शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फिल्ममा एनिमेसन

तेजसराज जोशी : जसले बनाए पहिलो एनिमेटेड फिल्म

बिहीबार, १५ चैत २०८०, ११ : ५६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । जोशीले ६ जना अन्य सम्पादक साथीको सहयोगमा फिल्म बनाएका हुन् ।

नेपाली फिल्ममा सानातिना एनिमेस र भीएफएक्स दृश्य पहिले देखि नै प्रयोग हुँदै आएका थिए । तर पूरै फिल्म एनिमेसनबाट अहिलेसम्म बनेको थिएन । विदेशी कपीदेखि अर्ग्यानिक कथासम्मको प्रयोगमा पछिल्लो समय फिल्म मेकरहरू दौडिरहेको समय जोशीले भने एनिमेटेड फिल्म बनाए, किन ?

फिल्म क्षेत्रमा केही फरक काम गर्ने हुटहुटीले एनिमेसनमा ‘सलिना’ बनाएको जोशी बताउँछन् । एनिमेसन विधामै लामो समयदेखि काम गर्दै आएका उनले पहिले मानिसको बडी मोसन क्याप्चर गरेर हेरे । त्यो राम्रो देखियो । त्यसपछि सिरिज बनाउने तयारी गरे ।

‘सिरिजको तयारी गर्दै जाँदा फिल्मको सम्भावना देखेँ’, जोशीले थपे, ‘नेपालमा अहिलेसम्म एनिमेसन फिल्म नबनेकाले काम गर्न मन लाग्यो ।’

जोशीले एनजीओ, आइएनजीओका लागि ३५/४० सेकेन्डको एनिमेसन भिडियो बनाउँदै आएका थिए । त्यस्ता भिडियोका लागि उनी कहिलेकाहीँ उनी ३०/३५ जना प्राविधिकको साथ लिन्थे । फिल्मका लागि भने उनलाई ६ जना साथीले सहयोग गरेका छन् । त्यसैले पनि उनलाई यो फिल्म पूरा गर्न ६ वर्ष लागेको हो ।

w

‘फिल्म सुरु गर्दा उनले डेढ वर्ष लाग्ने अनुमान गरेका थिए । टेक्निकली सकियो । हामीले जुनस्तरको कल्पना गरेका थियौँ, त्योभन्दा माथिकै स्तरमा बन्यो’, जोशी भन्छन् । फिल्मको ‘फस्ट हाफ’ र ‘सेकेन्ड हाफ’ मा केही भिन्नता देखिएपछि दुवैलाई राम्रो र एकनासको बनाउन भनेर फेरि काम गर्दा ६ वर्ष बितेको उनले सुनाए ।

‘सबैले हेर्न मिल्छ’

एनिमेटेड फिल्म भन्ने बित्तिकै बच्चाका लागि हो कि, हत्या हिंसा धेरै छ कि, सजिलै बुझिन्न कि वा कथा नै छैन कि लगायत विभिन्न प्रश्न मानिसहरूको मनमा उठ्नु स्वाभाविक हो । जोशी यो सबै प्रश्नको जवाफ फिल्म ‘सलिना’ले दिने बताउँछन् । ‘एउटा राजकुमारीको कथा वाचन भएको यसमा अन्य फिल्म झैँ इमोसन र ड्रामाले भरिएको छ,’ उनले भने ।

‘एउटा राजकुमारीले अन्य पात्रसँगको सहयोगमा सबैभन्दा ठुलो राक्षसनीलाई हराउने अभियान फिल्मको कथा हो’, उनले फिल्मको कथाबारे बुझाए, ‘स्टार कलाकारको स्थानमा एनिमेटेड पात्र छन् ।’

फिल्मको स्क्रिन प्ले बच्चादेखि बुढासम्मलाई बाँधेर राख्ने रहेको जोशीको दाबी छ । फिल्ममा रोमान्सदेखि एक्सनसम्म भएको उनले स्पष्ट पारे ।

नेपालमा कार्टुन, एनिमेशन फिल्म बच्चाका लागि हो भन्ने गरिन्छ । उनी यो सोच नै गलत भएको बताउँछन् । उनले भने, ‘हलिउडका थुप्रै एनिमेटेड फिल्मले विश्व हल्लाएका छन् । हाम्रो फिल्म पनि त्यस्तै हो ।’

एनिमेटेड फिल्म विशेष गरेर बच्चाले रुचाउँछन् । हलमा बच्चा आउँदा अभिभावकको साथमा आउने हुन् । त्यसैले अभिभावकलाई पनि ध्यानमा राखेर कथा बुनिएको उनको भनाइ छ ।

नेपालमा पहिलो एनिमेटेड फिल्म बनेकाले चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्म विभिन्न लफडा भोग्नु स्वाभाविक हो । विकास बोर्डका कर्मचारीले त ‘सलिना’लाई फिल्म नै ठानेनन् । त्यसैले दर्ताका लागि आनाकानी गरिरहेका थिए । निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डमा फिल्मको विषयमा बुझाउनेदेखि दर्तासम्म सहजीकरण गरिदिए । त्यसपछि सेन्सर भयो । सेन्सर बोर्डका अध्यक्षले तारिफ गर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको जोशीले बताए ।

फिल्मको वितरक मनोज राठी, उज्ज्वल घिमिरे हुन् । केही हलवाला सजिलै राजी भए पनि केही हल भने कन्फ्युजमा छन् । यद्यपि जोशी सबै हलले फिल्म चलाउने विश्वासमा छन् । ‘सबैले फिल्म चलाए भने एनिमेटेड फिल्म निर्माणमा सपोर्ट मिल्छ’, उनले भने ।

रेनमेकर एनिमेसन एकेडेमीबाट निर्मित फिल्ममा शिव पुरी र श्रुति श्रेष्ठको सम्पादन छ । फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक छ । फिल्मका कलाकार एनिमेडेट पात्र भए पनि स्वर भने कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वर दिएका छन् ।

12

निर्देशक जोशी र श्रुति श्रेष्ठको सहकार्यमा फिल्म निर्माण भएको हो । फिल्मको टिम ठुलो छ । सबैको पैसा तिर्ने हो भने फिल्ममा दुई करोडभन्दा माथि खर्च हुन्थ्यो । सबैको सहयोग र सहकार्यबाट जम्मा ८० लाख रुपैयाँमात्र फिल्ममा खर्च भएको उनले सुनाए ।

‘फिल्म बनाउने हाम्रो सोच भगवानले पु¥याएको हो’, जोशीले भने, ‘एउटा इतिहास त रचियो नि ।’ फिल्मको लगानी उठाउने ध्याउन उनको छैन । नेपालमा यस्तो फिल्म बन्छ भन्ने विश्वास हुनु नै उनी चुनौती ठान्छन् । फिल्मको लगानी नेपालबाट कभर नभए पनि विदेशबाट उठ्ने उनको विश्वास छ ।

फिल्मका लागि उनले प्रदर्शनमा मात्र होइन, निर्माण समय पनि धेरै दुःख पाएका छन् । कतिले फिल्म बन्छ र ? भनेर विश्वास नगरेको, कतिले किन पैसा खेर फाल्न लागेको जस्ता थुप्रै नकारात्मक टिप्पणी गरेको अनुभव छ उनीसँग । नकारात्मक धारणा राख्ने सबैलाई इग्नोर गरेर अगाडि बढेकोले सफल हुन सकेको उनको भनाइ छ ।

फिल्म प्रदर्शनमा आउँदै गर्दा जोशी एकदमै खुसी छन् । फिल्मले एउटा इतिहास रचेकाले सार्वजनिक प्रदर्शनबाट ताली वा गाली जे आए पनि स्वीकार्ने सोचमा छन् उनी ।

‘नेपालमा पहिलो पटक एनिमेसन फिल्म बनेकाले प्रचार प्रचारमा पनि सबैको साथ मिलेको छ’, उनी भन्छन्, ‘फिल्म चल्यो भने एनिमेशन फिल्मका लागि ढोका खोल्छ ।’ अब पूरै भीएफएक्स फिल्म बनाउने सोच आफूले राखेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप