शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कतारका अमिरको नेपाल भ्रमणलाई सुनौलो अवसरका रूपमा लिनुपर्छ’

सोमबार, १० वैशाख २०८१, १३ : २२
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेपालको लगानी सम्मेलनअघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरूले बताएका छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलो पटक मङ्गलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने जानकारहरूको भनाइ छ । 

उनीहरूले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए । उनीहरूले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए । कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियन्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए । 

उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्ने उल्लेख गरे । उनले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताए । 

अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठुलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताए । कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्न सके धेरै फाइदा हुने बताए । उनले कतारसँग नेपालमा ३ लाख ५० हजार भन्दा बढी घरधुरी जोडिएकाले नेपाल अनकुल श्रम सम्झौता गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतार पछिल्लो दुई दशकमा जुन किसिमले विश्व सामु फिफा जस्तो फुटबलमा विश्व कप गर्न सफल भयो । कतारमा विगत २० वर्षदेखि विकासमा सहकार्य गरिरहेको हुँदा कतारसँग नेपालका पाँच लाख घरधुरीसँग जोडिएको थियो । अहिले ३ लाख ५० हजार बढी परिवारसँग जोडिएको छ । कतारका उद्योगमा काम गर्न दक्ष कामदार पठाउन सकेको भए अझ राम्रो रेमिट्यान्स आउन सक्ने थियो । नेपालीहरूको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने थियो । सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्छ ।’

उनले अगाडि भने, ‘विश्वका धेरै देशमा लगानी लगाएर सफल भएको देश हो ।  कतारलाई कुकिङ ग्यासको उत्पादनको लागि लगानी लगाउन आग्रह गर्नुपर्छ । आगामी वैशाख १६ र १७ गते गर्न लागेको नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरूलाई विश्वास दिलाउन सक्छ ।’

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए । उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए । 

उनले विपिन जोशीलाई हमासबाट उद्धारको लागि नेपाल सरकारले कूटनीतिक प्रयोग गर्ने समय आएको दाबी गरे । उनले सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्त्व दिन आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप