सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बलिया टोलीबिचको भिडन्त

आईपीएलमा आज : पहिलो स्थानमा उक्लने दाउमा राजस्थान र कोलकाता

मङ्गलबार, ०४ वैशाख २०८१, ११ : ५२
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दुई बलिया टोलीबिच भिडन्त हुँदैछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलको यो ३१औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजस्थान रोयल्स १० अंकसहित तालिकाको पहिलो र कोलकाता नाइट राइडर्स आठ अंकसहित दोस्रो स्थानमा छन् ।

मंगलबारको खेलमा विजयी हुने टोली तालिकाको पहिलो स्थानमा उक्लने छ । राजस्थान रोयल्सको यो सातौँ खेल हो । राजस्थान रोयल्स यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा विजयी भएको छ । एक खेलमा भने राजस्थान पराजित भएको छ ।

राजस्थानले आफ्नो पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई २० रनले, दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले, तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको थियो ।

लगातार चार खेलमा जित हात पारेपछि राजस्थान रोयल्स पाँचौँ खेलमा आएर पराजित भएको थियो । राजस्थानलाई पाँचौँ खेलमा गुजरात टाइटन्सले तीन विकेटले हराएको थियो । छैटौँ खेलमा राजस्थानले पुनः आफ्नो विजययात्रलाई निरन्तरता दिँदै पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सको भने यो छैटौँ खेल हो । कोलकाता यसअघि खेलिएको पाँचमध्ये चार खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । कोलकाताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले हराएको थियो ।

कोलकाताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो । कोलकाता चौथो खेलमा चेन्नई सुपर किङ्ससँग सात विकेटले हारेको थियो । कोलकाताले पाँचौँ खेलमा लखनउलाई आठ विकेटले हराएको थियो ।

तालिकामा राजस्थानसँग दुई अंकले पछाडि परे पनि नेट रनरेटमा भने कोलकाता अगाडि देखिन्छ । त्यसैले मंगलबारको खेलमा राजस्थान रोयल्सलाई हराउन सफल भएमा कोलकाता नाइट राइडर्स तालिकाको पहिलो स्थानमा उक्लने छ ।

हेड टु हेडमा एक जितको अन्तर

इन्डियन प्रिमियर लिगमा हालसम्म कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच कुल २८ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा कोलकाताले राजस्थानलाई हराएको छ । १३ खेलमा राजस्थनले कोलकातालाई पराजित गरेको छ ।

यी दुई टोलीबिच खेलिएको एक खेल भने अनिर्णित रुपमा सकिएको छ । कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा यी दुई टोलीबिच हालसम्म कुल १० खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा कोलकाता र तीन खेलमा राजस्थान विजयी भएका छन् । एक खेल अनिर्णित रुपमा सकिएको थियो ।

कोलकाताको सर्वाधिक रन फिल साल्टको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा कोलकाताले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । फिल साल्ट कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । विकेटकिपर ब्याट्सम्यान साल्टले यसअघि खेलिएका पाँच खेलमा कुल एक सय ९१ रन बनाइसकेका छन् ।

कोलकाताका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सुनिल नारिन दोस्रो स्थानमा रहेका छन् । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने वैभव अरोडा हुन् । उनले हालसम्म टोलीका लागि केवल तीन खेल खेल्दै ६ विकेट लिइसकेका छन् ।

राजस्थानलाई पराग र चहलको भर

आईपीएलको १७औँ संस्करणमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने खेलाडी रियान पराग हुन् । मध्यक्रमका ब्याट्सम्यान परागले हालसम्म टोलीका लागि ६ खेल खेल्दै कुल दुई सय ८४ रन बनाइसकेका छन् ।

पराग जारी आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि दोस्रो स्थानमा छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने वैगलुरुका विराट कोहली हुन् । उनले सात खेलमा तीन सय ६१ खेल बनाइसकेका छन् ।

१७औँ संस्करणमा राजस्थान रोयल्सका लागि सर्वाधिक विकेट लिने बलर भने युजवेन्द्र चहल हुन् । चहलले हालसम्म ६ खेल खेल्दै कुल ११ विकेट लिइसकेका छन् । उनी जारी सिजनको आईपीएलमै हालसम्म सर्वाधिक विकेट लिने बलर पनि हुन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

कोलकाता र राजस्थानबिच मंगलबारको खेल हुने इडेन गार्डेन्स स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । खेलको अन्त्यतिर यो पिचले स्पिन बलरलाई पनि केही हदसम्म सहयोग पु¥याउन सक्छ । इडेन गार्डेन्स स्टेडियममा हालसम्म आईपीएलको कुल ८८ खेल खेलिसकिएको छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ । जवाफी ब्याटिङ गर्ने टोलीले भने ५२ खेलमा सफलता हात पारेको छ । यो स्टेडियममा बनेको उच्च स्कोर चार विकेट गुमाएर २३५ रन हो । अघिल्लो सिजनको आईपीएलमा कोलकाताविरुद्ध चेन्नईले उक्त रन बनाएको थियो ।

चर्को गर्मीबिच खेल

राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन मंगलबार कोलकातामा चर्को गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाको कुनै सम्भावना नरहेको पनि बताइएको छ । मंगलबार कोलकाताको तापक्रम २७ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने छ ।

सम्भावित टोली

कोलकाता नाइट राइडर्स - श्रेयस ऐयर (कप्तान), सुनिल नारिन, वेंकटेस ऐयर, अंगकृष रघुवंशी, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा, वरुण चक्रवर्ती र हर्षित राणा रहेका छन् । इम्प्याक्ट प्लेयर : रिंकु सिंह ।

राजस्थान रोयल्स -  संजु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, रोभमन पावेल, तनुष कोटियन वा रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, केशव महाहराज, कुलदीप सेन र आवेश खान रहेका छन् । इम्प्याक्ट प्लेयर : नवदीप सैनी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप