बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सत्ता स्वार्थको कोपभाजनमा पार्टी जुनसुकै बेला पर्नसक्ने त्रासमा देखिन्छन् माधव नेपाल

गठबन्धनप्रति अविश्वास, जसपालाई देखाएर तर्साउन खोजेको आरोप
बिहीबार, ०३ जेठ २०८१, ११ : ०७
बिहीबार, ०३ जेठ २०८१

काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि सबैभन्दा बढी त्रास नेकपा एकीकृत समाजवादीमा देखिएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि मंगलबार बालकुमारीमा आयोजना गरेको उद्घाटन समारोहमा अध्यक्ष माधव नेपालको अभिव्यक्तिले पार्टीभित्र हुर्किंदै गएको त्रासलाई राम्रोसँग बुझ्न सकिन्छ ।

‘अहिले राजनीतिक घटनाक्रम दिनदिनै परिवर्तन भइरहेको छ । समीकरण दिनदिनै परिवर्तन भइरहेको छ । कतिपय शक्तिहरू अत्यन्तै षड्यन्त्रपूर्वक ढङ्गले लागेका छन् । जसरी पनि आफ्नो शक्ति कायम राख्ने गरी साम, दाम, दण्ड, भेद प्रयोग गरिरहेका छन्,’ सम्बोधनका क्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर कार्यकर्तालाई प्रलोभन दिएर आफ्नो पक्षमा तान्नका लागि न्वारनदेखिको बल लगाइरहेका छन् ।’

सत्ता गठबन्धनमा बसेर सरकार ढाल्न जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेससँग सम्बन्ध बढाएको चर्चा चलिरहेकै बेला वैशाख २४ गते जसपा विभाजन भएको थियो । जसपा विभाजनको भोलिपल्ट केन्द्रीय कार्यालय तीनकुनेमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पछिल्लो राजनीतिक अवस्था विश्लेषण गर्दै तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको थियो ।

गठबन्धनको महत्त्वपूर्ण घटक भए पनि सङ्घदेखि प्रदेशसम्म सत्ता बाँडफाँट तथा राजनीतिक निर्णयमा आफूलाई बेवास्ता गर्दै आएकोमा अध्यक्ष नेपालले सार्वजनिक रूपमै दुखेसो पोखेका थिए ।

‘राष्ट्रिय राजनीतिमा आजैभोलि के हुन्छ भन्ने कुरा दिनदिनैका कुराले प्रभावित पारिरहेको छ । सुदूरपश्चिममा के होला ? मधेस प्रदेशमा के होला ? बागमती प्रदेशमा के होला ? सङ्घीय संसदमा के होला ? यी सन्दर्भमा केही जटिलता आउन सक्ने देखिन्छ’, प्रचण्ड र ओलीले बेवास्ता गरेकोमा पीडा पोख्दै उनले भने, ‘यी सबै कुरामा हाम्रो पार्टीलाई सहभागी गराइएको छैन । बेवास्ता गर्ने गरिएको छ । संसद अवरोध हटाउने विषय, सरकारको नीति तथा कार्यक्रम बनाउँदा सहभागी गराइएन । सूचनासमेत दिइएन । यी सबै पीडा र बेदना आफ्ना ठाउँमा छन् । यसले हामीलाई कहाँ पुर्‍याउने हो ?’

जसपा विभाजनसँगै एकीकृत समाजवादीबाट ६ जना सांसदलाई उक्साएर पार्टी विभाजन गराउन खोजेको भन्ने हल्लाले आफू निकै आत्तिएको उनले बताएका थिए ।

‘अर्को पार्टी खडा भइसकेको हल्ला चल्यो । ६ जना लैजादै छ भन्ने हल्ला पनि चलाइए । हामी पनि आत्तियौँ । पार्टीभित्र भ्रष्टिकरण र पद लोलुपताको प्रवृत्ति बढो खतरनाक भएर गएको छ’, पार्टी विभाजनको सम्भावित खतराबाट तर्सिदै नेपालले भनेका थिए ।

यतिसम्म कि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकाल्नेसम्मको योजना रहेको उनले नेताहरूलाई सुनाएका थिए । ओलीको प्रतिगमनविरुद्ध लडेको जसपा नेपाललाई प्रचण्ड र ओलीको योजनामा विभाजन गरिएको उनको सङ्केत थियो ।

किन झस्किए माधव ?

गत फागुन २१ गते अप्रत्यासित रूपमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण फेरबदल गरे । तर सत्ता घटक दलहरूलाई सुइँकोसम्म दिएनन् । सोही दिन एमाले, रास्वपा र जसपा नेपालको समर्थनमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यद्यपि चारदलीय गठबन्धनले कर्णालीबाहेक अन्य प्रदेश नजोगिने भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका थिए । राजकीय शक्ति बाँडफाँट र हरेक राजनीतिक निर्णयमा एकीकृत समाजवादीलाई सहभागी गराउने सहमति पश्चात गठबन्धनमा आउन नेपाल राजी भएका थिए ।

तर सहमति अनुसार प्रचण्ड र ओलीले व्यवहार नदेखाएपछि उनले असन्तुष्टि पोख्दै आएका छन् । जसपा विभाजनपछि सत्ता र शक्ति स्वार्थको कोपभाजनमा जुनसुकै बेला आफ्नो पार्टी पर्न सक्ने त्रास नेपालमा बढ्दै गएको देखिन्छ । अहिले सत्ता गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा एकीकृत समाजवादीभित्र अन्तरविरोध छ ।

नेपाल समूह गठबन्धनबाट बाहिरिने पक्षमा छ । अर्का नेता झलनाथ खनाल समूह यही गठबन्धनको निरन्तरताको पक्षमा उभिएको छ ।

सत्ता जोगाउन प्रचण्ड र ओलीले जुनसुकै बेला आफूलाई उपेन्द्रको नियतिमा पुर्‍याउने डर नेपालमा देखिन्छ । गठबन्धनका निर्णायक शक्ति आफूलाई ठानेका उनले हरेक निर्णयमा सहभागी गराउने अपेक्षा राखेका थिए । पछिल्लो समय सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण, राजनीतिक निर्णयमा समेत बोलाउन छोडेपछि नेपालमा बेचैनी बढेको उनको अभिव्यक्तिमा प्रस्ट झल्किन्छ ।

नेकपाकालदेखि नै हरेक स्टेपमा साथ दिएका प्रचण्डले सत्ता जोगाउन ओलीसामु निरीह भएर आफ्नो साथ छोड्ने हो कि भन्ने आशंका पनि अध्यक्ष नेपालमा बढेको देखिन्छ । जसपापछि एकीकृत समाजवादी विभाजन हुने हल्ला प्रधानमन्त्री निकटबाटै बाहिरिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको थियो । विभाजनमा पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनालको नाम मुछिएपछि प्रेस विज्ञप्ति नै जारी गर्नुपरेको थियो ।

साढे दुई वर्षअघि ओलीलाई प्रतिगामी करार गरी एमालेबाट बाहिरिएका नेपालको ओलीसँग तिक्ततापूर्ण सम्बन्ध रहेकाले त्यसको बदला लिन सक्नेतर्फ उनी चिन्तित देखिन्छन् । प्रचण्डको नेतृत्वमा अहिले सरकार भए पनि हरेक निर्णयमा ओली हावी भएको गठबन्धन नेताहरूले बताउन थालेका छन् । विगतमा ओलीको हस्तक्षेपकारी व्यवहारका कारण तीन महिना नपुग्दै समीकरण बदल्नु परेको त्यतिबेलै प्रचण्डले बताइसकेका छन् ।

यो गठबन्धन पनि लामो समय जान नसक्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा महाधिवेशनको तयारी र गठबन्धनको विषयमा गम्भीर समीक्षा भएको उनले जानकारी दिए । उनले जसपालाई देखाएर आफूहरूलाई तर्साउने काम गरेको आरोप लगाए ।

‘जसपा विभाजन गरेर हामीलाई तर्साउने काम भएको छ । कसैले पार्टी विभाजन होला भन्ने सोचेका भए त्यो जिल्लिने काममात्र हो । पार्टी फुट्ने कुनै सम्भावना छैन’, पाण्डेले भने । महाधिवेशनसम्म सरकारलाई आफ्नो समर्थन कायमै रहे पनि त्यसपछिको काम हेरेर निर्णय गर्ने उनको भनाइ छ । तथापि यथास्थितिमा वर्तमान सरकार धेरै समय नटिक्ने पाण्डेको अनुमान छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप