सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने

बुधबार, १२ वैशाख २०८१, १० : ३०
बुधबार, १२ वैशाख २०८१

पोखरा । पोखरा महानगरपालिकालाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कोइकाले दिने अनुदान स्वीकृत गरेको हो । यो निर्णयसँग अब कोइकाले पोखरालाई ९.८ मिलियन अमेरिकी डलर सहयोग गर्नेछ । यो कार्यक्रम कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोइका बिच सम्झौता भएको थियो ।

पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना गर्न कोइकाले सहयोगको घोषणा गरेको हो । गत भदौमा मेयर धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गरेका थिए । सहयोग कार्यक्रम मार्फत कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिनेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गरिने महानगरका प्रबक्ता मोति तिमिल्सिनाले बताए । दुवैपक्ष बीच ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र व्यवसाय इन्क्युवेशन सहायता प्रदान गरिनेछ । 

पोखराको फोहोर व्यवस्थापन जटिल बन्दै गैरहेको अवस्थामा कोइकाको सहयोग कोसेढुंगा हुने विश्वास लिइएको छ । 'फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्त्वपूर्ण हुनेछ । ग्रीन भेन्चर जोन स्थापना गर्न तयारी भैसकेको छ,' मेयर आचार्यले भने, ञयसका लागि उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ ।'

महानगरपालिकाले पोखरा ६ वसुन्धरा पार्कमा ५ हजार ९० वर्गमिटर क्षेत्रफल उपलब्ध गराएको थियो । तर विरोधकम कारण रोकिएको छ । अन्य परियोजनाको स्वामित्व पोखरा महानगरसँगै हुनेछ । फोहोरलाई मोहोरमा रूपान्तरण गर्नकै लागि कार्यक्रम अघि सारिएको आचार्य बताउँछन् । 'यो परियोजनाले फोहोरबाट मोहोर उत्पादन हुनेछ, युवाहरूलाई रोजगारीमा जोड्नेछ ।' अहिले पोखराको फोहोर डम्पिङ साइटमा फालिँदै आएको छ । दैनिक कति फोहोर पोखरामा उत्सर्जन हुन्छ भन्ने आधिकारिक तथ्याङ्क महानगरसँग छैन । 

विशेषगरी प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा छ । ञप्लाष्टिकको पुन प्रयोग मार्फत रोजगारीमा जोड्ने हो । घरघरमा रोजगारी सिर्जना हुन्छ,झ प्रवक्ता तिमिल्सिनाले भने, 'नकुहिने फोहोरको दीर्घकालीन समाधान हुनेछ ।' अहिले पोखराको लागि प्लाष्टिकजन्य फोहोर बढी चुनौती बनिरहेको छ । कुहिने र नकुहिने फोहोर एकैठाउँमा विसर्जन गर्दै आएको छ । प्लास्टिकबाट कोसेलीका सामान बनाउने र कोसेली घर मार्फत पोखराको चिनोका रूपमा बिक्री गर्ने योजना छ । 

यसअघि पोखराको फोहोर व्यवस्थापन गर्न १४ नम्बर वडाको बाच्छेबुडुवामा ल्याण्डफिल साइट बनाइएको थियो । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ल्याण्डफिल साइट ३२ नम्बरको लामे आहालमा सारियो । ७ महिनाभित्रै दीर्घकालीन व्यवस्थापन गर्ने भनेको पोखराले २ वर्षसम्म अव्यवस्थित रूपमा सोही ठाउँमा फोहोर फालिएको छ । ३३ नम्बर वडामा व्यवस्थित प्रशोधन केन्द्र बनाउन जग्गा खोजिएको छ । 

यद्यपि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छैन । स्थानीयले चलनचल्तीको मूल्य पाउनुपर्ने माग राखेका छन् । जग्गाको मूल्यभन्दा बढी माग गरिएको जिल्ला प्रशासन कार्यालय बताउँछ । असोजपछि मुआब्जा समितिको बैठक पनि बसेको छैन । केही स्थानीयले चाहिँ भरत पोखरीमा फोहोर फाल्न नदिने अडान लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप