बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले

बिहीबार, ३२ असार २०८३, २२ : ००
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । आज मिति २०८३ साल साउन महिनाको ३२ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमको सँगालो रातोपाटी ब्रिफिङमा सधैँझैँ आज पनि हामी १० बजे १० समाचार लिएर हाजिर भएका छौँ-

१. बहसपत्र तयार

संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन पेश गरेको हो।

२. एक्लिँदै एमाले

एक वर्षअघिसम्म नेपाली राजनीतिमा शक्तिशाली रहेको नेकपा एमाले पछिल्ला दिनमा एकपछि अर्को गर्दै एक्लिँदै गएको छ ।

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गरेसँगै नेपालको राजनीतिमा एमालेको एक्लो यात्राको क्रम सुरु भएको हो । यद्यपि प्रदेशमा एमाले र कांग्रेसको सहकार्य रहँदै आएको थियो ।

३. गेम चेन्जर निर्णय

अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात क्षमता १ हजार ५ सय ३० र निर्यात क्षमता १ हजार ८ सय ५० मेगावाट पुर्‍याउने गरी नेपाल र भारतबिच सहमति भएको छ ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३ औं बैठकमा यस्तो सहमति भएको हो ।

४. प्रदेश राजनीति

एमाले र कांग्रेसको गठबन्धनमा समस्या उत्पन्न भएसँगै प्रदेश सरकारमा हलचल भएका छन् । यसबारे आज दिनभरका समाचारहरु हेर्नुहोस्

५. मुद्दा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सरकारले प्रचलित कानुन र मापदण्ड मिचेर गैरकानुनी रूपमा कार्यकारी अध्यक्ष नियुक्त गरेको दाबी गर्दै  निगमको संचालक समिति सदस्य समेत रहेका उपेन्द्र बहादुर कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

६. सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत

सम्पत्ति छानबिन आयोग, २०८३ ले आफ्नो मातहतमा सञ्चालन भइरहेका सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण कार्यहरू हाललाई स्थगित गरेको छ । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछि आयोगले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै प्रक्रिया रोकेको जानकारी दिएको हो ।

यसअघि आयोगले गत असार २९ गते पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जबाफदेहीको पदमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गर्ने भन्दै सूचना जारी गरेको थियो । तर, मनिराम उपाध्यायले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत बुधबार सबै काम रोक्न अन्तरिम आदेश जारी गरेसँगै आयोगले नयाँ निर्णय गरेको हो ।

७. मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र सुभी अग्रवालसहित अन्य व्यक्ति र कम्पनीविरुद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ ।

विभागको अनुसन्धान प्रतिवेदनको आधारमा विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । त्यस्तै, एमाले नेता विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।

त्यस्तै, सुभी अग्रवाललाई १३ करोड ३३ लाख ५६ हजार १३६ रुपैयाँ बिगो दाबी कायम भएको छ । साथै हिमालयन एसेट म्यानेजमेन्टलाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी कायम गरेर मुद्दा दायर भएको छ ।

८. मन्त्रिपरिषद् निर्णय

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले नागरिकका तात्कालिक समस्या सम्बोधन गर्नेदेखि वैदेशिक अनुदान सहायता स्वीकार गर्नेसम्मका सातवटा मुख्य निर्णयहरू सार्वजनिक गरेको हो।

बैठकले देशमा लामो समयदेखि जटिल बन्दै गएको अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्नका लागि एक वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्। यो टोलीले पीडित पक्षसँग प्रत्यक्ष वार्ता गरी समस्या समाधानको बाटो खोज्नेछ।

९. मिटरब्याज समस्या

काठमाडौँ आइपुगेका मिटरब्याज पीडितका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबिच छलफल सुरु भएको छ ।

जनकपुरबाट पैदल यात्रा सुरु गरी बाराको निजगढ आइपुगेका पीडितहरू सरकारसँग वार्ता गर्न सहमत भएपछि आज साँझ हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेका हुन् ।

१०. कित्ताकाट

जग्गाको वर्गीकरण पूरा नगरेका मुलुकभरका ४०५ वटा स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिने भएको छ । भूउपयोग नियमावली अनुसार असार मसान्तसम्ममा भूमिको वर्गीकरण सम्पन्न नगरेका पालिकाहरूमा शुक्रबार ९साउन १ गते० देखि जग्गा कित्ताकाट स्वतः बन्द हुन लागेको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप