शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

‘ब्याकअप’मा राष्ट्रपति देखाउँदै कोशीका मुख्यमन्त्री

प्रदेश प्रमुखलाई राष्ट्रपतिले कुनै निर्देशन दिन सक्छन् ?
बिहीबार, २० वैशाख २०८१, ०७ : २२
बिहीबार, २० वैशाख २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई मङ्गलबार ‘जानकारी गराएको सम्बन्धमा’ भन्दै तीन पृष्ठ लामो पत्र हस्तान्तरण गरे । उक्त पत्रको अन्तिममा ५ बुँदा निष्कर्ष निकाल्दै आफ्नो नेतृत्वको सरकार दुई वर्षसम्म हटाउन कसैले नसक्ने जिकिर गरिएको छ ।

पत्रमा प्रदेशसभाबाट गत वैशाख ७ गते पारित सङ्कल्प प्रस्ताव अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्न सक्ने कुनै संवैधानिक आधार र तर्क नरहेको उल्लेख छ । ‘.....संविधानको संरक्षकका रूपमा रहेको पदबाट गैरसंवैधानिक अभ्यासमा संलग्न गराउने गरी भएको प्रयत्नका आधारमा क्रियाशील भई दशकौँ लामो प्रयास तथा १७ हजारभन्दा बढीको बलिदानबाट प्राप्त संविधानको रक्षा तथा नेपालमा सङ्घीय गणतान्त्रिक लोकतन्त्रलाई बलियो बनाउँदै संविधानको कार्यान्वयन गर्न संवैधानिक रूपमा रहेको प्रदेश प्रमुखले अझ गम्भीर भई संविधानको मर्म एवं भावनाको संरक्षण गर्न क्रियाशील हुनुपर्ने अवस्था रहेको ब्यहोरा नेपालको संविधानको धारा १७३ बमोजिम जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।

सो पत्रमा सादर अवगतार्थ भन्दै राष्ट्रपतिको कार्यालय शीतल निवासलाई बोधार्थ दिइएको छ । प्रदेशका मुख्यमन्त्रीले कुनै पत्र वा जानकारी प्रदेश प्रमुखलाई दिने संवैधानिक मर्यादा र प्रचलन हो । तर, राष्ट्रपतिलाई बोधार्थ किन दिइन्छ ? कस्तो परिस्थितिमा दिइन्छ ? वा प्रचलन के हो भन्ने विषय नेपालमा खासै बहस भएको छैन ।

नेपालमा राष्ट्रपतिलाई मुख्यमन्त्रीले त्यस्तो जानकारी दिने संवैधानिक र कानुनी व्यवस्था छैन । राष्ट्रपतिलाई बोधार्थ दिनुको मतलब संविधानको बर्खिलाप हुने गरी प्रदेशमा कदम चालिन खोजिँदैछ है भन्ने रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बताउँछन् ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई दिएको पत्र र राष्ट्रपतिलाई बोधार्थ दिने काम नै असंवैधानिक र अलोकतान्त्रिक रहेको नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘राष्ट्रपतिलाई बोधार्थ दिनुको अर्थ संविधानको यस्ता–यस्ता धारा प्रदेशमा गलत ढङ्गले प्रयोग हुँदैछ है भनेर जानकारी दिएको हो । संविधानको पालनकर्ता र रक्षा गर्ने दायित्व राष्ट्रपतिको हुन आउँछ । प्रदेश सभाले गरेको सङ्कल्प प्रस्ताव त सच्याउनु पर्दैैन । तर, प्रदेश प्रमुखले त्यस आधारमा कदम चालेको खण्डमा राष्ट्रपतिले सच्याउनु पर्छ है भन्ने हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश प्रमुखलाई समसामयिक विषयमा जानकारी गराउने मुख्यमन्त्रीको दायित्व हो ।’

संसद्मा संविधानलाई नै संशोधन गर्ने काम हुन लाग्यो भने रोक्नु र सबैतिर जानकारी दिनु आफ्नो पनि दायित्व हुने उनको तर्क छ ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई दिएको पत्र र राष्ट्रपतिलाई बोधार्थ दिने काम नै असंवैधानिक र अलोकतान्त्रिक रहेको नेकपा एमाले कोशी प्रदेश सभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । ‘राष्ट्रपतिमार्फत प्रदेश प्रमुखलाई गैरसंवैधानिक हिसाबले दबाब दिन सक्छु भन्ने मनसाय मुख्यमन्त्रीको हुनसक्छ । राष्ट्रपति नेपाली कांग्रेसबाट निर्वाचन भएको भन्ने उहाँको कुरा होला । तर, राष्ट्रपति भइसकेको मानिस कुनै पार्टीको हुँदैन,’ भण्डारीले भने ।

मुख्यमन्त्रीले यति तल्लोस्तरको पत्र दिनु वा पठाउनु भनेको मुलुकको लोकतान्त्रिक प्रणाली विरुद्ध रहेको उनको तर्क छ । ‘मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई पनि यसरी पत्र दिनै सक्दैन । हामीले सङ्कल्प प्रस्ताव पास गर्दा सरकार र प्रदेश प्रमुखलाई जानकारी दिने भन्नेमात्रै हो । संसद्ले पारित गरेको सङ्कल्प प्रस्तावको विरुद्धमा लेखेर मुख्यमन्त्रीले सिधै प्रदेश प्रमुखलाई दिनु भनेको संसदीय सर्वोच्चताको खिलाफ हो ।’

एमाले र माओवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने र नलिए स्वतः पदमुक्त हुने भन्दै नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् । उक्त दबाब र सोही आशयको प्रदेश सभाबाट पारित सङ्कल्प प्रस्तावको आधारमा नयाँ मुख्यमन्त्री चयनको आह्वान हुनसक्नेमा मुख्यमन्त्री कार्की सशङ्कित छन् ।

सो कदम चालिए राष्ट्रपतिलाई प्रयोग गर्ने मुख्यमन्त्रीको प्रयास स्वरूप पत्रमा बोधार्थ दिइएको मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ ।

  • प्रदेश प्रमुख परामर्शमा

उता, कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी परामर्श सुरु गरेका छन् । प्रदेश प्रमुख खापुङले अनौपचारिक रुपमा छलफल गरिरहेको उक्त कार्यालयका सचिव छविन्द्र पराजुलीले बताए ।

खापुङले प्रदेश सभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते पारित सङ्कल्प प्रस्तावअनुसार नयाँ सरकार गठनको आह्वान गर्न सक्ने कि नसक्ने भन्ने विषयमा कानुनी परामर्श सुरु गरेका हुन् । यस्तै सरकारमा सहभागी कुनै पनि पार्टी सरकारबाट फिर्ता आएमा वा विश्वासको मत फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिए के गर्ने भन्ने विषयमा पनि खापुङ परामर्शमा छन् ।

गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिँदै प्रदेश सभाको विशेष अधिवेशन माग गरेका थिए । संविधानको धारा १८२ को उपधारा २ अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही व्यवस्था कार्यान्वयनमा लैजानका लागि दुई दलले वैशाख ६ गतेको प्रदेश सभाको विशेष अधिवेशनमा सङ्कल्प प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको थियो ।

प्रदेश सभाले भने सङ्कल्प प्रस्तावको जानकारी प्रदेश प्रमुख पर्शुराम खापुङलाई र मुख्यमन्त्री कार्यालयलाई पनि दिइसकेको छ । प्रदेश सभाले पारित गरेको सङ्कल्प प्रस्तावअनुसार नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने एमाले, माओवादीको जिकिर र सङ्कल्प प्रस्ताव नै असंवैधानिक भएकोले नयाँ सरकार गठनको आह्वान गर्नु पनि असंवैधानिक हुने मुख्यमन्त्री कार्यालयको दाबीले प्रदेश प्रमुख खापुङ भने दोहोरो दबाबमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप