आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सयको नोटमा नयाँ नक्सा : बाबुराम भन्छन्-‘विवाद चर्काउने कुरा’

सत्तारुढ दलहरू भन्छन्-‘भारतको प्रतिक्रिया कूटनीतिक मर्यादा विपरीत’
मङ्गलबार, २५ वैशाख २०८१, १० : १६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षीय निर्णय गरेको भन्दै एकपक्षीय निर्णय लिनुको कुनै तुक नरहेको टिप्पणीसमेत गरेको छ । 

यस बारेमा विज्ञहरूले पनि आआफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताउनुभएको छ । गत वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले जारी गर्न लागिएका एक सय रुपैयाँका नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो ।  

नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक विशेष कार्यक्रमका बिच कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेका थिए । नक्सालाई नेपालको सङ्घीय संसद्ले अनुमोदन समेत गरिसकेको छ । 

नेपालले सुगौली सन्धिअनुसार काली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको थियो । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा समावेश थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतबिचको सीमा विवाद समष्टिगत रूपमा गर्न आवश्यक रहेको बताए । उनले नयाँ नक्सा नेपाली नोटमा राख्नेबारेमा सरकारले लिएको निर्णयलाई अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा भएको जिकिर गरे । उनले इपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवादका समस्या हल गरेर जान सकिने बताए । उनले सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढङ्गले नै हल गर्नुपर्ने बताए । उनले सीमा समस्या की त युद्ध लडेर हुने की त कूटनीतिक तरिकाबाट हल हुने भन्दै कूटनीतिक तरिकाबाट हल समस्या समाधान नहुने पनि बताए ।

उनले भने, ‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ । समष्टिगत ढङ्गले गर्नुपर्छ । अंश अंश गरेर यो हल हुँदैन । अलि अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ । यसको हल भनेको इपीजी वा नयाँ किसिमको इपिजी वा त्यस्तै अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढङ्गले नै हल गर्नुपर्छ । अंश अंश मात्रै हल गरेर हुँदैन ।’

सयको नोटमा चुच्चे नक्सा राख्दा भारतले आपत्ति जनाउन आवश्यक छैन

यता, सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल सरकारले एक सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा राख्ने निर्णय गरेकोमा भारतले आपत्ति जनाउनु आवश्यक नभएको बताए ।  प्रमुख सचेतक बर्तौलाले नेपाली भूमि भएको नक्सा नेपाली नोटमा राख्ने कुरामा भारत सरकारले आपत्ति जनाउन आवश्यक नभएको टिप्पणी गरे । 

उनले नेपालको संविधान बमोजिमको भूमिलाई कहाँ र कसरी प्रयोग गर्ने भन्ने कुरा नेपालको निजी मामिला भएको भन्दै छिमेकीले आपत्ति जनाउन नमिल्ने बताए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा भारतले प्रश्न गर्नु नै जायज नभएको बताए । नेपाल सरकारले संविधान बमोजिम गरेको कुरामा आदेश वा निर्देशन दिने अधिकार कसैलाई नभएको बताए । प्रमुख सचेतक बर्तौलाले दुई देशबिच भएको सीमा समस्या समाधान गर्न सौहार्दपूर्ण ढङ्गले छलफल गर्ने पनि बताए । उनले दुई देश बिचको सुमधुर र प्रगाढ सम्बन्धलाई यस प्रकरणले कुनै असर नपार्ने बताए । 

उनले भने – ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालको हो । नेपालको राजनीतिक नक्सामा समावेश गरिसकेका छौँ । नेपालको संसदले एकमन एकताका साथ पारित ग¥यो । नेपालको संविधानको अङ्ग बनिसकेको छ । नेपालको संविधानको अङ्ग बनिसकेको हाम्रो भू–भाग, नेपाल सरकारले नोट प्रकाशन गर्दै गर्दा त्यसमा समावेश गर्छु भन्नेकुरालाई भारत सरकारले यसमा कुनै अब्जेक्शन गर्नुपर्ने कुरा रहेन । यो नेपालको आन्तरिक मामिला हो ।’

सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा भारतको प्रतिक्रिया कूटनीतिक मर्यादा विपरीत

यता नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले नेपालको सयको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णयमा भारतले प्रतिक्रिया दिनु कूटनीतिक मर्यादा विपरीत भएको बताउँछन् । सांसद कुँवरले नेपालको नोटमा के राख्ने र के नराख्ने भन्ने कुरा नेपाल स्वयंको विषय भएको बताए । उनले नेपालको सयको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णयमा भारतका विदेश मन्त्रीले असन्तुष्टि जनाउनु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै आपत्ति जनाए । उनले सार्वभौमसत्ता सम्पन्न देशले गरेका निर्णयप्रति छिमेकी देशले असन्तुष्टि जनाउन आवश्यक नभएको बताए ।

उनले भने – ‘नेपाल सरकारले सयको नोटमा चुच्चे नक्सा राख्नेगरी निर्णय ग¥यो । उहाँहरूले पो चुच्चे नक्सा भन्नुभयो होला । हाम्रो त आफ्नो देशको नक्सा हो नि । हाम्रो नोटमा के राख्ने ? के नराख्ने भन्ने नेपाल एउटा सार्वभौमसत्ता, स्वतन्त्र राष्ट्र भएको हुनाले उसको आफ्नो विषय हो । भारतका विदेश मन्त्रीले जुन खालको प्रतिक्रिया दिनुभयो र असन्तुष्टि व्यक्त गर्नुभयो । यो सरासर हाम्रोजस्तो देशमाथि गरिने हस्तक्षेप हो जस्तो मलाई लागेको छ ।’

सांसद कुँवरले नेपालको नोट छाप्नका लागि अरू कसैसँग सल्लाह गर्नु नपर्ने पनि बताए । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप