बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई भत्ता वितरण
विराटनगर । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गरेका हुन् ।
अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएका छन् । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगतका वर्षदेखि निरन्तर रहेको हो । सो फाउण्डेसनले रकम प्राप्त गर्ने ती नागरिकलाई स्थानीय बैंकमा खाता खोलिदिएर सोही बैंक खातामार्फत सो भत्ता उपलब्ध गराउँदै आएको छ ।
बुधबार झापाको बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको बताए । उनले शिविरमा रहेका नेपालीभाषीहरूको स्वदेश फिर्ती, तेस्रो मुलुकको पुनर्वास या नेपालमै नेपाली भई बाँच्ने अवसर प्रदान गर्नेबारेमा गम्भीर रूपले सोचिदिन नेपाल सरकारसँग आग्रह पनि गरे ।
यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपालीभाषीको बसोबास गर्दछन् । ती शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ । त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ ।
फाउण्डेसनको सहयोगमा पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्श सुरु भएको छ । त्यसैगरी यी दुवै शिविरका लागि एक–एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले नगरपालिकासँग समझदारी गरेर रकम निकासा गरेको छ ।
त्यसक्रममा शिविरका शरणार्थीहरूले परिचयपत्र नवीकरण एवं जन्ममृत्यु र विवाह दर्ताको काम रोकिँदा समस्या भएको गुनासो गरेपछि फाउण्डेसनका अध्यक्ष अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरी सो समस्या तत्काल समाधानका लागि आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण