सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोशीका १४ जिल्लामा भेटेरिनरी अस्पताल निर्माण गरिने

शुक्रबार, २१ वैशाख २०८१, १९ : २३
शुक्रबार, २१ वैशाख २०८१

विराटनगर । कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधा जसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री रामकुमार खत्रीले जानकारी दिए । यसैबिच मन्त्रीपरिषद् बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । 

‘पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायीकीकरण गरी दूध, अण्डा, मासु, उन लगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पु¥याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,’ मन्त्री खत्रीले भने, ‘खोरेत, पिपिआर, स्वाइन फिवर, रानीखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना हामीले बनाएका हौँ ।’

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरी लगायतका पशु पक्षीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नस्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ । ‘नयाँ प्रविधि किसानको गोठमा पुर्याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पुर्याउन सहज होस् भनेर कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गरिने भएको हो’, मन्त्री खत्रीले भने ।

यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालविहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरू सफल भएको मन्त्री खत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप