सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

बल्ल पूरा भयो मुख्यमन्त्री बन्ने यामलालको सपना

यस्तो छ उनको राजनीतिक जीवन
मङ्गलबार, २७ चैत २०८०, १८ : ०१
मङ्गलबार, २७ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका प्रभावशाली नेता कँडेल कर्णालीको चौथो मुख्यमन्त्री हुन् । कँडेल एमालेभित्र इमानदार र सच्चा कम्युनिस्ट आचरण भएका नेतामा पर्दछन् ।

०१८ कात्तिक २५ गते दैलेखको साविक सेरी गाविसमा जन्मिएका कँडेलको परिवार पछि वीरेन्द्रनगर झ¥यो । अहिले वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेल पटक–पटकको प्रयासपछि बल्ल मुख्यमन्त्री बन्न सफल भएका हुन् । उनका तीन छोरी छन् । मनिराम कँडेल र भागिरथी कँडेलको छोरा यामलाल जनतामा निकै लोकप्रिय छन् ।

०३६ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका उनी सोही वर्ष सुर्खेतको दशरथपुरमा भएको किसान आन्दोलनमा सहभागी भए । उक्त आन्दोलनमा ४ जनाले सहादत प्राप्त गरेका थिए । उनी त्यतिबेला शिखर मावि दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए ।

पछि ०४० सालमा काठमाडौँको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेका उनी नेविसंघका तत्काली उम्मेदवार हृदयराम थानीसँग पराजित भएका थिए । थानी पनि कँडेलकै गृहनगर वीरेन्द्रनगरका हुन् । थानी–कँडेलको प्रतिस्पर्धा त्यहाँबाट सुरु भई ०७० सालको संविधानसभा निर्वाचनसम्मै कायम रह्यो ।

०७४ पछि कँडेल प्रदेश सभातिर झरे भने थानी केन्द्रमा लडेपछि उनीहरूबिचको प्रतिस्पर्धामा ‘ब्रेक’ लाग्यो । राजनीतिक यात्राकै क्रममा ०४२/०४३ सालमा कँडेलले ९ महिना बन्दी जीवनसमेत बिताउनु परेको छ ।

०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील भएका कँडेल २०४९ सालमा सुर्खेत जिल्ला नेकपा (एमाले) को प्रथम अधिवेशनबाट सचिव बने । ०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका उनले मेयर पदबाट राजीनामा दिई ०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग प्रतिस्पर्धा गरे ।

उनी थानीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । यता पार्टीमा पनि उनले आफूलाई विकास गर्दै लगिरहेका थिए । कँडेल बिस्तारै सुर्खेतको राजनीतिमा हाबी हुँदै गए ।

०५१ सालमा एमालेको भेरी अञ्चल सचिव हुँदै ०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको नेकपा मालेमा सामेल भए उनी । त्यही बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका कँडेल संसदीय र पार्टी दुवै राजनीतिमा अब्बल बन्दै गए ।

०५६ को संसदीय निर्वाचनमा मालेको तर्फबाट उम्मेदवार बनेका उनी सुर्खेत—२ बाट कांग्रेसका थानीसँगै पराजित भए । उनी ०६४ सालमा एमालेको तर्फबाट सुर्खेत–२ बाट संविधान सभा सदस्य निर्वाचित भए । ०७० मा पनि सोही क्षेत्रबाट लडेका उनी कांगे्रसका हृदयराम थानीसँग पराजित भए । त्यो बेला एमालेकै शिव उपाध्याय बागी उम्मेदवार बनेपछि उनलाई घाटा लागेको थियो ।

पार्टीभित्रकै अन्तर्घातका कारण पराजित भएका उनी देशमा संघीयता लागु भएपछि प्रदेशमा चुनाव लड्न थाले । केन्द्रीय राजनीतिमै स्थापित भइसकेका कँडेल प्रदेश बनाउनुपर्छ भनेर प्रदेश सभामा झरेका थिए । कँडेलले कर्णाली प्रदेश स्थापनार्थ योगदान दिएका छन् ।   

पार्टीभित्र उनी एमाले केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ०७८ मा पार्टीको १० औँ महाधिवेशनदेखि स्थायी कमिटी सदस्य छन् । एमाले कर्णालीको इन्चार्ज समेत रहिसकेका उनी हाल स्थायी कमिटी सदस्य र दैलेख इञ्चार्जको जिम्मेवारीमा छन् । एमाले र माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइञ्चार्ज, स्थायी कमिटी सदस्य थिए कँडेल । अहिले पनि उनी एमाले कर्णालीको राजनीतिका शक्तिशाली पात्र हुन् ।

०७४ मा प्रदेश सभामा झरेका उनी पार्टी केन्द्रको असहयोगका कारण मुख्यमन्त्री हुन पाएनन् । त्यो बेला एमाले–माओवादी बिचको समीकरणले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । २० सिट जितेको एमालेसँग बहुमतका लागि १ सिट अपुग थियो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सिट आवश्यक थियो । केन्द्रबाटै कर्णाली माओवादीको भागमा पर्दा कँडेलसामु महेन्द्रलाई स्वीकार्नु बाहेक विकल्प थिएन ।

पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने भनेका थिए तर त्यसो हुन सकेन ।

०७७ असोज २४ मा मुख्यमन्त्री शाहीविरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए । तर उनी सफल हुन सकेनन् । त्यो बेला कँडेलले पूर्व माओवादी सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट, पुष्पा घर्तीको समेत हस्ताक्षर सङ्कलन गरेका थिए । कर्णालीभित्रको कचिङ्गलकै कारण ०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पुनः ०७८ वैशाख १ मा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारविरुद्ध दोस्रो पटक उनले अविश्वासको प्रस्ताव ल्याए । तर माधव नेपाल समूहका प्रकाश ज्वाला लगायत चार जनाले एमालेमा विद्रोह गरेपछि तेस्रो पटक पनि उनको मुख्यमन्त्री बन्ने सपना तुहियो । त्यो बेला नेकपा विभाजनदेखि एमाले विभाजनको कारक कर्णाली बनेको थियो । त्यसको हिलो कँडेलमाथि पनि छ्याप्ने गरिएको छ ।

प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गने अवसर पाउँदासमेत कँडेल प्रतिपक्षको कुर्सीमा बस्न विवश भएका थिए । कँडेल पुनः मुख्यमन्त्री बन्ने उद्देश्यसहित ०७९ को आम निर्वाचनमा प्रदेशमै बसे । आफूभन्दा जुनियर नेतालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर प्रदेश सभामै चुनाव लडेका उनी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै विजयी भए ।

कार्तिक १८ मा कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कर्णालीको भावी मुख्यमन्त्रीमा आफूलाई प्रस्तुत गरिसकेका थिए । तर त्यो बेला कांग्रेस–माओवादीबिच समीकरण भएकाले उनी मुख्यमन्त्री हुने सम्भावना थिएन । ०७९ पुस १० मा राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणले कँडेललाई आशाको दियो जगाइदियो । कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने लाइनबाट ‘रिङ आउट’ हुँदा कँडेल त्यो लाइनमा भित्रिए । उनी संसदीय दलको नेता पनि बने । तर पार्टी केन्द्रबाट सहयोग नपाउँदा चौथो पटक पनि उनलाई मुख्यमन्त्री बन्ने सपनामा धक्का लाग्न पुग्यो ।

एमाले प्रदेश कमिटीदेखि जिल्ला कमिटीका नेताहरू उनलाई मुख्यमन्त्री बनाउन बालकोटमा पनि पुगे । तर केन्द्रीय समीकरणको बैठकले कँडेलको सपनामा फेरि ‘ब्रेक’ लाग्यो । दुई वर्षपछि मुख्यमन्त्री बन्ने भागबण्डा लगाइ उनी माओवादीका राजकुमार शर्मालाई मुख्यमन्त्री मान्न तयार भए । तर पछि पुनः कांग्रेस–माओवादीको गठबन्धन बिउँतियो । ०८० फागुनमा पुनः केन्द्रमा गठबन्धन भत्किई एमाले–माओवादी लगायत दलहरूको गठबन्धन बनेसँगै यामलाल मुख्यमन्त्री बन्ने बाटो खुल्यो । अहिले केन्द्रीय गठबन्धनले पनि उनलाई नै मुख्यमन्त्री बन्ने ढोका खोलिदियो र उनी माओवादीको समर्थनमा कर्णालीको चौथो मुख्यमन्त्री बनेका छन् ।

कँडेलले एमालेसँग कर्णाली बनाउने भिजन भएको बताउँदै आएका छन् । यसअघि माओवादी र कांग्रेसले कर्णालीमा कुनै आशा जगाउन नसकेको बताउँदै आएका कँडेलसामु चुनौतीका चाङ छन् । कँडेलसँग भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा र बेलायत जस्ता देश भ्रमण गरेको अनुभव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप