शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको बैठक

आइतबार, ०२ वैशाख २०८१, १४ : २४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । जेठ २८ गतेदेखि हुन गइरहेको महाधिवेशनबारे छलफल गर्न बैठक बसिरहेको सो पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए । ‘प्रदेशबाट संगठित सदस्यहरुको नाम पार्टी कार्यालयमा प्राप्त भएको छ, बैठकमा त्यसमाथि छलफल गरी अन्तिम रुप दिइने छ’ उनले भने ।

‘महाधिवेशन घोषणापत्र, पार्टीको नीति तथा कार्यक्रम र राजनीति प्रतिवेदनको पनि मस्यौदा तयार भएको छ, सो मस्यौदामाथि पनि छलफल हुने उनले बताए । राजनीतिक प्रतिवेदनको मस्यौदा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको छ भने पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा नीति तथा कार्यक्रमको मस्यौदा तयार भएको बताइएको छ ।

वरिष्ठ नेता श्रेष्ठले तयार पारेको प्रतिवेदनले पार्टीका पाँचवटा मुख्य कार्यभार तय गरेको छ । आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रममा वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेटिएको छ ।

पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकताको विषयलाई पनि मुख्य कार्यभारका रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको जसपाले जनाएको छ । यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनि अर्को मुख्य कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको सो पार्टीले जनाएको छ ।

पार्टीका कार्यालय सचिव सीपी सिंहले संगठित सदस्यको नामावली लगभग आइसकेको बताए । संगठित सदस्यको नाम आइसकेपछि प्रतिनिधि चयन गर्ने कार्य सुरु हुने उनले बताए । संगठित सदस्यको नाम तय भइसकेपछि महाधिवेशन प्रतिनिधि चयन गर्ने काम तत्कालै सुरु हुने उनले बताए । महाधिवेशनका लागि एकहजार प्रतिनिधि चयन गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप