सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२० वटा घडियाल राप्तीमा छाडियो

शनिबार, १७ चैत २०८०, १४ : १८
शनिबार, १७ चैत २०८०

चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बिच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छाडेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले बर्सेनि बाढीका समय घडियाल गोही बगाएर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाउँ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औँल्याइन्।

घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने उनको धारणा थियो । प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् । भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन् ।

IMG_5946

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिए । घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उनको भनाइ थियो ।

गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा सङ्कलन गरि वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउन सकिने निकुञ्जको तथ्याङ्क छ ।

निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ । राप्ती नदीमा  ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ ।

निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३/३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् ।

घडियाल प्रजनन केन्द्रमा भाले घडियाल गोही न्यून सङ्ख्यामा उत्पादन हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप