सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

किभमा रुसी आक्रमणमा मर्नेको संख्या १२ पुग्यो

सोमबार, २२ असार २०८३, १६ : ३८
सोमबार, २२ असार २०८३

सारांश

  • युक्रेनको राजधानी किभमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
  • अमेरिकी निर्मित प्रतिरक्षा क्षेप्यास्त्रको अभावले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न नसकिएको अधिकारीहरूले बताएका छन् ।
  • यो आक्रमण नेटो शिखर सम्मेलन र अमेरिकी राष्ट्रपति ट्रम्प तथा युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको भेटवार्ताको पूर्वसन्ध्यामा भएको छ ।

किभ । युक्रेनको राजधानी किभमा रुसले सोमबार बिहान क्षेप्यास्त्र र ड्रोनमार्फत भीषण आक्रमण गर्दा मर्नेको संख्या कम्तिमा १२ जना पुगेको छ । 

अमेरिकी निर्मित प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न नसकेको अधिकारीहरूले बताएका छन् । यो किभमा रुसको एक हप्तायताको दोस्रो ठूलो आक्रमण हो । गएको बिहिबार रुसले किभमाथि यस वर्षकै सबैभन्दा घातक आक्रमण गरेको थियो । यसमा ठूलो जनधनको क्षति भएको थियो ।

यस साता टर्कीमा हुने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को शिखर सम्मेलन हुनै लाग्दा भएको यो आक्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच युद्ध अन्त्यका उपायबारे भेटवार्ता हुने कार्यक्रम छ । युक्रेनको वायुसेनाका अनुसार रुसले प्रहार गरेका २३ वटा ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये एउटालाई पनि खसाल्न सम्भव भएन । अमेरिकी अवरोधक (इन्टरसेप्टर) क्षेप्यास्त्रको गम्भीर अभावका कारण यस्तो अवस्था आएको जनाइएको छ ।

यद्यपि युक्रेनी वायुसेनाले अन्य ३७ वटा क्षेप्यास्त्र र आक्रमणमा प्रयोग गरिएका ३५१ ड्रोनमध्ये ९० प्रतिशतभन्दा बढीलाई भने निष्क्रिय पार्न सफल भएको जनाएको छ । रुसले यस वर्ष हवाई आक्रमणलाई तीव्र बनाएको छ । युद्धभूमिमा स्थलीय अग्रगति सुस्त भएपछि मस्कोले क्षेप्यास्त्र र ड्रोन आक्रमणको मात्रा बढाएको विश्लेषण गरिएको छ । जेलेन्स्कीले पछिल्ला महिनाहरूमा बारम्बार युक्रेनलाई थप अमेरिकी ८याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक क्षेप्यास्त्र उपलब्ध गराउन पश्चिमी सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएका छन् ।

युक्रेनका अनुसार उच्च गति र ठाडो कोणबाट आउने ब्यालिस्टिक क्षेप्यास्त्रलाई प्रभावकारी रूपमा रोक्न सक्ने हतियार हाल प्याट्रियट प्रणाली मात्र भएकाले त्यसका लागि आवश्यक क्षेप्यास्त्रको अभावले राजधानीको सुरक्षा कमजोर बनेको छ । उता रुसले भने किएभ र आसपासका क्षेत्रमा रहेका सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप