शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कला

डुङ्गाभित्र नब्बे किलो सिक्का !

शनिबार, ०८ वैशाख २०८१, २० : ४५
शनिबार, ०८ वैशाख २०८१

नाफा (नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान)मा गत चैत १२ देखि १६ सम्म भएको बागमती प्रादेशिक कला प्रदर्शनीमा किसिम किसिमका कला प्रदर्शन भए । 

यसपालिको प्रदर्शनीमा अधिकांश नवयुवा र मूलधारमा प्रवेश भइनसकेका कलाकारका कला बढी मात्रामा देखिए । सबैको उल्लेख यो सानो आलेखमा सम्भव हुँदैन । यसर्थ मौलिकता र प्रयोगात्मक कलासहित देखिएका कलाकारको यहाँ चर्चा गरिनेछ । 

खासगरी रवीन्द्र श्रेष्ठ, दावा शेर्पा, टासी सलाका शेर्पा, मोहन शिवाकोटी, कृष्ण लामा, रोशन खड्का, विनय रिमाल आदिका कला अलग्ग प्रवृत्तिका थिए । यी सबैजसो कलाकार युवा कलाकार नै हुन् ।

यसबाहेक केही चित्र पनि देखिए । जसमा आशुराम खैजुको ‘दृश्यचित्र’, विनिता खड्काको ‘डुवालिटी अफ इनर्जी’, अशोकमान सिंहको ‘जातीय विभेदमा प्रेमालापको जोडी’, कृति शाहको ‘रिलाइभिङ ट्रमा फर डिकेडस्’, मोदित वज्राचार्यको ‘बाउन्ड अफ टाइम’, रवीन्द्र मानन्धरको एक अलग्ग पोस्चरमा ‘कुमारी’ (देवी कुमारी), सपना पौडेल महर्जनको ‘टेपेस्ट्री अफ म्युजिकल ग्रेस’ आदि विशेष छन् ।

यसबाहेक यस प्रदर्शनीमा प्रदर्शन भएका अन्य सबैजसो कलाहरू उहिलेदेखि देखिँदै आएको अर्र्थात् एउटै स्वभाव, शैली र प्रकृतिका छन् ।

खासगरी कलाकार रवीन्द्र, दावा, टासी, रोशन, विनय आदिका काम विशेष छन् । यी सबै कलाकार या त केयुको कला सङ्कायबाट वा टियुको कला सङ्कायबाट दीक्षित हुन् । त्यस कारण यिनीहरूले सोचेर र सम्झेर कला गरेको देखिन्छ । लामो समयदेखि एउटै थिममा काम गरेकाहरूले गर्ने कलाको स्वभाव थोरै अलग्ग देखिन्छ नै । 

  • एक्सपेरिमेन्ट कला

चौबिसै घन्टा वा महिनौँ एउटै विषयमा चिन्तन–मनन गरी बन्ने कलाहरू एक्सपेरिमेन्टल वा प्रयोगात्मक हुन्छन् । यस्ता कलाहरू मात्र भित्तामा झुन्डिने खालका हुँदैनन् । ठाउँ, वातावरण, अवस्था, मानवीय स्वभाव आदिसँग गाँसिएर इन्स्टलमेन्ट शैलीमा देखा पर्छन् । यस्ता कलाले भित्तामै झुन्डिए पनि एउटा अर्थ, गहिरो अवधारणा बोकेर आएका हुन्छन् । 

अधिकांश प्रयोगात्मक कलाहरू प्रदर्शन स्थलभन्दा पर वा बाहिर (चौर, झाडी, गोरेटो, बाटो)तिर प्रदर्शन हुने गर्छ । कतै प्राकृतिक ठाउँ छानेर पनि प्रदर्शन गरिन्छ । कलालाई यसरी पस्कने वा प्रदर्शन गर्ने चलन कलाको पछिल्लो विकसित रूप हो । 

ट्याटु कलाकार टासीको काम पनि अनौठो र पृथक् भएर देखापर्‍यो । ठुलो प्रदर्शन कक्षभन्दा अलि बाहिर एउटा अलग्ग टहरा बनाइएको थियो । चारैतिर खुला यो टहरामा परैबाट चितामाथि एउटा सग्लो लासजस्तो देखिन्थ्यो । लाससँगै झुन्डाइएका सेता कपडा, भुइँमा नोटका बन्डल, जग्गाका कागजात, गरगहना आदि देखिन्थ्यो ।

प्रयोगात्मक कला बनाउँदा कलाकारले मूलतः दुईवटा कुरा (कला सामग्री र टेक्निक)मा बढी ध्यान दिन्छन् । यसबाहेक समसामयिक विषयवस्तु, अवस्था, घटना अनि समाजमा विकसित भएको विचारलाई टिप्ने कोसिस गरिन्छ । यिने कुरा प्रयोगात्मक कलाका आधारबिन्दु हुने गर्छन् । यस कलाका अनेकौँ विशेषता छन्, खासगरी कलाको स्थापित मूलधारभन्दा नितान्त बाहिर रहेर यस्ता कला बन्ने गर्छन् । यस्ता कला प्रयोगात्मक रूपमा बनाइने हुँदा सधैँ सफल भइहाल्छ भन्ने हुँदैन, यसर्थ यसलाई ‘ट्रायल एन्ड इरर प्रोसिडर’ पनि भन्ने गरिन्छ । 

IMG_20240327_133158

मूलतः यस्ता कलाले लामो यात्रा गरिरहन्छ । कलाकारले एउटै थिममा विभिन्न ठाउँमा यस्ता कला प्रस्तुत गर्छन् । यसको सटीक र ज्वलन्त उदाहरण हो, रवीन्द्र श्रेष्ठको ‘द मेमोरिज’ नामक कला । 

यसपालि देखिएको रवीन्द्रको काम अलग्ग छ । सम्भवतः डुङ्गालाई शक्तिशाली पात्रका रूपमा उभ्याउने उनको जमर्को यो चौथोपटक हो । यसअघि उनले डुङ्गालाई पात्र बनाएर तीनपटक प्रदर्शनी गरिसकेका छन् । 

यसपालि डुङ्गा नै फरक छ । अर्को फरकपन भनेको डुङ्गाभित्र करिब ८०–९० किलो सिक्का (२५ र १० पैसाका पुराना सिक्का) राखिएका छन् । प्रदर्शन कक्षको बाहिरपट्टि अलि ठाडो गरेर राखिएको यस डुङ्गालाई उनले ४० हजारमा किनेर ल्याएका हुन्, डुङ्गालाई व्यवसायकै रूपमा चलाउँदै आएका रामबहादुरसँग । यो यमानको डुङ्गालाई टाढाबाट ल्याउनुलाई पनि रवीन्द्रले कलागत प्रक्रिया भनेका छन् । 

उनका अनुसार डुङ्गा यहाँ एउटा अब्जेक्टका रूपमा मात्र आएको छैन, यसलाई ल्याउन उनले दर्जनौँ दिन लगाएका छन्, डुङ्गा ल्याइदिएपछि रामबहादुरले के गरी खालान् भन्ने चिन्ता पनि उनलाई भएछ— आदि प्रक्रियाले उनलाई जस्तो अनुभव भएको छ, त्यसलाई पनि आफ्नो कलाको एक अभिन्न अङ्ग मान्छन् उनी । 

४० लाख रुपैयाँ मूल्य राखिएको उनको यस कलासँग एउटा पुस्ताको बाल्यकाल पनि जोडिएको छ, जसका लागि कुनै बेला १० र २५ पैसाका सिक्का महत्त्वपूर्ण थिए ।

IMG_20240327_124211

कलाकार विनय रिमालको ‘हाम्रो भाषा हाम्रो पहिचान’ नामक काम आकर्षक ढङ्गबाट प्रदर्शित थियो । यस्तै रोशनले आइस ट्युबहरूलाई बलियो पात्र बनाएर अचम्मको एउटा कला बनाए । प्रदर्शन कक्षको बाहिर घाँसको चौरमा चार–पाँचवटा ठुल्ठुला आइसका ट्युब खडा गरेजस्तो देखिन्थ्यो । चौरमा राखिएका यी आइस–ट्युबहरू उतिखेरै चर्को घाममा पग्लिएर गए । भोलिपल्टै त्यो कलाको त्यहाँ नामोनिसाना थिएन । रोशनको यस कलाको कुनै तस्बिर राखिएको छैन ।

‘जङ्गेको पिलर’ नाम दिइएको ती पिलर (आइस ट्युबहरू) घामबाट क्षणभरमै पग्लेर नामोनिसाना नभएको वा बन्न नदिएको देखिन्थ्यो । अहिले यो काम अस्तित्वमा छैन । हाम्रा देशका सिमानाका पिलर पनि रातारात गायब हुन्छन्, त्यसैको प्रतिविम्बका रूपमा यो कला बन्न गएको हो । जति रोक्न खोजे पनि तातो बढ्दै गएपछि आइसले पग्लनैपर्ने हुन्छ, त्यस्तै जतिसुकै विरोध भइरहँदा, वा कुराकानी र छलफल भइरहँदा पनि सिमानाको पिलर हराउने काम हट्न सकेको छैन । यही कन्सेप्ट नै उनको कलाको मूल आधार थियो । 

कलामा आइस ट्युबको प्रयोग हामीकहाँ सर्वप्रथम कलाकार मनीष हरिजनले सन् २०१२ तिर गरेका थिए । त्यतिबेला उनले ग्लोबल वार्मिङको मुद्दालाई उठाएका थिए । उनले अजङ्गको आइस ब्लकलाई ललितपुरको दरबार स्क्वायरमा ठुलो भिडका बिचमा प्रदर्शन गरेका थिए । यसपछि वसन्तपुरको वरिपरि आइसका ट्युबलाई घिसारेर कलाकार अस्मिना रञ्जितले पनि प्रयोग गरिन् । 

अमेरिकामा बस्दै आएका अलि पुराना पाका कलाकार ज्योति दुवाडीले पनि गएको केही वर्षअघि अमेरिकामै आफ्नो इन्स्टलेसन कलामा यो आइसको ट्युबलाई प्रयोगमा ल्याएका थिए । नेपालमा यही वस्तु (आइस)लाई समायोजन गरेर अन्य कसैले कला बनाएको अभिलेखन पाइँदैन । 

अर्का कलाकार दावाको कन्सेप्चुअल आर्टमा कामसँगै कन्सेप्टलाई लेखेर टाँस्नैपर्ने हुन्छ । त्यसैले उनले कागजमा कन्सेप्ट पनि संलग्न गरेर आयोजकलाई बुझाएका रहेछन् । आफैँले दिएको कन्सेप्ट लेखिएको कागजको टुक्रा आफ्नो चित्रसँग नदेखेपछि उनले आफैँले टाँसिदिएको रमाइलो प्रसङ्ग सुनाउँछन् । 

यस्तै, कलाकार मोहन शिवाकोटीको चित्रसँगै उनैले लेखेको कविता टाँस्नुपर्ने, आयोजकले टाँस्न बिर्सिएपछि उनले पनि आफैँ टाँसेका रहेछन् ।

रवीन्द्रको पनि गुनासो छ, उनले कलाका रूपमा ल्याएको डुङ्गालाई आयोजकले कार्यक्रमका लागि बनाइएको टेन्ट बिग्रन्छ भनी भित्रै ल्याउनै दिएनछन् । उनी आफैँले टेन्टको खम्बा निकाली डुङ्गालाई भित्र ल्याए छन् । यी प्रक्रिया पनि कलाकै एक भागजस्तै भएर देखापर्दा सर्जक, भावक अनि आयोजकबिच गहिरो खाडल रहेको महसुस हुन्छ नै । 

कलामा कवितालाई टाँसेर विचारलाई पस्कनु अब नयाँ कुरा रहेन वा विचारलाई कलासँगै राख्न (यो कलाकै एक भाग हो) पनि अब नयाँ कुरा रहेन । पहिले पहिलेका यस्ता कला प्रदर्शनीमा झमेला आउला भनेर साइजका बारेमा नियम बनाउने प्रचलन थियो । कलाकृतिको साइज सानोमा एक फिट अनि ठुलोमा ६ फिटसम्म तोकिएको हुन्थ्यो । हिजोआज यो नियम छ वा छैन थाहा छैन । भएको भए रवीन्द्रको काम भित्र पस्न पाउँदैनथ्यो । 

IMG_20240327_124202

ट्याटु कलाकार टासीको काम पनि अनौठो र पृथक् भएर देखापर्‍यो । ठुलो प्रदर्शन कक्षभन्दा अलि बाहिर एउटा अलग्ग टहरा बनाइएको थियो । चारैतिर खुला यो टहरामा परैबाट चितामाथि एउटा सग्लो लासजस्तो देखिन्थ्यो । लाससँगै झुन्डाइएका सेता कपडा, भुइँमा नोटका बन्डल, जग्गाका कागजात, गरगहना आदि देखिन्थ्यो । सिलिकन सामग्रीको प्रयोग गरेर बनाइएको मानव लास झुक्क्याउने गरी बनेको छ, दुरुस्तै । अझ नाङ्गो शरीरमाथि बनेको ट्याटुले गर्दा पनि एउटा अजीवको मानवको मृत्यु अनि जल्न तयार भएको अवस्था दृष्टिगोचर हुन्थ्यो । 

हामीकहाँ ट्याटुलाई कला नै नमान्ने सोच देखिन्छ । त्यसैको जवाफमा यस्तो कला प्रदर्शन गरेका रहेछन् । ‘मरिलानु के छ र ?’ नाम दिएको यस कलाले पैसा वा सम्पत्तिका लागि मरिहत्ते गर्ने वा भ्रष्टाचार गर्ने प्रवृत्तितर्फ सङ्केत गरेको छ । उनले यो कृतिको मूल्य १५ लाख रुपैयाँ राखेका छन् । 

प्रदर्शनीमा दावाले एउटा चित्र बनाएका थिए । खालि क्यानभासमा मात्र माटो दलेर र बगाएर बनाइएको अमूर्त आकृतिमा सौन्दर्य अनुभूत गर्न उनले भावकसँग आग्रह गरेका थिए । यो चित्र धेरै कुराबाट महत्त्वका साथ देखापर्‍यो । पानी र घामका पाएपछि माटोले उर्वर शक्ति देखाउँछ । त्यसैलाई गमेर उनले यो चित्र बनाएका रहेछन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप