मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
महाधिवेशन प्रतिनिधि परिषद् बैठक

एमालेका १३ समस्या समाधान गर्न २० कार्ययोजना

‘केन्द्रीयदेखि प्रदेश र जिल्ला तहका नेतासमेत झुण्ड निर्माणमा व्यस्त’
आइतबार, ०९ वैशाख २०८१, १३ : ११
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टी निर्माणमा देखिएका १३ वटा समस्यालाई समाधान गर्न २० बुँदे कार्ययोजना अघि सारेको छ । ललितपुरको गोदावरीमा जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको सांगठानिक प्रतिवेदनमा यस्तो कार्ययोजना अघि सारेका हुन् ।

गत २०७८ सालमा सम्पन्न विधान महाधिवेशनबाट पारित सङ्गठनात्मक प्रस्तावले पार्टी निर्माणमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै त्यसको समाधान गर्न निर्देशन दिएको थियो । तिनै समस्या समाधानका लागि एमालेले २० बुँदे कार्ययोजना अघि सारेको हो ।

एमालेले देखेका समस्यामा पार्टी नेता कार्यकर्ताहरूमा अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यताको मापदण्ड पालनमा समस्या, ठुला आकारका कमिटी सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन आयोजना र व्यवस्थापन, दक्षिणपन्थी अवसरवाद, सङ्गठनात्मक अराजकता र गुटबन्दीको अवस्था, गैर–भौगोलिक क्षेत्रका कामको संयोजनमा समस्या, पार्टी कार्यकर्ताको मूल्याङ्कन समस्या,पहिचानको मुद्दामा केन्द्रित हुने समस्या, दोहोरोपनाको समस्या, काठमाडौँ उपत्यकाको हकमा पार्टी कामको व्यवस्थापनको समस्या, परिभाषित काम र परिणाममुखी कार्यविभाजनको समस्या, जनसंगठनको प्रभावकारी कार्यविभाजन अभाव र आदर्श र व्यवहारबिच भिन्नता रहेका छन् । 

यी समस्याबाट गुज्रिरहेको पार्टी संगठनात्मक कामलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेशनले २० बुँदे कार्ययोजना अघि सारेको थियो । ती कार्ययोजनाअनुसार वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपता, राज्य संरचना सापेक्ष पार्टी संगठनको निर्माण, नीति र विधि निर्माणमा केन्द्रित महाधिवेशनको आयोजना, सकारात्मक सोच र व्यवहारको विकास रहेका छन् । 

त्यसैगरी विधिसम्मत पार्टी सञ्चालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा वृद्धि, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्ध वैचारिक सङ्घर्ष, आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी निर्माण, जनसंगठनहरूबिच घनिष्ठ सम्बन्ध, पार्टी जिवनको सिर्जनात्मक प्रयोग, असल आचरण र जीवनशैलीको विकास, जनसम्बन्ध विस्तार र विकास, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित, समग्र प्रवासको काम व्यवस्थापन, संसदीय क्षेत्र,सरकार र पार्टी कामको संयोजन एमालेको कार्ययोजनामा समेटिएका छन् । यी कामहरू गरिरहेको दाबी गरेको एमालेले अनुशासन आयोगको रिपोर्टमा भने यस विपरीतका गतिविधि मौलाएको उल्लेख छ ।

केन्द्रीय अनुशासन आयोगको रिपोर्टमा केन्द्रीय नेताहरुकै कारणले पार्टीभित्र गुटगत गतिविधि बढेको र गुटको श्रोत नै केन्द्रीय नेता रहेको उल्लेख छ । प्रतिनिधि परिषद् बैठकमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रीय नेताबाहेक प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेर गुटबन्दीलाई प्रश्रय दिएको उल्लेख छ । ‘गुटगत गतिविधिको स्रोत मुख्य गरी केन्द्रीय नेताहरू भएको देखियो’, बडालको प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको देखियो ।’

यद्यपी हालै सम्पन्न प्रदेश अधिवेशनमा नेताहरूले विचार प्रस्तुत गर्दा पार्टीको संस्थागत भावनाअनुरूप नै विचार प्रस्तुत गरेको पाइएको बडालको प्रतिवेदनले भनेको छ ।

तर, अधिवेशनका क्रममा प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने सवालमा अधिकांश प्रदेशहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रूपमा विभाजित भएको देखिएको उल्लेख छ ।

‘सार्वजनिक रूपमा गुटको विपक्षमा देखिए तापनि कतिपय नेताहरूले आन्तरिक रूपमा गुट निर्माण गर्ने र सञ्चालन गर्ने गरेको पाइयो’, बडालको प्रतिवेदनमा भनिएको छ, ‘यस्तो गुट वैचारिक नभई आत्मकेन्द्रित रूपमा भएको देखियो ।’

पार्टी संगठनात्मक कामलाई व्यवस्थित पार्न महासचिव पोखरेलको प्रतिवेदनमा २० वटा कार्ययोजना अघि सारिए पनि जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनआधारित कार्यकर्ता पार्टी निर्माणका ६ वटा समस्या पहिचान गरेका छन् । अध्यक्ष ओलीले पहिचान गरेका यी ६ वटा समस्याको समाधान गर्न प्रतिनिधि परिषद् बैठकमा सहभागीहरूको जवाफ मागिएको छ ।

१. पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षणका सम्बन्धमा

२.प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयनका सम्बन्धमा

३. कमिटी सञ्चालन,चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङ्कन

४.कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण

५.आर्थिक सामाजिक रूपान्तरण र जनचासो सम्बोधनको सवाल

६.निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा

समूहगत छलफलमा यिनै ६ वटा प्रश्नको प्रतिनिधिहरूले जवाफ दिएपछि बैठक आज आइतबार नै समापन गर्ने तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप