सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालले दोस्रो राष्ट्रिय सम्मेलन गर्दै

शनिबार, १७ चैत २०८०, ०७ : ३८
शनिबार, १७ चैत २०८०

मकवानपुर । माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालले दोस्रो राष्ट्रिय सम्मेलन गर्दै छ । नेकपा माओवादी केन्द्रको जातीय मोर्चाको रूपमा रहेको यो मोर्चाले विधिवत् रूपमा दोस्रो राष्ट्रिय सम्मेलन गर्न लागेको मोर्चाका अध्यक्ष  तथा संविधानसभा सदस्य तुलाबहादुर माझीले बताए ।

'गणतन्त्र, सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा हाम्रो अभियान ! माझी पहिचान सहितको स्वायत्त क्षेत्र स्थापनाको लागि दोस्रो राष्ट्रिय सम्मेलन !!' भन्ने मूल नाराका साथ मोर्चाले दोस्रो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको  पाँच पाण्डव झुरझुरेमा चैत १७ र १८ दुई दिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको मोर्चाका महासचिव एवम् प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जानकारी दिइन्। उनका अनुसार मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।

सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख अतिथि रहनेछन् भने पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,  राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, सुस्पा भुजेल, पूर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यसैगरी मकवानपुर जिल्लाका राजनीतिक पार्टीका नेताहरू, सञ्चारकर्मीहरू र जनसमुदायको पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ ।

सम्मेलनमा जनयुद्धको क्रममा सहिद भएका माझी समुदायका परिवारलाई सम्मान, घाइते योद्धाहरू र परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको तयारी पूर्ण रूपमा भएको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले बताएकी छिन् । उनका अनुसार देशभरबाट प्रतिनिधिहरू आउने क्रम सुरु भएको छ । प्रचारप्रसारको काम सकिएको छ । सम्मेलनको व्यवस्थापन जिल्ला समिति मकवानपुरले गरेको छ । सम्मेलन दुई दिन चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप