शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
वाइडबडीमा भ्रष्टाचार

प्राविधिक स्पेसिफिकेशन र लागत इष्टिमेटमा कंसाकारको बदनियत

जहाज आपूर्तिकर्तालाई कानुनविपरित झन्डै डेढ अर्ब भुक्तानी
बिहीबार, २२ चैत २०८०, १६ : २८
बिहीबार, २२ चैत २०८०

काठमाडौं । वाइडबडी भ्रष्टाचार प्रकरणमा प्रतिवादी बनाइएका मध्येका प्रमुखमध्ये नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले प्राविधिक स्पेसिफिकेशन र लागत स्टमेट तयार गर्दै बदनियत राखेको पाइएको छ । उनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ विपरीत र नेपाल वायुसेवा निगम आर्थिक विनियमावली, २०६५ को विनियम २३६ संशोधन नगराई बोलपत्रको कागजात तयार गरेर विमानको प्राविधिक स्पेसिफिकेशन र सोलाई मापन गर्ने स्पष्ट मापदण्ड नखुलाएको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा आरोप पत्रमा उल्लेख भएअनुसार कंसाकारले सार्वजनिक खरिद ऐनले निर्धारण गरेका कार्यविधि विपरीत र पुस्ट्याइँको आधार बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाएर बढी लागत अनुमान तयार गरेको उल्लेख छ । त्यसैगरी उनले प्रस्ताव कागजातको अनुरोध पत्र विपरीत मूल्य वृद्धिको सर्त समावेश कम्पनी एएआर कर्पोरेसन सशर्त प्रस्तावलाई अपारदर्शी रूपमा स्वीकार गरी गरेको आरोपपत्रमा उल्लेख छ ।

 ‘कंसाकारले मालसामान खरिदमा परिकल्पनामा नै नगरेको वार्ताको माध्यमबाट प्रस्तावदाताको स्वार्थ अनुकूल सम्झौताका सम्पूर्ण सर्तहरू तय गराई त्यस्ता सर्तहरूलाई सम्झौता पत्र र बिक्री र खरिद सम्झौतामा समावेश गराएको देखिन्छ,’ आरोपपत्रमा भनिएको छ,‘ प्रस्तावदाताका प्रतिनिधिसँगको मिलेमतोमा विमानको प्रमुख प्राविधिक विशिष्टता, भारवहन क्षमतालाई घटाएर विमानलाई लामो दुरीको ननस्टप उडान गर्न असक्षम बनाई रकम भुक्तानी गरेको देखियो ।’ 

कंसाकारले प्रस्तावदाताले प्रस्ताव गरेको भारबहन क्षमता २४२ टनको मूल्य नै भुक्तानी गरी/गराएको आपूर्तिकर्ताका प्रतिनिधिसँगको मिलेमतोमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा भुक्तानी दिलाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । 

उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ) र (ञ) बमोजिम कैद जरिवाना र कैद सजायको मागदावी लिएको छ । कंसाकारले निगमको तत्कालीन महाप्रबन्धक (कार्यकारी प्रमुख) एवं सञ्चालक सदस्यको पदमा रही भ्रष्टाचार गरेका भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गत थप सजायको मागदाबीसमेत लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप