मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

सुप्रिम सहकारी घोटाला  प्रकरण : दीपेश पुनसहित ३ जनाको बयान सकियो

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ०६
मङ्गलबार, ०४ वैशाख २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेका तीन जनाको आज जिल्ला अदालतमा बयान लिइएको छ । प्रहरीले पक्राउ गरेका सहकारीका अध्यक्ष ओम  गुरुङ, सहकारीका पूर्व सचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक  दुर्गा चापागाईँको बयान सकिएको जिल्ला अदालत रुपन्देहीमा सूचना अधिकारी अधिकारी अनन्त राम मरासिनीले रातोपाटीलाई बताएका हुन् । 

उनीहरूलाई सरकारी वकिल कार्यालय हुँदै अदालतमा बयान लिइएको हो ।  भोलि बिदा भएको कारणले प्रहरीले पक्राउ गरेका अन्य तीन जनाको बयान भने पर्सीमात्र लिइने उनको भनाई छ । निता थापा मगर, दीपक न्यौपाने र रोशनी गुरुङलाई पक्राउ परेका छन् ।

सोमबार ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । प्रहरीले पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ । 

उक्त मुद्दामा १ अर्ब २ करोड माग दाबी लिनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको  थियो । सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । 

तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोही आधार मुद्दा दायर गरिएको हो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेसमेतको नाम उल्खेख छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा करोडौँ रुपैयाँ आएको देखिन्छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा  गृहमन्त्रीलाई भने प्रतिवादी बनाएको छैन । ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण बापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप