मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

थपियो ८६ अर्ब सार्वजनिक ऋण, चैत मसान्तसम्म सरकारमाथि २३ खर्ब ८५ अर्ब भुक्तानी दायित्व

सरकारमाथि ऋण लिएर चालु खर्च चलाएको आरोप
मङ्गलबार, ०४ वैशाख २०८१, १२ : १९
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । बढ्दो सार्वजनिक ऋणको दबाबमा सरकार झन्–झन् च्यापिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा मुलुकको सार्वजनिक ऋणको आकार बढेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋणको अनुपात हेर्दा आन्तरिक र बाह्य करिब ५०/५० (आधाआधा) कै स्थितिमा रहेकोमा कुल ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४४ प्रतिशत हाराहारी छ । बजेटसँग तुलना गर्ने हो भने सार्वजनिक ऋणको आकार मुलुकको वार्षिक बजेट भन्दा १.३६ गुणाले बढी छ ।

चालु आर्थिक वर्षको ९ महिनामा मात्र सार्वजनिक ऋणको सावाँब्याज भुक्तानीमा २ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नु परेको अवस्थामा अब सरकारले वार्षिक रूपमा ऋणको दायित्वकै लागि ३ खर्बभन्दा बढी बजेट छुट्याउनुपर्ने अवस्था आएको छ ।

यसले विकास निर्माणभन्दा पनि मुलुकको शक्ति ऋण भुक्तानीमा केन्द्रित गर्नुपर्ने स्थिति बनेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहेका छन् । सार्वजनिक ऋण बढे अनुसार विकास निर्माणको गतिविधि खासै हुन सकिरहेको छैन । मुलुक भुक्तानी दायित्वमा फसेको जिकिर गर्दै निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले पूर्व सरकारहरूले आवश्यकता र औचित्यका आधारमा नभई जथाभाबी ऋण लिनाले समस्या परेको बताए ।

ठुला आयोजना तथा परियोजनाको नाममा पूर्व सरकारहरूले अनावश्यक आर्थिक सहायता लिइदिँदा सरकारमाथि दीर्घ आर्थिक भार परेको उनको भनाइ छ ।

पछिल्लो दशक (२०७० यता) मुलुकको सार्वजनिक ऋणको आकार ३३१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७०/७१ सम्म कुल ५ खर्ब ५३ अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको ऋणको आकार चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा बढेर २३ खर्ब ८५ अर्ब माथि पुगेको छ ।

  • ९ महिनामा २ खर्ब ९ अर्ब भुक्तानी !

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनामा मात्र सार्वजनिक ऋणको सावाँब्याज बापत २ खर्ब ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

आन्तरिकतर्फ १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ र बाह्यतर्फ ३३ अर्ब ७४ करोड भुक्तानी गरेको सरकारले ब्याजका लागि मात्र ५६ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा सरकारले १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ सावाँ घटाएको छ ।

  • ऋण प्राप्ति

यस्तै ऋण व्यवस्थापन कार्यालयका अनुसार यसै अवधिमा सरकारले आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ ऋण सापटीसमेत लिएको छ ।

चैत मसान्तसम्म १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले बाह्य दातृ निकायहरूबाट ६२ अर्ब ९३ करोड आर्थिक सहायता (ऋण) लिएको छ । तथापि, चालु आर्थिक वर्षको चैत मसान्तसम्म पुँजीगत खर्च ९७ अर्ब ३७ करोड रुपैयाँ हाराहारी मात्र भएको छ । आर्थिक वर्षका लागि पुँजीगत खर्च (विकास खर्च) का लागि जम्मा ३ खर्ब रुपैयाँ छुट्याउँदा पनि करिब ३२ प्रतिशतमात्र खर्च गर्न सकेको सरकारले २ खर्बभन्दा बढीको ऋण केका लागि लिइरहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

समीक्षा अवधिमा लक्षित राजस्वको ५२ प्रतिशत अर्थात् ७ खर्ब ७४ अर्ब मात्र उठाउन सकिरहेको अवस्थामा बजेट खर्च ९ खर्ब १४ अर्ब बढी गरेको छ । यही घाटाको बजेट पूर्ति गर्न र नियमित (चालु खर्च) चलाउनकै लागि सरकारले ऋण लिइरहेको आरोप लागेको छ ।

loan-payment

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप