मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०४ वैशाख २०८१, २१ : ४२
मङ्गलबार, ०४ वैशाख २०८१

आज २०८१ वैशाख ४ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

  • सुप्रिम सहकारी ठगी प्रकरण

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेको नाममा २०७७ चैत १८ मा २ करोड ऋण लिइएको हो ।  रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।

  • सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

  • उजुरी तामेलीमा

नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ । साथै प्रहरीले प्रमाण पुगेका बखत मात्र कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको छ ।

  • यादवले पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् । 

  • ‘समयको महत्त्व’ को पाठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो काम गर्ने शैलीका कारण बेला–बेला चर्चामा आउने गर्छन् । कहिले मन्त्री पदमा हुँदा सार्वजनिक बस चढेर आवतजावत गर्ने, कहिले प्रहरीलाई ध्यान योग सिकाउने त कहिले तोकिएको समयमा बैठक सुरु नगरेपछि बहिष्कार गरेर हिँड्ने जस्ता कामबाट उनी चर्चामा आउने गरेका छन् । 

  • शुक्रकीट भण्डारण

ढिलो विवाह गर्ने, वैदेशिक रोजगारीमा जाने, वंशाणुगत रोगजस्ता कारणले निःसन्तान हुने समस्या बढ्दै गएको छ । यो समस्या समाधान गर्नका लागि चिकित्सा क्षेत्रमा ‘शुक्रकीट भण्डारण’ प्रविधि उपयोगी हुने देखिएको छ ।

  • आयोजनामा अवरोध

स्थानीय बासिन्दाको माग देखेर परियोजना निर्माणमा खटिएका इन्जिनियर, श्रमिक मात्रै नभएर सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत आजित बनिसकेको छ । तर आयोजना अघि बढाउनका लागि स्थानीयसँगको सहकार्य आवश्यक छ । स्थानीय बासिन्दाले विश्वमा कतै नमागिने सुरुङमार्ग माथि पर्ने जग्गाको मुआब्जा समेत मागेर दुःख दिएको सबैजसो सरोकारवालाको बुझाइ छ ।

  • सार्वजनिक ऋण

बढ्दो सार्वजनिक ऋणको दबाबमा सरकार झन्–झन् च्यापिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा मुलुकको सार्वजनिक ऋणको आकार बढेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋणको अनुपात हेर्दा आन्तरिक र बाह्य करिब ५०/५० (आधाआधा) कै स्थितिमा रहेकोमा कुल ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४४ प्रतिशत हाराहारी छ । बजेटसँग तुलना गर्ने हो भने सार्वजनिक ऋणको आकार मुलुकको वार्षिक बजेट भन्दा १.३६ गुणाले बढी छ ।

  • कांग्रेस पुन: सर्वोच्चमा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ । यसअघि अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो ।

  • बाँदरविरुद्ध ‘आक्रामक’ आरजु

प्रतिनिधि सभाको प्राकृतिक स्रोत, कृषि तथा सहकारी समिति सभापति डा. आरजु राणा देउवाले बाँदर बन्ध्याकरणका लागि बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप