, र सुनधारा लगायतका संरचना निर्माणको काम म्याद थप नहुँदा ५ महिनादेखि ठप्प छ र पुरातत्व विभागलाई सुम्पिने तयारी भइरहेको छ।
काठमाडौँ । २०७२ सालको भूकम्पले क्षति गरेपछि नजिकै अर्को ठाउँमा बनाइएको धरहरा सञ्चालनमा आएको ७ महिना पूरा भयो । तर पूर्ण रूपमा निर्माण सम्पन्न भएको छैन ।
धरहरा परिसरका सुनधारा, पुरानो धरहराको बाँकी भाग संरक्षणलगायत निर्माण कार्य ५ महिनादेखि ठप्प भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन) कामु आयोजना निर्देशक प्रकाश अर्यालले जानकारी दिए ।
‘गत मंसिरदेखि निर्माणकार्य ठप्प छ । म्याद थप हुन सकेको थिएन । १४ औँ संशोधनअनुसार म्याद थपका लागि निवेदन दिइसकेका छन्, तर आवश्यक सम्पूर्ण कागजात बुझाइसकेका छैनन् । म्याद थप भएपछि कामले गति लिए निर्माण सम्पन्न हुन अझै ३/४ महिना लाग्छ होला,’ उनले भने, ‘अहिले प्रगति भनेको धरहरा सर्वसाधारणका लागि खुला गरेका छौँ । धरहरा प्रवेशबाट मासिक ६०/७० लाख रुपैयाँ बराबर रकम संकलन हुने गरेको छ ।’
२०७५ असोज १४ गतेदेखि बनाउन सुरु गरिएको धरहरा निर्माणको ठेकेदार कम्पनीलाई छैटौँ पटक २०८१ भदौ १ गतेसम्म म्याद थपिएको थियो । सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । तर सो अवधिमा धरहराका शतप्रतिशत निर्माण सम्पन्न हुन सकेन ।
पूर्ण रूपमा धरहरा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३ गते संविधान दिवसको दिन सर्वसाधारणका लागि खुला गरेका थिए । तत्काल परीक्षणका रूपमा सर्वसाधारणका लागि धरहरा निःशुल्क चढ्न पाउने गरी खुला गरेको थियो ।
तर गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गर्यो । सो निर्णयसँगै मङ्सिर ९ गतेयता धरहरा स–शुल्क सञ्चालनमा आएको छ । हाललाई धरहराको सवारी पार्किङमा शुल्क लिइएको छैन ।
शुल्क तिरेर दुई लाख बढी चढे धरहरा
शुल्क तिरेर दुई लाखभन्दा बढी मानिसहरू धरहरा चढेका छन् । कात्तिकदेखि वैशाख मसान्तसम्म २ लाख ४ हजार मानिसहरूले धरहरा चढेबापत तीन करोड बढी रकम तिरेका छन् ।
धरहरा चढ्न सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ र विद्यार्थी बालबालिका, अपाङ्ग र वृद्धलाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महश राईले सर्वसाधारणले धरहरा प्रवेश गरेबापत तीन करोड ७३ लाख रुपैयाँ संकलन भएको रातोपाटीलाई बताए ।
‘हालसम्म २ लाख ४ हजार जना धरहरामा चढ्दा उक्त रकम संकलन भएको हो,’ राईले भने ,‘धरहरा प्रवेशमा मात्रै शुल्क लिइरहेका छौँ । सवारी पार्किङ निःशुल्क नै छ । अब केही समयपछि पार्किङमा पनि शुल्क लिने व्यवस्था हुन्छ ।’
धरहरा चढ्न सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ र विद्यार्थी बालबालिका, अपाङ्ग र वृद्धलाई ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
के–के छन् निर्माण हुन बाँकी ?
अर्यालका अनुसार अहिले धरहरा सञ्चालनमा त छ तर यस परिसरका संरचनाहरू अझै निर्माण हुन सकेका छैनन् ।
‘धरहरा परिसरमा सवारी पार्किङ निर्माण, अर्थक्विक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएका छैनन्,’ निर्देशक अर्यालले भने, ‘सुनधारा निर्माण र पुरानो धरहरा संरक्षणको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।’
धरहरा परिसरमा संग्रहालय बनाउने तयारी भएको छ । यसको लागि अहिले बिल्डिङमा फिनिसिङको काम भइसकेको छ । त्यसको परिसर सुधारको काम भने हुन सकेको छैन । यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टहरू राख्न बाँकी छ धरहरामा लाइटिङ सिस्टम मिलाउने काम पनि बाँकी छ ।
धरहराको भुईंतलामा तीनतले बेसमेन्ट पार्किङ निर्माण गरिएको छ । जसमध्ये पहिलो तलामा मोटरसाइकल पार्किङका लागि मात्र खुला भएको छ । २०८० माघमा काठमाडौँ महानगरले न्युरोडको कालोपत्र सडकमा पार्किङ निषेध गरेपछि धरहराको बेसमेन्ट पार्किङ खुला गरिएको थियो । त्यसबाहेक अन्य दोस्रो र तेस्रो तलामा पार्किङस्थल निर्माण सम्पन्न हुन सकेको छैन ।
सिभिलवक्र्सको काम सकिसकेको छ । भेन्टिलेसन सिस्टम जडानको काम भए पनि त्यसको प्रपर टेस्टिङ र एप्रुभल भएको छैन । पार्किङस्थलमा हावा पर्याप्त मात्रामा पुर्याउनुपर्ने हुन्छ । त्यसैले जडान भइसकेको भेन्टिलेसन टेस्टिङका लागि भेन्टिलेसन जडान फेरि सुधार गर्नुपर्ने देखिएको छ । तर यो ठेक्काको म्याद सकिएको हुनाले गत मङ्सिरदेखि नै काम ठप्प भएको उनको भनाइ छ ।
यसै गरी धरहरा परिसरमा संग्रहालय बनाउने तयारी भएको छ । यसको लागि अहिले बिल्डिङमा फिनिसिङको काम भइसकेको छ । त्यसको परिसर सुधारको काम भने हुन सकेको छैन । यसैगरी वाटर ट्रिटमेन्ट प्लान्टहरू राख्न बाँकी छ धरहरामा लाइटिङ सिस्टम मिलाउने काम पनि बाँकी छ । यी सबै निर्माण गर्न करिब ३/४ महिना लाग्ने देखिएको छ । तर अहिले म्याद थप नभएका कारण निर्माण ठप्प छ ।
सुनधारा र पुरानो धरहराको बाँकी भाग अलपत्र
करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुनधारा अहिले अलपत्र बनेको छ । यो सुनधारा निर्माणका लागि पुरातत्त्व विभागलाई दिइने भनिएता पनि अहिलेसम्म कुनै प्रोसेस हुन सकेको छैन ।
यसअघि धरहरा पुनर्निर्माणको काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुनधारा पुनर्निर्माणको काम पाएको भए पनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय सरोकारवालाहरूले विरोध जनाएका थिए । यसको पुरानो संरचना भत्काउन नहुने र नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुनधारा रहेकाले यसलाई जोगाउनुपर्ने मागसमेत गरेका थिए ।
सो निर्माण कम्पनीले सुनधारा रहेको ठाउँभन्दा पछाडि ठुलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण सुरु गरेको थियो । तर सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुनधारामा पानी खसाल्न नदिने भन्दै विरोध भएको थियो ।
उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुनधारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यहाँ एकै ठाउँमा पाँच वटा सुनका धारा थिए । तर अहिले तीन वटा मात्रै छन् । करिब २० वर्षअघि चोरिएका दुई वटा सुनधारा अझै भेटिएका छैनन् ।
२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो । पर्खाल र भुईँमा बिछ्याएका ढुंगा भूकम्पले चर्किएका थिए । त्यसलाई मर्मत–सम्भार गरेर सुनधारामा पानी खसाल्नेसहित योजना अघि सार्न स्थानीयले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।
तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्नेगरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरू बताउँछन् ।
उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुनधारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यहाँ एकै ठाउँमा पाँच वटा सुनका धारा थिए । तर अहिले तीन वटा मात्रै छन् । करिब २० वर्षअघि चोरिएका दुई वटा सुनधारा अझै भेटिएका छैनन् ।
सुनधारामा प्राकृतिक रूपमा पानी ल्याउन प्रयास गरिए पनि सफल हुन सकेको थिएन । धारामा आएको पानीलाई पनि सहज रूपमा निकास दिन सकिने अवस्था नभएकाले यो पुनर्निर्माणका लागि पुरातत्त्व विभागलाई बजेट दिने तयारी भएको अर्यालको भनाइ छ । साथै यो अर्को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको फेद संरक्षणका लागि पनि पुरातत्त्व विभागलाई दिने तयारी भएको छ ।
पुरानो धरहरा संरक्षणका लागि एक करोड रुपैयाँ र सुनधारा पुनर्निर्माणका लागि गरी करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर हालसम्म यी दुवै संरचना न त पुरातत्त्व विभागलाई नै दिइएको छ । न त पुनर्निर्माण नै गरिएको छ । यी दुवै अलपत्र अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
-
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
-
बाबिल खानले लिए करियरबाट ‘ब्रेक’
-
सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
-
मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता