सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णालीमा भागबण्डाको लफडा

यामलालले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न खाेजेको माओवादीको आरोप

सामाजिक विकास मन्त्रालय नछोड्ने एमाले–माओवादीको अडान
मङ्गलबार, २७ चैत २०८०, १९ : ४१
मङ्गलबार, २७ चैत २०८०

सुर्खेत । मंगलबार कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेपनि सत्तारुढ दल माओवादी उनको व्यवहारदेखि दिक्क भएको छ । कँडेलले आफ्नो अडानबाट टसमस नभई अन्ततः माओवादीकै समर्थनमा मुख्यमन्त्री बने । तर, भागबण्डामा विषयमा कँडेलको व्यवहारबाट वाक्क बनिसकेको माओवादीका एक नेताले रातोपाटीलाई बताए । माओवादी मुख्यमन्त्री नियुक्त हुनु पहिला नै मन्त्रालय भागबण्डाको टुङ्गो लगाउन चाहन्थ्यो । पाँच दिनसम्म पनि कँडेलले भागबण्डाको टुङ्गो लगाउनुको साटो मुख्य मन्त्रालयमा दाबी गरेर अड्को थापेको ती नेताले बताए । 

‘भागबण्डा टुङ्गिएको छैन, मुख्यमन्त्री हुनेलाई भागबण्डा टुङ्ग्याउन परेको छैन, चिन्ता छैन,’माओवादीका एक जिम्मेवार नेताले रातोपाटीसँग भने, ‘उहाँ यामलाल जीले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न भनेजस्तै गरिरहनु भएको छ । मुख्यमन्त्रीले मिलाउनुपर्ने हैन र ? हाम्रो मुख्यमन्त्री हुँदा त एउटा कृषि मन्त्रालय मात्रै लिएर गएको हैन ? उहाँलाई सबै मन्त्रालय चाहिएको छ अनि भागबण्डा कसरी मिल्छ ? उहाँले त यसअघिको पनि नजिर र इतिहास बुझ्न पर्ने हो, मुख्यमन्त्रीले त मन्त्रालय दाबी गर्ने कुरा हैन नि ?’ 

भागबण्डाको कुरा माओवादीले नभई यामलाल जी आफैँले अड्काइरहेको ती नेताले दाबी गरे । 

माओवादीका प्रदेश अध्यक्ष विमला केसीका अनुसार सामाजिक विकास मन्त्रालयमा समस्या देखिएको छ । ‘उहाँले पनि सामाजिक विकास मन्त्रालय छोड्न चाहनु भएको छैन, हामीले पनि छाड्न चाहेका छैनौँ,’उनले रातोपाटीसँग भनिन् । 

माओवादीले अर्थ, सामाजिक, जलस्रोत तथा ऊर्जा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन चाहेको छ । त्यस बाहेकका आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार तथा सहरी विकास र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय एमालेलाई दिने गरी छलफल चलेको छ । तर, मुख्यमन्त्री कँडेलले भने सामाजिक विकास मन्त्रालयले आफूले पाउनुपर्ने भन्दै अड्को थाप्ने काम गरिरहेका छन् । सामाजिक विकास मन्त्रालय अरू भन्दा महत्त्वपूर्ण मन्त्रालय हो ।

मंगलबार दिनभर छलफल चल्दा पनि कँडेल सामाजिक विकास मन्त्रालय छोड्न तयार नभएपछि भागबण्डाको टुङ्गो लाग्न नसकेको हो । 

‘उहाँलाई आफूलाई चाहिएको मन्त्रालय हुनैपर्ने, जो मुख्यमन्त्री हुनुपर्ने छ ऊ टसमस नहुने अनि हामीले छोड्दिन पर्ने,’माओवादीका एक नेताले प्रश्न गरे, ‘सबै छाड्न पर्ने भएपछि त यो तरिकाले सहकार्य निकै गाह्रो हुने देखियो नि ! बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै उहाँहरूको छाँटगाँठ राम्रो छैन ।’ यामलालले गठबन्धनभित्र अहिले सुल्टो वातावरण सिर्जना नगरी उल्टो तरिकाले अगाडि बढ्न खोजी रहेको माओवादीको आरोप छ । मंगलबार दिनभर भागबण्डाको टुङ्गो नलागेपछि बुधबार छलफल गर्ने गरी मुख्यमन्त्री नियुक्तको प्रक्रिया तिर लागेको माओवादी नेताले बताए । 

एमाले संसदीय दलका प्रमुख सचेतक रणसिंह परियार भागबण्डामा टुङ्गो नलागेसम्म माओवादी सरकारमा नजाने बताउँछन् । ‘यही तरिकाले हो भने माओवादी सरकारमा जानुको अर्थ छैन, पहिला भागबण्डाको टुङ्गो लगाउनुपर्छ, त्यसपछि मात्रै सरकारमा जाने कुरा छ,’उनले भने । 

भागबण्डाको कुरा नमिल्दा नै मंगलबार माओवादीले मन्त्री पठाएन । बुधबार पनि कँडेल उक्त अडानबाट टसमस नभए माओवादी सरकारमा नजाने अर्का एक नेताले बताए ।

तर, यता एमालेका नेताहरू भने छलफल सकारात्मक रहेको प्रतिक्रिया दिन्छन् । एमाले प्रदेश इन्चार्ज लेखराज भट्ट भागबण्डाको विषयमा बुधबार बिहान छलफल हुने र नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहणअघि टुङ्गोमा पुर्‍याइने बताउँछन् । नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार दिउँसो तीन बजेका लागि राखिएको छ । ‘उहाँहरूको तर्फबाट को पठाउने, कुन मन्त्रालय लिने भन्ने विषयमा भोली छलफल गर्छौँ,’उनले भने, ‘सकारात्मक रूपमा अघि बढ्छौँ ।’ उनले माओवादी सरकारमा जाने–नजाने कुरामा अहिले केही नभएको भन्दै क्रमशः मिल्दै जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप