मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समिति बैठक

सांसदहरूलाई ‘समयको महत्त्व’ को पाठ पढाएर हिँडे नारायणकाजी

यसअघि ओलीले डाकेको बैठकसमेत बहिष्कार गरेका थिए
मङ्गलबार, ०४ वैशाख २०८१, १६ : २४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो काम गर्ने शैलीका कारण बेला–बेला चर्चामा आउने गर्छन् । कहिले मन्त्री पदमा हुँदा सार्वजनिक बस चढेर आवतजावत गर्ने, कहिले प्रहरीलाई ध्यान योग सिकाउने त कहिले तोकिएको समयमा बैठक सुरु नगरेपछि बहिष्कार गरेर हिँड्ने जस्ता कामबाट उनी चर्चामा आउने गरेका छन् । 

मंगलबार पनि उनी सिंहदरबारमा चर्चामा रहे । कारण – निर्धारित समयमा बैठक सुरु नभएपछि संसदीय समितिको बैठकबाट कर्मचारीसहित उनी बाहिरिएका थिए । 

प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, उनीहरुले भोग्नुपरेको समस्या र सुधारका पक्षहरूबारे छलफल गर्ने कार्यसूची राखिएको थियो ।

बैठक बिहान साढे १० बजेका लागि बोलाइएको थियो । तर मन्त्री श्रेष्ठ बैठक सुरु हुने समयभन्दा २ मिनेट अघि अर्थात् १० बजेर २८ मिनेटमा बैठक कक्षमा पुगेका थिए । त्यहाँ एमाले सचेतक सुनिता बराल मात्र थिइन् । 

समिति सभापति राजकिशोर यादव मन्त्री आएको केही बेरपछि बैठक कक्षमा प्रवेश गरे । तर १० ः ४५ बजेसम्म पनि बैठक सञ्चालनका लागि आवश्यक पर्ने १४ सांसद पुगेनन् । 

त्यसपछि मन्त्री श्रेष्ठले भने, ‘मैले १५ मिनेटभन्दा बढी समय तपाईंहरुलाई कुरिसकेँ, मेरो अरुपनि काम छ, आजलाई बैठक स्थगित गर्नुस्, अहिलेलाई म हिँडे,’ भनेर मन्त्रालयका सचिव लगायतका कर्मचारी सहित समितिबाट बाहिरिए । 

सभापति यादव हेरेको हे¥यै भए । जुन विषयमा छलफलका लागि बोलाएको सरोकारवाला मन्त्री नै हिँडेपछि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भयो । 

मन्त्री गएपछि बल्ल नेमकिपा सांसद प्रेम सुवाल आइपुगे । बैठक स्थगित भएपछि समितिको हलमा जम्मा भएका केही सांसदहरू निस्किन थालिसकेका थिए । सबैभन्दा ढिलो सवा ११ बजे माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु तामाङ ‘आज बैठक नबस्ने हो र ?’ भन्दै समितिको खाली हलमा पुगेकी थिइन् । मन्त्री आएर फर्किएपछि बैठक नबसेको कर्मचारीले बताएपछि उनी पनि फर्किइन् । 

  • समयमा बैठक नराखेपछि श्रेष्ठले गरेका थिए ओलीको बैठक बहिष्कार

नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ का अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक बहिष्कार गरेर त्यतिबेला उनी चर्चामा आएका थिए । बैठक बहिष्कार गरेपछि उनलाई ओलीले ‘प्रवक्ता’ बाट हटाएर कारबाही गर्न खोजेका थिए । 

२०७५ साल मङ्सिर २२ गते अध्यक्ष ओलीले बोलाएको सचिवालय बैठक तोकिएको समयमा सुरु नभएपछि बैठक बहिष्कार गरेका थिए । तत्कालीन सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र श्रेष्ठले बैठक बहिष्कार गरेका थिए । 

बैठक बहिष्कारको भोलिपल्ट धादिङमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्धारित समयमा बैठक हुनुपर्ने र बढीमा १५ मिनेटसम्म कुर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप