आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई

बिहीबार, १३ वैशाख २०८१, १४ : ५९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको बिहीबार सम्पन्न खेलमा मधेश प्रदेशले रोमाञ्चक जित हासिल गरेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ‘सुपर ओभर’ मा हराएको हो ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम प्रदेशले पनि निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो ।

दुबै टोलीले बराबरी रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेको थियो । सुपर ओभरमा सुदूरपश्चिम प्रदेशले एक विकेट गुमाएर सात रन बनायो । मधेश प्रदेशले भने पाँच बलमै एक विकेट गुमाएर नौ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।

त्यसअघि निर्धारित ओभरको खेलमा मधेश प्रदेशका लागि रोहन बिकेले ४६ रन बनाएका थिए । उनले ४६ बलमा ६ छक्का पनि प्रहार गरे । कप्तान राहुल मण्डलले पनि २३ रन बटुले । अभिषेक तिवारीले अविजित २१ र विशाल पटेलले १४ रन बनाए ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल, नरेन साउद र हेमन्त धामीले दुई–दुई विकेट लिए । नारायण जोशीले पनि एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि वसन्त खत्रीले ३८ रन बनाएका थिए ।किरण ठगुन्नाले पनि अविजित २३ रन जोडे ।

ओपनर अभिषेक राईले टोलीको खातामा २२ रन थपेका थिए । वसन्त कार्कीले पनि १५ रन बनाए । मधेश प्रदेशका बलर रंजित कुमारले तीन र विशाल सुशलिङले दुई विकेट लिए । अभिषेक तिवारी र शम्साद मंसुरीले पनि एक–एक विकेट हात पारे । रंजित कुमार म्यान अफ दी म्याच घोषित भए ।

६ खेल खेलेको मधेशले हात पारेको यो चौथो जित हो । दुई खेलमा मधेश प्रदेश पराजित भएको छ । पाँच खेल खेलेको सुदूरपश्चिमले भोगेको यो तेस्रो हार हो । दुई खेलमा भने सुदूरपश्चिम पराजित भएको छ । आठ अंकसहित मधेश तेस्रो र चार अंकसहित सुदूरपश्चिम पाँचौँ स्थानमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप